उपकूलपतिका लागि आवेदन आह्‍वान

सुर्खेत: मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन आह्वान गरिएको छ । विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले शुक्रवार सार्वजनिक सूचना प्रकाशित गरेर आवेदन आह्वान गरेको हो ।

सूचना प्रकाशित भएको मितिले १० दिनभित्र आवेदन दिइ आह्वान गरिएको छ । विश्वविद्यालय अनुदान आयोग, आयोगका अध्यक्षको सचिवालय सानोठिमी भक्तपुरमा आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ । आउँदो फागुनमा विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहको कार्यकाल सकिँदै छ । सिंहको कार्यकाल सकिन लागेपछि नयाँ उपकुलपति नियुक्तिको प्रक्रिया अघि बढाइएको हो । उनी २०७६ फागुनमा विश्वविद्यालयको उपकूलपतिमा नियुक्त भएका थिए ।

मध्यपश्चिम विश्वविद्यालयको उपकूलपति छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि–२०८० अनुसार उपकूलपतिको लागि आवेदन दिन मान्यताप्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त गरेको हुनुपर्नेछ । त्यसैगरी कुनै पनि स्थापित विश्वविद्यालयको प्राध्यापक भइसकेको, कुनै राजनीतिक दलको सदस्य नरहेको, प्रचलित कानुनबमोजिम सार्वजनिक पदमा नियुक्तिका लागि अयोग्य नरहेको हुनुपर्ने कार्यविधिमा उल्लेख छ ।

प्रकाशित मितिः   २७ माघ २०८०, शनिबार ०५:०१