कर्णाली राजमार्ग

कालीकोट–जुम्ला खण्ड स्तरोन्नति हुँदै

कर्णालीका पहुँचमार्ग–५


 

सुर्खेत: कर्णाली राजमार्ग अन्तर्गत कालीकोटदेखि जुम्ला खण्ड स्तरोन्नतिको कामले तीव्रता पाएको छ । दैलेख र कालीकोटको सिमाना दहीखोलादेखि नाग्म हुँदै जुम्ला बजारसम्म सडक स्तरोन्नतिको काम अघि बढाइएको हो ।

सडक डिभिजन कार्यालय जुम्लाले मर्मतको काम गरिरहेको छ । राजमार्गमा सडकको नियमित कामसँगै सडक मर्मतको काम थालिएको कार्यालयका इन्जिनियर चित्र चौलागाइले बताए । आर्थिक वर्ष २०७९/०८० मा बजेट सुनिश्चित गरी काम अघि बढाइएको हो । २०८० असारमा आठ वटा खण्डमा ठेक्का सम्झौता गरिएको छ । ६ महिनामा काम सक्नेगरी ठेक्का सम्झौता गरिएको हो । सम्झौता अनुसार २०८० पुषमा काम सम्पन्न गर्नुपर्नेछ ।

दहीखोलादेखि नाग्म हुँदै जुम्ला बजारसम्म एक सय चार किलोमिटर छ । इन्जिनियर चौलागाइकाअनुसार सडक मर्मतको काम अन्तिम चरणमा पुगेको छ । मर्मतका लागि ८० करोड बजेट विनियोजन भएको छ । साँघुरा सडक फराकिलो बनाउने, पहिरो गएको स्थानमा पर्खाल निर्माण गर्ने, नाला निर्माण गर्ने लगायतका काम भइरहेका छन् । बर्सेनि पहिरो जाँदा सडक अवरुद्ध हुने गरेपछि मर्मत गर्न लागिएको हो । आवश्यकताका आधारमा ग्याविन वाल निर्माण पनि गरिएको कार्यालयले जनाएको छ ।

मोड सुधारको काम अन्तिम चरणमा

राजमार्गमा रहेका साँघुरा घुम्ती (मोड) फराकिलो बनाउने काम अन्तिम चरणमा पुगेको छ । सडक साँघुरो हुँदा ठूला गाडी आवतजावत गर्न समस्या हुनेभएकाले सडक फराकिलो पार्न लागिएको जनाइएको छ । आवश्यकताका आधारमा ठाउँ–ठाउँमा मोड सुधारका काम भइरहेका छन् । कर्णाली राजमार्गका धेरै घुम्ती साँघुरो भएकोले सवारी साधन चलाउन समस्या हुने गरेको छ । सडक डिभिजन कार्यालय जुम्लाले एक सय चार किलोमिटर कर्णाली राजमार्गमा रहेका साँघुरा मोड सुधार गर्न लागेको हो ।

कर्णाली राजमार्गले सुर्खेत, दैलेख, कालीकोट, जुम्ला र मुगुलाई प्रत्यक्ष रूपमा जोडेको छ । सुर्खेतको वीरेन्द्रनगरदेखि दैलेख हुँदै कालीकोटको दही खोलासम्म सडक डिभिजन कार्यालय सुर्खेतले हेर्दै आएको छ भने राजमार्गअन्तर्गत दहीखोलादेखि जुम्ला खलङ्गासम्म सडक डिभिजन कार्यालय जुम्लाले हेर्दै आएको छ । अहिले सडक डिभिजनमार्फत टुक्रे मर्मत–सम्भारका कामहरू भइरहेका छन् ।

 

नाग्म–गमगडी खण्डमा ६ किलोमिटर कालोपत्रे

नाग्म–गमगडी सडकको साढे ६ किलोमिटर सडक कालोपत्रे भइरहेको छ । चालु आर्थिक वर्षभित्रै सम्पन्न हुने गरी नाग्म–गमगडी सडकको साढे ६ किलोमिटर सडक कालोपत्रेको काम भइरहेको हो । ९३ किलोमिटर दुरी रहेको नाग्म–गमगडी सडकको पहिलो चरणमा कनकासुन्दरीको रोकायाबाडादेखि हाँटसिंजासम्म साढे ६ किलोमिटर सडक कालोपत्रे गर्न लागिएको सडक डिभिजन कार्यालय जुम्लाका इन्जिनियर चित्र चौलागाइले बताए । यो वर्षभित्र नै कालोपत्रेको काम गरिसक्ने लक्ष्य राखिएको छ ।

उनका अनुसार हाँटसिंजादेखि गुठिज्युलासम्म पर्खाल निमार्ण गरी सव–वेस र वेस निर्माणको काम भइरहेको छ । इन्जिनियर चौलागाइले भने, ‘पहिलो चरणमा साढे ६ किलोमिटर सडक कालोपत्रे हुने छ ।’ आर्थिक वर्ष २०७९÷०८० मा ठेक्का सम्झौता भइ काम अघि बढेको हो । थोदुङ बाचन जेभी कम्पनी काठमाडौंले करिब ४० करोडमा कालोपत्रेको ठेक्का सम्झौता गरेको छ । सम्झौता अनुसार दुई वर्षभित्र काम गरिसक्नुपर्नेछ । सम्झौता मितिभन्दा अगावै निर्माण कार्य सक्नेगरी धमाधम काम भइरहेको छ ।

निर्माण कम्पनीले चालु आर्थिक वर्षकै असार मसान्तभित्र कालोपत्रे सक्ने प्रतिबद्धता जनाएको इन्जिनियर चौलागाइले बताए । नाली निर्माण, पक्की पर्खाल निर्माण, सडक फराकिलो बनाउने काम सकेर वेस निर्माणको काम थालिएको छ । नाग्म–गमगडी सडकको साढे ६ किलोमिटर सडक कालोपत्रेका लागि ४० करोड खर्च हुनेछ ।

कालोपत्रेसँगै अन्य नाला निर्माण कङ्क्रिट ढलान, पर्खाल निर्माण लगायतका कामहरू भएका छन् । कङ्क्रिट ढलानको करिब चार मिटर काम सकिएको छ । पहिलो चरणमा ४० करोड लागतमा साढे ६ किलोमिटर सडक कालोपत्रे भए पनि समग्र ९३ किलोमिटर नै सडक कालोपत्रेका लागि आवश्यक बजेट व्यवस्थापन हुन नसकेको सडक डिभिजन जुम्लाका प्रमुख दिपेन्द्रबहादुर विष्टले बताए । चालु आर्थिक वर्षमा सरकारले ३५ करोड बजेट मात्र विनियोजन गरेको छ । पर्याप्त बजेट नहुँदा नयाँ निर्माणका काम गर्न नसकिएको उनको भनाइ छ । विष्टले भने, ‘सरकारले विनियोजन गरेको बजेटले गत आर्थिक वर्षको दायित्व भुक्तानी गर्न समेत अपुग हुन्छ । यो वर्ष नयाँ थप कार्यक्रम सुरु गरिएको छैन ।’

प्रकाशित मितिः   १० मंसिर २०८०, आईतवार ०५:०५