बिग्रिए सिसी क्यामेरा, सुरक्षामा चुनौती
सुर्खेत: गत शनिवार मोटरसाइकलको ठक्करबाट वीरेन्द्रनगरमा पाँच वर्षीय बालकको मृत्यु भयो । एरिचोक–मुलपानी खण्डमा मोटरसाइकलले ठक्कर दिँदा दैलेखका टुकदर्शन गिरीको मृत्यु भएको हो । दुर्घटनापछि मोटरसाइकल चालक फरार भए । फरार चालकलाई पक्राउ गर्न प्रहरीलाई हम्मेहम्मे प¥यो । मोटरसाइकल र चालकको हुलिया पत्ता लगाउनै सकस भयो । सार्वजनिक ठाउँमा राखिएको सिसी क्यामेरा बन्द थिए । व्यक्तिले घरमा जडान गरेको सिसी क्यामेराको सहायताले प्रहरीले फरार चालकलाई पक्राउ गरेको छ । यसका लागि प्रहरीलाई दुई दिन लाग्यो ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा दैनिकजसो सडक दुर्घटना हुने गरेका छन् । तर पछिल्लो समयमा सिसी क्यामेरा बिग्रिएसँगै सुरक्षामा पनि चुनौती थपिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक योगेन्द्रसिंह थापाले बताए । सिसी क्यामेरा बन्द हुँदा अपराध र विभिन्न घटनाहरूको अनुसन्धानमा असहज भइरहेको उनको भनाइ छ । ‘प्रहरीलाई कुनै घटना, दुर्घटना भयो भने सिसी क्यामेराबाट पत्ता लगाउन सजिलो हुन्छ’ उनले भने, ‘सिसी क्यामेरा बिग्रीएकाले अनुसन्धानमा असहज भइरहेको छ ।’ उनले सिसी क्यामेरा सञ्चालन नहुँदा अपराध गर्ने व्यक्तिहरूको खोजी गर्न समस्या हुनेगरेको बताए ।
लामो समयदेखि लथालिङ्ग सिसी क्यामेराको मर्मतमा वीरेन्द्रनगर नगरपालिकाले खासै चासो दिएको छैन । बजारमा जडान गरिएका क्यामेराको नियन्त्रण कक्ष जिल्ला प्रहरी कार्यालय सुर्खेतमा छ । प्रहरीका अनुसार अहिले आठ वटा क्यामेराको मात्रै कन्ट्रोल रुमबाट निगरानी हुन्छ । अरु क्यामेराको कन्ट्रोल रुमसँग कनेक्सन टुटेको छ । अधिकांश क्यामेरा बिग्रिएर काम नलाग्ने भइसकेको थापा बताउँछन् । नगरका मुख्य चोकमा राखिएका क्यामेरासमेत बिग्रिएको अवस्थामा रहेको उनले बताए । सुरक्षा दृष्टिकोणले संवेदनशील रहेको वीरेन्द्रनगरका विभिन्न ठाउँमा राखिएका क्यामेरा बिग्रदा चोरी, लुटपाट, दुर्घटना र विभिन्न अपराधको अनुसन्धानमा चुनौती हुने गरेको हो ।
८४ वटा क्यामेरा प्रयोगविहीन
वीरेन्द्रनगर बजारका मुख्य स्थानमा जडान गरिएका ९२ मध्ये ८४ वटा सिसी क्यामेरा प्रयोगविहीन बनेका छन् । वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी सहर भएकाले सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै ९२ वटा स्थानमा सिसी क्यामेरा राखिएका थिए । विभिन्न चरणमा गरी मुख्यचोक र बजार क्षेत्रमा जडान गरिएका अधिकांश क्यामेरा भने लामो समयदेखि बिग्रिएका छन् ।
प्रदेश सरकारको आर्थिक सहयोगमा आर्थिक वर्ष २०७६÷०७७ मा नगरपालिकाले सिसी क्यामेरा जडान गरेको थियो । करिब एक करोड खर्चिएर क्यामेरा जडान गरिएका जनाइएको छ । प्रहरी कार्यालयका अनुसार ९२ स्थानमा सिसी क्यामेरा जडान भएकोमा हाल तीमध्ये आठ वटाले मात्रै काम गर्छन् । ठूलो लगानीमा जोडिएका ८४ वटा क्यामरा अहिले प्रयोगमा छैनन् । जसले गर्दा सुरक्षा चुनौती बढेको प्रहरीले जनाएको छ ।
मर्मतका लागि बजेट अभाव
बजार क्षेत्रको सुरक्षाका लागि भन्दै जडान गरिएका सिसी क्यामेरा नगरपालिकाले मर्मत गर्ने गरेको छ । तर बजेट अभाव हुँदा पछिल्लो समय मर्मत गर्न नसकिएको नगरप्रमुख मोहनमाया ढकालले बताइन् । प्रदेश सरकारले राजधानीको सुरक्षाका लागि बजेट विनियोजन नगर्ने र नगरपालिकाको आफ्नो स्रोत नभएकाले सिसी क्यामेरा मर्मत गर्न नसकिएको उनको भनाइ छ ।
मानिसहरूको बढी चहलपहल हुने र सम्भावित दुर्घटनाका साथै अन्य अपराधिक गतिविधीलाई मध्य नजर गर्दै क्यामेरा जडान भएका हुन् । गत वर्ष वीरेन्द्रनगरले क्यामेराको मर्मत गरेको थियो । दश लाख बजेटमा क्यामेरा मर्मत गरिएको हो । यो वर्ष पनि नगरपालिकाले सात लाख बजेट विनियोजन गरेको छ । यद्यपि, यो रकम पर्याप्त नहुने जनाइएको छ । नगरप्रमुख ढकाल भन्छिन्, ‘प्रदेश सरकारले सिसी क्यामेरा मर्मत गर्नमा चासो देखाउँदैन । दिनप्रतिदिन सुरक्षा चुनौती बढिरहेको छ । पालिका एक्लैले केही गर्न सक्दैन ।’ प्रदेश सरकारले असहयोग गरेकै कारण राजधानीको सुरक्षा निगरानीमा समस्या चुलिएको उनको भनाइ छ ।
बबईमा सिसि क्यामेरा राख्ने तयारी
कर्णाली प्रदेश सरकारले भने राजधानी प्रवेश गर्ने मुख्य नाका बबईमा सिसी क्यामेरा जडान गर्ने जनाएको छ । वीरेन्द्रनगरका मुख्य बजारक्षेत्र र मुख्य नाकाहरूमा सुरक्षाका लागि सिसी क्यामेरा जडान गरिने बताइएको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले पछिल्लो समयमा सुरक्षा चुनौती बढेको प्रति सरकारको ध्यानाकर्षण भएको बताए । सरकारका प्रवक्तासमेत रहेका जिसीले राजधानीको सुरक्षालाई ध्यानमा राखेर विभिन्न कार्यक्रम अघि बढाइएको जानकारी दिए । उनले भने, ‘प्रहरीसँग मर्मत गर्नुपर्ने सिसी क्यामेराको विवरण माग गर्ने र नयाँ थप निर्माण गर्ने स्थानमा समेत थप गर्नेगरी योजना बनाएका छौँ ।’
प्रकाशित मितिः १७ आश्विन २०८०, बुधबार ०९:१५
साझा बिसौनी ।