आम्दानी जोगाएर उद्योग सञ्चालन

पुरुषहरू रोजगारीका लागि विदेश नै धाउने । लगानी गर्ने रकम नहुँदा गाउँमा सानोतिनो उद्यम सञ्चालन गर्न पनि मुस्किल । आयआर्जनको विकल्प नहुँदा गाउँका महिलाहरू बेरोजगार । घरखर्च चलाउनै समस्या । चाडवाड आउँदा पनि ऋण मागेर गुजरा गर्नुपर्ने बाध्यता । पश्चिम सुर्खेतको बावियाचौरका महिलाहरूले वर्षौंसम्म यस्तै पीडा भोगे ।

घरखर्च चलाउन अरुको भर पर्नुपर्ने बाध्यताबाट मुक्ति पाउन स्थानीय महिलाहरूले गाउँमै सानो उद्यम गर्ने निर्णय गरे । अलिअलि गरेर रकम जम्मा गरे । त्यही रकमले गाउँमै दिदीबहिनी चाउमिन उद्योग स्थापना गरे । उद्योगमा उत्पादन भएको चाउमिनले बजार पनि पायो । हिजोआज त उद्यागले माग अनुसार बजारमा चाउमिन पु¥याउन सकेको छैन । स्थानीय महिलाहरूले रोजगारी पाएका छन् । उद्योग सञ्चालन भएपछि उनीहरूको आम्दानी बढेको छ । आम्दानीबाट खर्च जोगाएर उनीहरूले अब उद्योगमा थप लगानी गर्ने तयारी गरिरहेका छन् ।

‘खर्च जोगाए हुने रहेछ, ठूलै लगानी पनि चाहिने रहेनछ’ स्थानीय निर्मला तारमीले भनिन्, ‘हामीसँग पनि सुरुमा धेरै रकम थिएन, सबैले अलिअलि जम्मा ग¥यौं । खर्च कटाउँदै रकम बचत भयो, त्यही बचत लगानी गर्दै उद्योगलाई विस्तार गरेका हौं ।’ मनमा आँट र काम गर्ने जाँगर भए गाउँमै पनि उद्योग सञ्चालन गर्न सकिने उनको भनाइ छ । उनका अनुसार उद्योग सञ्चालन भएपछि स्थानीय महिलाहरूले रोजगारी पाएका छन् । यसले उनीहरूको घरखर्च टरेको छ । स्थानीय लक्ष्मी मगरले अब उद्योगले आफ्नै गाडी किन्ने तयारी गरेको जानकारी दिइन् । गाडी भएमा उद्योगको उत्पादन समयमा नै बजारमा पु¥याउन सकिने उनको भनाइ छ । यो चाउमिन उद्योग मात्र होइन, जिल्लामा यस्तो थुप्रै उद्योगहरू सञ्चालनमा रहेका छन् । साना उद्यमीहरूले पनि आम्दानी जोगाउँदै उद्योगमा लगानी गरेर उत्पादन बढाउन थालेका हुन् । यसले रोजगारी बढ्नुका साथै आयआर्जनमा पनि टेवा पुगेको छ ।

केही वर्ष पहिला उद्यम सुरु गर्दा वीरेन्द्रनगरस्थित चिसापानीमा रहेको रामजानकी दुनाटपरी उद्योगमा दुई वटा मात्र मेशिन थिए । सीमित व्यक्तिहरूले मात्र स्थापना गरेको यो उद्यममा अहिले एक दर्जन भन्दा बढीले रोजगारी पाएका छन् । उद्योगका सञ्चालक रामबहादुर गुरुङ्ग भन्छन्, ‘सुरुमा हामीले थोरै रकमबाट उद्यम सुरु ग¥यौं, एकैपटक धेरै लगानी थिएन । विस्तारै आम्दानी जम्मा गर्दै मेशिन थप्दै गयौं, अहिले उद्योगमा टपरी बनाउने मेशिन र कामदार पनि थपेका छौं ।’ उनले उद्योगबाट उत्पादन भएको दुना र टपरीले अहिले पनि बजारको माग धान्न नसकेको भन्दै विस्तारै उद्योगको क्षमता वृद्धि गर्ने तयारी भइरहेको बताए । उद्योग सञ्चालनका लागि लगानी भन्दा पनि आँट र साहस आवश्यक पर्ने उनको भनाइ छ । यो उद्योगले आर्थिक रूपमा कमजोर र घरखर्च चलाउनै मुस्किल हुने स्थानीय महिलाहरूलाई रोजगारी दिएको छ । यसले महिलाहरूको आयआर्जनमा वृद्धि भएको छ ।

यस्तै लाटीकोइलीमा पनि स्थानीय महिलाहरू जुटेर ढाँका उद्योग सञ्चालन गरिरहेका छन् । उनीहरूले पर्याप्त लगानी भएर उद्योग स्थापना गरेका भने होइनन् । सुरुवातमा स्थानीय सहकारीबाट ऋण लिएर उद्योग स्थापना गरेका उनीहरूले अहिले बचत गर्न थालेका हुन् । उनीहरूले उद्योगबाट उत्पादन भएको सामग्री बिक्री गर्दै रकम जोगाउँदै उद्योग विस्तार गरिरहेका छन् । ‘हामीले बजारमा मागे जति सामान पु¥याउन सकेका छैनौं, अब कर्मचारी थप गर्नुपर्ने भएको छ’ स्थानीय सीता बिसीले भनिन्, ‘पहिला त ऋण गरेर उद्योग सुरु गरेका थियौं, अब यही उद्योगबाट भएको आम्दानी बचाएर थप विस्तार गर्ने हो ।’

यो उद्योगमा अहिले स्थानीय सात जना महिलाहरू कार्यरत छन् । उनीहरूले उत्पादन गरेका ढाँकाका सामानहरू जिल्ला बाहिरसमेत बिक्री हुने गरेका छन् । यसले आफूहरूको आम्दानी पनि बढेको स्थानीय पार्वती रोकायले बताइन् । पछिल्लो समय जिल्लाका साना उद्यमीहरूले लगानी बढाउँदै उद्योगकै रूपमा व्यवसाय सञ्चालन गर्न थालेका हुन् । आम्दानी जोगाएर लगानी गर्दा बाहिरी सहयोग आवश्यक नपर्ने र रोजगारी पनि सिर्जना हुने भएपछि साना उद्यमीहरू उत्साहित बनेका छन् ।

प्रकाशित मितिः   १२ माघ २०७३, बुधबार १२:२७