कर्णाली विद्युतीकरण योजना: नौ जिल्लामा पुग्यो राष्ट्रिय प्रसारण लाइन
सुर्खेत: कर्णालीका नौ जिल्लामा विद्युतको राष्ट्रिय प्रसारण लाइन पुगेको छ । मुगु जिल्लामा विद्युत विस्तार भएसँगै प्रदेशका दशमध्ये नौ जिल्लामा राष्ट्रिय प्रसारण लाइनको बिजुली बलेको हो । यसअघि कर्णालीका सुर्खेत, दैलेख, सल्यान, जाजरकोट, जुम्ला, कालीकोट, डोल्पा र रूकुम–पश्चिममा राष्ट्रिय लाइन पुगिसकेको छ । अब हुम्लामा मात्र पुग्न बाँकी छ ।
नेपाल विद्युत प्राधिकरणले कालीकोट–जुम्ला ३३ केभी प्रसारण लाइनबाट मुगुसम्म विद्युत पु¥याएको हो । नाग्मामा ट्यापिङ गरेर करिब ८५ किलोमिटर लाइन निर्माण गरी मुगुको सदरमुकाम गमगढीसम्म विद्युत पु¥याइएको हो । गमगढीलगायतका क्षेत्रमा आइतवारदेखि राष्ट्रिय प्रसारण लाइनबाट विद्युत वितरण गर्न सुरु गरिएको प्राधिकरणको कर्णाली प्रादेशिक कार्यालयका प्रमुख शम्भु कुसियत यादवले जानकारी दिए ।
यसअघि राष्ट्रिय प्रसारण लाइन नपुगेको मुगुमा स्थानीयस्तरमा सञ्चालित साना जलविद्युत आयोजनाबाट उत्पादन गरिएको विद्युत वितरण गर्ने गरिएको छ । प्राधिकरणले चार सय किलोवाट जडित क्षमताको गमगाड साना जलविद्युत आयोजनाबाट विद्युत उत्पादन गरी मुगु सदरमुकाम गमगढी र आसपासका क्षेत्रहरूमा विद्युत आपूर्ति गर्दै आएको थियो । राष्ट्रिय प्रसारण लाइन पुगेकाले अब विद्युतीकरण तीव्र रूपमा अगाडि बढाइने भएको छ ।
अहिले मुगुमा प्राधिकरणका तीन हजार पाँच सय घरधुरी ग्राहक छन् । डेढ वर्षमा जिल्लाका घर–घरमा विद्युत पु¥याउने लक्ष्य राखिएको यादवले जानकारी दिए । असारमा नै मुगुमा प्रशारण लाइन जोडनेगरी तयारी थालिएपनि मौसमका कारण ढिलाई भएको उनको भनाइ छ । मुगुको विद्युत आपूर्तिलाई भरपर्दो र गुणस्तरीय बनाउन गमगाडमा ३३÷११ केभी सवस्टेसन र ११ केभीको लाइनलाई ३३ केभीमा स्तरोन्नति कार्य भइरहेको प्रदेश कार्यालयका प्रमुख यादवले बताए ।
कर्णाली प्रदेशमा अब हुम्ला जिल्ला मात्र राष्ट्रिय प्रसारण लाइनमा जोडिन बाँकी छ । यद्यपि, त्यसका लागि पनि प्रक्रिया अघि बढिसकेको छ । राष्ट्रिय प्रसारण लाइनमा पु¥याउन ठेक्का सम्झौता सम्पन्न भएको छ । ठेक्का सम्झौता भइ सर्वेको काम भइरहेको प्रदेश प्रमुख कुसियतले जानकारी दिए । उनका अनुसार प्रदेशको एक मात्र जिल्ला प्रशारण लाइनमा जोडिन बाँकी रहेको छ । लाइन पु¥याउनका लागि अहिले सर्वेको काम धमाधम भइरहेको हो ।
दुई वर्षभित्र पूर्ण विद्युतीकरण गरिने
आगामी दुई वर्षभित्र कर्णाली प्रदेशलाई नै पूर्ण रूपमा विद्युतीकरण गरिसक्ने लक्ष्य राखिएको छ । प्रमुख यादवका अनुसार दुई वर्षभित्रमा कर्णाली प्रदेशका दश जिल्लाका बासिन्दाको घर–घरमा विद्युत पु¥याउने गरी काम भइरहेको छ । ‘कर्णालीवासीको हरेक घरमा दुई वर्षभित्रमा विद्युतको पहुँच पु¥याउने लक्ष्यका साथ विद्युतीकरणलाई अगाडि बढाइएको छ’ यादवले भने ।
कर्णाली प्रदेशका दश जिल्लाका २५ नगरपालिका र ५४ गाउँपालिकामध्ये २२ नगरपालिका र २१ गाउँपालिकामा विद्युत पुगेको छ । तीन नगरपालिका र ३३ गाउँपालिकामा अझैसम्म विद्युत पुग्न सकेको छैन । नगरपालिका र गाउँपालिकाका कूल सात सय १८ वडामध्ये तीन सय ९३ मा विद्युत पुगेको छ । कर्णाली प्रदेशको समग्र विद्युतीकरण ६७.५ प्रतिशत छ ।
भौगोलिक कठिनाइ तथा विकटताले साविक कर्णालीका माथिल्लो भेगका बस्तीहरूमा विद्युतीकरण गर्न समस्या हुने गरेको यादवले बताए । उनले भने, ‘दुई वर्षभित्रमा कर्णालीका सबै नागरिकको घरधुरीमा विद्युत पु¥याउने गरी काम भइरहेको छ ।’ प्रत्येक जिल्लामा पूर्ण विद्युतीकरण कार्यक्रमका लागि ठेक्का सम्झौता भइ काम सुरु भएको उनको भनाइ छ । लाइन विस्तारभन्दा पहिला गरिने प्रि–कन्स्ट्रक्सन सर्भेका काम भइरहेको छ । उनले भने, ‘पूर्ण विद्युतीकरण कार्यक्रम सुरु भइसकेको छ । कुन ठाउँमा कस्तो सामान प्रयोग हुन्छ, बाटोको अवस्थालगायतको सर्वेको काम भइरहेको छ ।’ यादवले राष्ट्रिय प्रसारण लाइन पु¥याउन नसकिने ठाउँमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत सौर्य, लघुजलविद्युत (माइक्रोहाइड्रो) लगायतमार्फत विद्युतीकरण गरिने जानकारी दिए ।
प्रकाशित मितिः २६ भाद्र २०८०, मंगलवार ०५:०५
साझा बिसौनी ।