विद्युत विस्तारमा अर्को अवरोध

सुर्खेत: कोहलपुर–सुर्खेत १३२ केभीए विद्युत प्रसारण लाइन विस्तारमा अर्को अवरोध सिर्जना भएको छ । लाइन विस्तार क्षेत्रमा पर्ने वीरेन्द्रनगर नगरपालिका वडा नं. ११ सुब्बाकुनाका स्थानीयहरूले विरोध जनाएपछि आयोजना अघि बढाउन अवरोध भएको हो ।

आयोजनाबारे थाहा नै नदिएर आफ्नो जग्गाबाट लाइन विस्तार गर्न लागिएको भन्दै उनीहरूले विरोध जनाएका छन् । आयोजनाबाट उक्त वडाका १८ घरपरिवारको जग्गा प्रभावित हुने जनाइएको छ । स्थानीय विनोदप्रसाद ज्ञवालीले विद्युत विस्तार गर्दा आफ्नो जग्गा प्रभावित हुने भन्दै आक्रोश व्यक्त गरे । त्यसमाथि अनुमतिविना नै काम अघि बढाइएको उनको आरोप छ ‘व्यक्तिको जग्गा जोगाएर लाइन विस्तार गर्न सकिने धेरै सम्भावना छन्’ उनले भने, ‘अहिले लाइन विस्तार गर्न हामीले रोकेका छौँ, अन्य स्थानबाट विस्तार गर्न सुझाव दिएका छौँ ।’

आयोजनाको स्थान र बाटो परिवर्तनका वैकल्पिक स्रोतका लागि विकल्पसमेत दिएको अर्का स्थानीय रमेशप्रसाद आचार्यले बताए । ‘वैकल्पिक स्थानबाट आयोजनाले काम गरोस् भन्ने हो’ उनले भने, ‘पहिला हामीलाई जानकारी गराइएको थिएन । एक्कासी जग्गा नाँपजाँच गर्दा मात्र आफ्नो जग्गा पर्ने जानकारी भयो । त्यसैले विरोध गर्नुपरेको हो ।’ आफूहरू विकास विरोधी नभएको र स्थानीयहरूलाई मर्का नपर्नेगरी लाइन विस्तार गर्न सकिने ठाउँहरू भएकाले विकल्प खोजिनुपर्ने आचार्यको भनाइ छ ।

स्थानीयलाई जानकारी नै नदिएर वातावरणीय प्रभाव मूल्यांकन (इआईए) गरिएको सनतकुमार आचार्यले बताए । दुःख गरेर कमाएको जग्गा सरकारले लगे आफूहरू सुकुम्बासी हुने भन्दै उनले विकास गर्दा नागरिकको समस्या बुझ्नुपर्नेमा जोड दिए । जग्गाबाट लाइन विस्तार गर्ने विषयमा आफूहरूलाई कुनै पनि जानकारी नभएको उनको भनाइ छ । विकास भएको हेर्न चाहेको भएपनि जग्गाबाट विद्युत विस्तार गर्ने निर्णयको विरोध गरेको आचार्य बताउँछन् । उनले भने, ‘नागरिकको सहमतिविना प्रसारण लाइन विस्तार गर्न खोजियो । हामीले त्यस कुराको विरोध गरेका छौँ । अन्य क्षेत्रबाट लाइन लिन सकिने सम्भावना हुँदाहुँदै गलत निर्णय गरेर स्थानीयबासीलाई मर्का पार्नु हुँदैन ।’
विवाद समाधानका लागि पहल भने भइरहेको छ । जग्गाको विषयमा स्थानीयसँग छलफल भइरहेको आयोजना प्रमुख रविकुमार चौधरीले बताए । आयोजना निर्माणका लागि प्रक्रिया चलिरहेको बेला स्थानीयहरूले लाइन विस्तार गर्न दिएका छैनन् । यद्यपि, सर्वेदेखि ईआएसमेत भइसकोले लाइन विस्तारको अन्य विकल्प नरहेको उनको भनाइ छ । स्थानीयसँग छलफल गरेर मुआब्जा वितरण गरिने चौधरीले जनाए । उनका अनुसार १८ घरपरिवारको जग्गा आयोजनाबाट प्रभावित बन्नेछ । उचित मुआब्जा उपलब्ध गराएर समस्या समाधान गरिने बताए ।

 

बैजनाथमा पनि सुल्झिएन विवाद

बाँकेको बैजनाथमा समेत जग्गा विवाद कायमै छ । विवाद नै विवादका कारण आयोजना निर्माणमा ढिलाइ भइरहेको आयोजना प्रमुख चौधरीले बताए । बैजनाथमा विवाद समाधान नहुँदा तीन वर्षदेखि लाइन विस्तार कार्यमा अवरोध भइरहेको छ ।

विद्युत लाइन विस्तार गर्दा बाँकेको बैजथानस्थित बस्ती प्रभावित हुने भएपछि त्यहाँका नागरिकले अवरोध सिर्जना गरेका छन् । विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)अनुसार बैजनाथ गाउँपालिकाको वडा नं. १ गाभर र वडा नं. ४ को बानियाभार हुँदै लाइन विस्तार गर्नुपर्नेछ । तर उक्त लाइन विस्तारले बस्ती र खेतीयोग्य जमिनमा असर पुग्ने भन्दै स्थानीयले विरोध जनाएका छन् ।

हालसम्म विद्युत प्रसारण लाइन विस्तारको ७० प्रतिशत प्रगति भएको छ । तर आयोजनाले अपेक्षित प्रगति गर्न सकेको छैन । सुर्खेतसहित कर्णालीका अन्य जिल्लाहरूको विद्युत समस्या हल गर्न एकमात्र विकल्प ठानिएको उक्त प्रसारण लाइन विस्तारमा ढिलाइ भइरहेको छ । लाइन विस्तार कार्यको सुरुवात २०७७ असारदेखि गरिएको थियो । ठेक्का सम्झौता भएपछि आयोजनाले कानुनी प्रक्रियामै धेरै झन्झट ब्यहोर्नु परिरहेको आयोजना प्रमुख चौधरीले बताए । संरचना निर्माण पूर्वका कानुनी उल्झन र विभिन्न अवरोधहरूका कारण लक्ष्यअनुसार प्रगति हासिल हुन नसकेको उनको भनाइ छ ।

अझै ३० प्रतिशत काम गर्न बाँकी रहेको छ । विवाद नरहेको क्षेत्रमा भने विद्युत लाइन विस्तारको काम भइरहेको छ । भेरी पुलदेखि छिन्चु आसपाससम्म करिब दश किलोमिटर लाइन विस्तार गरिएको छ । सुर्खेत डिभिजन वन कार्यालयअन्तर्गतको रूख कटानको काम सम्पन्न भएको छ भने बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा दसैँपछि मात्र रूख कटानको काम सुरु हुनेछ ।

प्रकाशित मितिः   २१ आश्विन २०८०, आईतवार ०५:०५