समाजवादी सुर्खेतको अध्यक्षमा रास्कोटी
सुर्खेत: नेकपा (एकीकृत समाजवादी) पार्टी सुर्खेतको जिल्ला कमिटी पुनर्गठन गरिएको छ । निवर्तमान अध्यक्ष मोहन बडुवाल पार्टी परित्याग गरी नेकपा (एमाले) मा प्रवेश गरेपछि समाजवादीले कमिटी पुनर्गठन गरेको हो ।
पुनर्गठित कमिटिको अध्यक्षमा टोपबहादुर रास्कोटी चयन भएका छन् । उनी यसअघि उपाध्यक्ष थिए । त्यसैगरी जिल्ला कमिटीको उपाध्यक्षहरूमा शिवप्रसाद उपाध्याय, खड्गबहादुर केसी, सचिवमा वीरबहादुर रावत (भोटे), उपसचिवहरूमा छविलाल सापकोटा र गोविन्दबहादुर शाहीलाई जिम्मेवारी तोकिएको छ ।
अध्यक्ष रास्कोटीले केही नेता तथा कार्यकर्ताले छोड्दैमा पार्टी कमजोर नभएको बताए । सानो संख्यामा पार्टी छोडेकाहरूले सिँगै कमिटी समायोजन भनेर गलत प्रचार गरिएको भन्दै आपत्तिसमेत जनाएका छन् । जिल्लामा अहिले पनि समाजवादी पार्टी एक बलियो संगठनका रूपमा रहेको उनको जिकिर थियो ।
यस्तै पार्टीका केन्द्रीय सदस्य शिवप्रसाद उपाध्यायले नीति र सिद्धान्तबाट विचलित भएका केही व्यक्तिहरूले पार्टी छोड्दैमा पार्टी नसकिने बताए । उनले झन् सशक्त भएर आउने दाबीसमेत गरे । कुनै पनि कार्यकर्ताहरूलाई विचलित नभएर पार्टीको नियमित काम कारबाहीमा सक्रिय हुन आग्रहसमेत गरेका छन् ।
प्रकाशित मितिः २६ भाद्र २०८०, मंगलवार ०५:०१
साझा बिसौनी ।