‘मेची–महाकाली अभियान सफल’

सुर्खेत: नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीको मेची–महाकाली जागरण अभियान सफल भएको बताएका छन् । आइतवार सुर्खेतको वीरेन्द्रनगरमा भएको जागरण अभियान समापन कार्यक्रममा बोल्दै नेपालले अभियानले जनतालाई जागृत बनाएको दाबी गरे ।

जागरण अभियानले देशव्यापी रूपमा जनतामा उत्साह थपिएको बताउँदै पार्टीको जागरण अभियानको मुख्य उद्देश्य जनताका मुद्दा सम्बोधनमा सघाउनु भएको बताएका हुन् । नेता नेपालले जनताको जीवनस्तर सुधार गर्ने संकल्पका साथ थालिएको अभियान सफल भएको उल्लेख गर्दै बेरोजगारी समस्या समाधान गर्न कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिएका छन् । उनले कर्णाली सम्भावना नै सम्भावना भएको प्रदेशको रूपमा चिनिएको बताए । पार्टीले यहाँका समस्या पहिचान गरेर अवसरहरूको खोजीका लागि बुलन्द रूपमा आवाज उठाउने जानकारी गराएका छन् ।

अर्को प्रसंगमा नेता नेपालले वर्तमान गठबन्दनको सरकार कुनै पनि हालतमा नढल्ने बताएका छन् । अहिलेको सरकार कसैले ढाल्न नसक्ने उनको दाबी छ । उनले भने, ‘कोशी प्रदेश सरकारको विषयलाई लिएर भ्रममा पर्नु हुदैँन । सरकार कसैले ढाल्ने सक्दैन ।’

पार्टीका महासचिव घनश्याम भुसालले जनताको अधिकारलाई संविधानमा सुनिश्चित गरिए पनि मुख्य समस्याका रूपमा गरिबी रहेको उल्लेख गर्दै गरिबी र बेरोजगारी उन्मूलन गर्नु पार्टीको मुख्य कार्यभार भएको बताएका छन् । सबल एवम् सशक्त समाजवादी पार्टी निर्माणका लागि मेची–महाकाली अभियान सफल भएको उनको दाबी छ ।

असोज १४ गते झापाबाट सुरु भएको मेची–महाकाली जागरण अभियान आइतवार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा समापन गरिएको छ ।

प्रकाशित मितिः   २९ आश्विन २०८०, सोमबार ०५:०१