त्रिदेशीय नाका जोड्ने सडक
सुर्खेत: त्रिदेशीय नाका जोड्ने भेरी करिडोर निर्माणको काम भइरहेको छ । सडकलाई तीन खण्डमा बाँडेर धमाधम काम अघि बढाइएको हो । कर्णाली प्रदेशलाई चीन र भारतीय नाकासँग जोड्ने सडक सञ्जालको रूपमा यो करिडोर अघि बढाइएको हो । सडकले भारतको रूपैडियादेखि तिब्बतको मरिम्लासम्म जोड्नेछ ।
करिडोर अन्तर्गत अहिले जाजरकोटको पासागाडदेखि रिम्नासम्मको कालोपत्रेको काम अन्तिम चरणमा पुगेको छ । उक्त खण्डमा ९५ प्रतिशत काम सम्पन्न भएको आयोजनाले जनाएको छ । १५ किलोमिटर सडक कालोपत्रे गरिसकिएको छ भने एक किलोमिटर सडक मात्र कालोपत्रे हुन बाँकी रहेको छ । घर–टहरा हटाउनुपर्ने भएपछि विवाद हुँदा काम अघि बढ्न नसकेको भेरी करिडोर सडक योजनाका इन्जिनियर महेन्द्र माझीले बताए ।
आर्थिक वर्ष २०७६/०७७ बाट ठेक्का सम्झौता भइ काम सुरु भएको थियो । दिवा–यति विल्र्डस जेभीसँग करिब २७ करोडमा ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार २०८० असार मसान्तसम्म काम सम्पन्न गरिसक्नुपर्ने भएपनि मुआब्जा विवादले काम रोकिएको माझीले जानकारी दिए । एक किलोमिटर सडक कालोपत्रेगर्न पुनः म्याद थपका लागि प्रक्रिया अघि बढाइएको उनको भनाइ छ । भेरी करिडोर अन्तर्गतको यो पहिलो खण्ड हो । उक्त खण्डमा हालसम्म २५ करोड बजेट खर्च भइसकेको छ ।
करिडोरको दोस्रो खण्ड रिम्नादेखि तल्लुबगरसम्मको ४० किलोमिटर सडकमा समेत काम धमाधम भइरहेको छ । सडक फराकिलो बनाउने, पर्खाल, नाला, सव–वेस र वेस निर्माणको काम भइरहेको इन्जिनियर माझीले जानकारी दिए । यही सडकको बीचमा रहेका दुई वटा मोटरेवल पुल निर्माणकोे कामसमेत भइरहेको छ । यो खण्डमा आर्थिक वर्ष २०७७/०७८ मा ठेक्का सम्झौता भइ काम सुरु भएको थियो । भ्याटसहित एक अर्ब आठ करोड रकममा ठेक्का सम्झौता भएको जनाइएको छ । हालसम्म करिब ३४ करोड रकम खर्च भइसकेको छ । रिम्नादेखि तल्लुबगरसम्मको ४० किलोमिटर सडक कालोपत्रे हुनेछ । ठेक्का सम्झौताअनुसार २०८२ भदौ १४ गतेसम्ममा कालोपत्रे गरिसक्नुपर्ने छ । यो वर्षदेखि उक्त खण्डमा कालोपत्रेको काम सुरु गरिने आयोजनाले जनाएको छ ।
यस्तै आयोजनाको तेस्रो खण्डको रूपमा रहेको डोल्पा जिल्लाको सदरमुकाम दुनै–ल्यासीक्याप सडकखण्डको निर्माण कार्य पनि भइरहेको छ । यस सडकखण्ड निर्माणका लागि २०७८ चैत्रमा सुर्या श्रेया शान्तिदेवी जेभी निर्माण कम्पनीसँग सम्झौता भएको थियो । १३ करोड ४१ लाखमा ठेक्का सम्झौता गरिएकोमा अहिलेसम्म ९९ लाख बजेट मात्र खर्च भएको छ । २० किलोमिटर सडक चौडा गर्ने कार्यका लागि ठेक्का सम्झौता भएको हो । २०८२ चैत्रसम्ममा काम सम्पन्न गरिसक्नुपर्नेछ ।
भेरी करिडोर अन्तर्गत जाजरकोटदेखि डोल्पा सदरमुकामसम्मको कूल लम्बाइ दुई सय १७ किलोमिटर छ भने करिब एक सय किलोमिटरमा निर्माण कार्य भइरहेको छ । आर्थिक वर्ष २०७९/८० मा डोल्पामा आयोजनाको कार्यालय स्थापना गरिएको थियो । सडक डिभिजन चौरजहारीसँग रहेको यो सडकलाई गत वर्षदेखि भेरी करिडोर आयोजना बनाएर डोल्पाको सदरमुकाम दुनैमा कार्यालय स्थापना गरिएको हो ।
दश वटा पुल निर्माण हुने
भेरी करिडोर सडक योजना अन्तर्गत दश वटा पक्की पुलको ठेक्का सम्झौता भइ निर्माण कार्य अगाडि बढेको छ । यस सडकखण्डको जिरो विन्दु पासागाडबाट नलगाड नगरपालिकाको तल्लुसम्म सात वटा मोटर गुड्ने पुलका लागि निर्माण कार्य अघि बढेको हो ।
पिप्लेखोला, छर्रेखोला, नलगाड नदी, झुर्मेखोला, मैदेखोला (खुमाउरी), त्राँत्रगाड खोला र ताँसुखोला (चौखा)मा पुल निर्माण भइरहेका छन् । पुल निर्माणका लागि सडक विभाग पुल महाशाखाले ठेक्का लगाएको छ । भेरी नदी तल्लुबगर, भेरी नदी खडाङ र छलगाडमा पुल निर्माण भइरहेका हुन् ।
३० प्रतिशत भौतिक प्रगति
करिडोरको समग्र भौतिक प्रगति २५ प्रतिशत भएको छ । हालसम्म वित्तीय प्रगति २० प्रतिशत भएको छ भने तीन खण्डमा छुट्टाछुट्टै रूपमा काम भइरहेका छन् । दुई खण्डमा कालोपत्रे र एक खण्डमा सडक चौडा गर्ने कार्य भइरहेको छ ।
भेरी करिडोरको सडकले तिब्बतको मरिम्ला र भारतको रूपैडियाबीच सिधा सम्पर्क जोडिने छ । जाजरकोट, रूकुम र डोल्पाको भूगोललाई राष्ट्रिय राजमार्गको अवधारणाअनुरूप निर्माण कार्य अघि बढेको छ । सडक निर्माणले डोल्पामा उत्पादन हुने बहुमूल्य जडिबुटीले बजार र उचित मूल्य पाउने लक्ष्य राखिएको छ । रूकुमको चौरजहारी र जाजरकोट सदरमुकामलाई २०६५ मा सडक सञ्जालसँग जोडेसँगै जाजरकोट–डोल्पा सडक निर्माणको काम सुरू भएको थियो । सडक निर्माण थालिएको डेढ दशक पुगेको छ ।
प्रकाशित मितिः ६ मंसिर २०८०, बुधबार १२:४७
साझा बिसौनी ।