चक्रपथको अवरोध खुलाउन पहल

२८ प्रतिशत काम बाँकी, तेस्रो पटक म्याद थप

 

सुर्खेत:  विभिन्न अवरोधका कारण लामो समयदेखि अलपत्र परेको वीरेन्द्रनगर उपत्यका चक्रपथ निर्माणका लागि पहल थालिएको छ । अवरोध हटाएर आयोजना निर्माण अघि बढाउन छलफल चलाइएको हो ।

बिहीवार कर्णाली प्रदेशसभा सदस्य यामलाल कंडेल, जिल्ला समन्वय समितिका प्रमुख गंगाराम सुनार र वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहनमाया ढकालसहितले चक्रपथ निर्माणमा अवरोध बनेको सशस्त्र प्रहरीबलको तारजाली हटाउन छलफल गरेको छ । वीरेन्द्रनगर–२ मा जग्गा विवादका कारण रोकिएको काम अघि बढाउन छलफल गरिएको नगरप्रमुख ढकालले बताइन् । उनका अनुसार चक्रपथ निर्माणमा अवरोध भएको सशस्त्र प्रहरी बलको पर्खालको तारजाली हटाउने, स्थानीयसँग काम अघि बढाउने विषयमा छलफल भएको छ । निर्माणका क्रममा देखिएका विवाद सुल्झाउने प्रयास भइरहेको ढकालले बताइन् । ‘वन क्षेत्रका कारण बढी विवाद आएको छ,’ उनले भनिन्, ‘अवरोध हटाएर अघि बढ्न सर्वपक्षीय छलफल अघि बढाएका छौँ ।’ वडा तहबाट विवाद समाधान गर्न भनिएको उनले बताइन् ।

दुई दशक अघिदेखि निर्माण थालिएको वीरेन्द्रनगर चक्रपथ निर्माणको काम अहिलेसम्म अधुरै छ । तत्कालीन जिल्ला विकास समितिले आर्थिक वर्ष २०६२÷६३ मा चक्रपथ निर्माण कार्य थालेको थियो । वीरेन्द्रनगरको सुब्बाकुनादेखि घुस्रा हुँदै दक्षिण भेगबाट बाङ्गेसिमल जोडेर चक्रपथ निर्माण गर्न लागिएको हो । निर्माण थालिएको १८ वर्ष पुग्यो । हालसम्म २४ किलोमिटर मात्रै ट्रयाक खोलिएको छ । वनखण्ड र बस्तीखण्डमा काम गर्न बाँकी छ ।

स्थानीयको अवरोध, अदालतको आदेश, संरक्षित वन क्षेत्रलगायतका कारणले चक्रपथ निर्माण योजनाले पूर्णता पाउन सकेको छैन । निर्माण सुरु भएदेखि नै स्थानीयले आफ्नो व्यक्तिगत जग्गा सडकमा परेको भन्दै अवरोध गर्दै आएपछि चक्रपथको काम तीव्र गतिमा हुन सकेको थिएन । अहिलेपनि स्थानीयको अवरोध कायमै छ । संरक्षित वन क्षेत्र र स्थानीयको विवादका कारणले चक्रपथ निर्माणको काम समयमा नै सम्पन्न हुन नसकेको बताइएको छ ।

यसैबीच चक्रपथ निर्माणका लागि तेस्रो पटक म्याद थप गरिएको छ । २०८१ असार १५ सम्ममा निर्माणको काम सक्नेगरी म्याद थपिएको हो । डिभिजन सडक कार्यालय चौरजहारी रूकुम–पश्चिमले आर्थिक वर्ष २०७३/०७४ मा चक्रपथ निर्माणको जिम्मा पाएको थियो । त्यतिबेला २०७६ चैतमा सम्पन्न गर्ने सम्झौता भएको थियो । त्यसयता चक्रपथको काम नसकिएपछि तीन पटक म्याद थप भइसकेको छ ।

तेस्रो पटक म्याद थप गरिएपनि थप प्रगति हुन नसकेको डिभिजन सडक चौरजहारी रूकुम–पश्चिमले जनाएको छ । निर्माण सुरु भएदेखि नै स्थानीयले आफ्नो व्यक्तिगत जग्गा सडकमा परेको भन्दै अवरोध गर्दै आएपछि चक्रपथको काम तीव्र गतिमा हुन सकेको थिएन । अहिलेपनि स्थानीयको अवरोध कायमै रहेको डिभिजन सडक चौरजहारी रूकुम–पश्चिमका प्रमुख रूपक रावलले बताए । संरक्षित वन क्षेत्र र स्थानीयको विवादका कारणले चक्रपथ निर्माणको काम हुन नसकेको उनको भनाइ छ । उनले भने, ‘म्याद थप भएको ६ महिना बित्यो । कुनै काम हुन सकेको छैन ।’

अवरोध नै अवरोधका कारण हालसम्म ७२ प्रतिशत मात्रै काम भएको कार्यालय प्रमुख रावलले बताए । उनका अनुसार अझै २८ प्रतिशत काम गर्न बाँकी नै छ । पाँच किलोमिटर ट्रयाक खोल्न बाँकी रहेको उनले बताए । अवरोध नै अवरोध हुँदा अपेक्षित काम गर्न नसकिएको उनले जानकारी दिए ।

वीरेन्द्रनगरको वडा नं. १, २ र १० मा व्यक्तिगत जग्गाको विवाद छ । त्यस्तै, बाङ्गेसिमलदेखि जिरो ड्यामसम्मको उत्तरी क्षेत्रमा वन पर्ने भएकाले त्यहाँ पनि सडक निर्माणका लागि जग्गा उपलब्ध हुन सकेको छैन । सडक निर्माण गर्दा स्थानीयले अतिक्रमण हुने घर र जग्गा क्षतिपूर्तिको माग गर्दै आएका छन् । जग्गा र घरको उचित क्षतिपूर्ति नपाएसम्म स्थानीयले सडक निर्माण हुन नदिने अडान राख्दै आएका हुन् । स्थानीयको विवादकै कारण वडा नं. २ र वडा नं. १० क्षेत्रमा ट्रयाकसमेत खोलिएको छैन । संघीय सरकारको बजेटबाट निर्माण थालिएको चक्रपथको काम अहिले प्रदेश सरकार मातहत ल्याइएको छ । बजेट र ठेक्का व्यवस्थापन संघीय सरकारले गर्छ भने निर्माणको काम प्रदेश सरकारमार्फत् भइरहेको छ ।

प्रकाशित मितिः   १३ पुष २०८०, शुक्रबार १०:२०