एमाले प्रदेश अध्यक्षमा शाह
सुर्खेत: नेकपा (एमाले) कर्णाली प्रदेश कमिटीको अध्यक्षमा गुलाबजंग शाह निर्वाचित भएका छन् । प्रदेश अधिवेशनबाट शाह अध्यक्ष चुनिएका हुन् । उनले अर्का प्रत्यासी मिनबहादुर शाहीलाई एक सय ६२ मत अन्तरले पराजित गरेका छन् । शाहले तीन सय ६९ मत पाउँदा शाहीले दुई सय सात मत पाएका छन् ।
पदाधिकारीमा प्यानलै विजयी
पाँच सदस्यीय पदाधिकारीमा शाहसहित उनकै प्यानल विजयी भएको छ । उपाध्यक्षमा टेकराज पछाईं विजयी भएका छन् । उनले निकटम प्रतिद्वन्द्वी लालबहादुर महतारालाई पराजित गरेका हुन् । पछाईंले तीन सय ४२ मत पाए । महताराले एक सय ७६ मत पाएका छन् । उपाध्यक्ष पदकै अर्का उम्मेदवार दानसिंह परियारले भने ५९ मत पाएका छन् ।
त्यस्तै, सचिवमा पनि शाह प्यानलकै ध्रुवकुमार शाही विजयी भएका छन् । उनले दोब्बरभन्दा बढी मतान्तरसहित प्रत्यासी रुद्र शाहीलाई पराजित गरेका छन् । विजयी शाहीले चार सय ६ मत पाउँदा पराजित भएका रुद्रले एक सय ६९ मत मात्रै पाएका हुन् ।
त्यसैगरी, उपसचिवमा दुई सय ९९ मत पाएका रवीन्द्रराज शर्मा र दुई सय ६६ मतसहित रमेशबहादुर शाही निर्वाचित भएका छन् ।
सर्वसम्मत नेतृत्व चयनका लागि प्रयास गरिएपनि सहमति जुट्न नसकेपछि निर्वाचन गरिएको हो । शाह र शाहीले आ–आफ्नो प्यानल बनाएर चुनावमा सहभागी भएका थिए ।
पदाधिकारीहरूको मतगणना सकिए पनि सदस्यहरूको भने गणना हुँदैछ । सोमवार राति यो समाचार तयार पार्दासम्म सदस्यहरूको मतगणना सकिएको थिएन ।
प्रकाशित मितिः १६ आश्विन २०८०, मंगलवार १०:२७
साझा बिसौनी ।