समृद्ध दैलेखको सम्भावना

नेपालका थोरै पहाडी जिल्लाहरूमध्येकै बढी जनघनत्व भएको प्राकृतिक, सांस्कृतिक, सामाजिक, मानवशास्त्रीय, समाजशास्त्रीय जिल्ला हो, दैलेख । आधुनिक राज्य प्रणालीको माथिल्ला अंगमा पुग्न नसकेपनि दैलेख, दुल्लू राज्य राज्यप्रणाली, व्यवस्था, संस्कार, संस्कृति पछिल्लो समयसम्म पनि चर्चित छन् । दैलेख गौडा राणाकालकै शक्तिशाली पश्चिमी गौडा हो । वैश्वानर पुराण, स्वस्थानी व्रतकथा लगायत हिन्दुका प्राचीन ग्रन्थहरूमा दैलेखको सम्बोधन गरिएको छ । दुर्लुंहरा नगरबाट दुल्लू नगरपालिका बनेको छ । लोहोरे खोलाले दैलेख जिल्लाभित्रैबाट आफूलाई जन्माएर कर्णालीसित भाग खोजेको छ । तीसको दशक अघिसम्म नेपालमै सबैभन्दा बढी सुन्तला उत्पादन गर्ने स्थान र हक पाएको जिल्लालाई पछिल्लोपटक कास्कीले विस्थापित गरेको छ । दैलेखको घ्यूले तत्कालीन नेपालगन्जको दैलेखी बगियामा सर्वोत्कृष्ट स्थान पाएको थियो । मालुको खोचमा राखेर नेपालगन्ज पुग्दा पनि नपग्लने सेतो, कनिके अकर्षक घ्यू इतिहासमा सीमित छ ।

जुत्ता, मोजा, स्वीटर, राडी पाखीमा साटिने अन्नवाली उत्पादनस्थलको उत्पादन र उत्पादकत्व घटिसकेको छ । १९९० सालको वरपर खुलेका दैलेख र दुल्लूका भाषा पाठशालाको शिक्षाप्रदायक र ग्राहकको स्तर अहिलेको भन्दा राम्रो उच्च र असल थियो । हाउडी, महावु, रानीमत्ता, गुराँसे जस्ता उच्च पहाडहरूले स्थिरता धैर्य र इमान दिँदै ब्यूँझिएका दैलेखीहरूको बीचको जीवनस्तर स्तरीय, चुनौतीपूर्ण र सिर्जनशील हुँदा–हुँदा तल्लो तहका जनताको स्थर टिठलाग्दो छ । आदर्श, भावुक, परिश्रमी, ग्रासरुटका दैलेखी जनताको कुपोषण, अशिक्षा, वेरोजगारी, तनाव, झन् गहिरिदो छ । यिनीहरूको न त सम्मान छ, न त मूल्यांकन । दलित समस्या ज्यूँका त्यूँ छ । हेप्ने, ललकार्ने, उत्पादनमा भेदभाव, पेशा व्यवसायमा छुवाछुत, सामाजिक सुरक्षामा तिरस्कार, दैलेखी दलितको जन्मजात नियती बन्दैछ । महिलाप्रतिको दृष्टिकोण अझै पुर्ण रूपमा सकारात्मक छैन । बालविवाह दैलेखको प्रमुख सामाजिक समस्या बनेको छ । अन्धविश्वास त्यस्तै छ । सामाजिक संकृणताले घर गरेको छ ।

सबै नकारात्मक विशेषताले भरिएका मात्रै छैन दैलेख । दैलेखी सबै वर्गको समृद्धिको पहिलो आधारभूत अनिवार्य, अपरिहार्य, साझा तथ्य हो सडक यातायातको विकास । सम्भवत् सानो लगानीमा उपलब्धीपूर्ण फल खान सकिने नेपालकै दैलेख जिल्ला हो । भौगोलिक, भौर्गभिक बनौट तुलनात्मक रूपमा अविकट छ तर प्राकृतिक सौन्दर्यले भरिपूर्ण र फलफूलका लागि अपयुक्त हावापानी सडक यातायात, विकासका लागि पूर्वी दैलेखीलाई रातानांला, धरमपोखरा, गुँरासे, जाजरकोट, जुम्ला जोड्ने लोकमार्ग, राजनीतिक आर्थिक, सांस्कृतिक, व्यवहारिक, पेसा व्यवसायका विकासका लागि पहिलो शर्त हो । यसै लोकमार्गबाट अरु सडकका शाखाहरू खोल्न सकिनेछ । बीच दैलेखीका लागि सुर्खेत–दैलेख लोकमार्गलाई अगाडि लम्ब्याएर डिल्लीकोट कालिकोट हुँदै जुम्लासम्म विशिष्ट रूपमा विकास गरेर रणनैतिक सडकका रूपमा विकास गरेमा दैलेखी भावी भविष्यस्तरीय बन्न सक्नेछ । यसैमा पञ्चदेवल नगरपालिका, कोटिला लगायत धार्मिक ऐतिहासिक, पुरातात्वीक, जैविक, गढीका लागि मन लोभ्याउने सेवा सुविधा तथा शर्तनामहरू पु¥याइनु पर्छ । यसै सडकबाट हरियाली सडक, ग्रामीण सडक, कृषि सडक, जैविक सडक जस्ता उपनामहरू राखेर विकसित गर्न सकिनेछ ।

रातो किताबमा राखिएको तल्ला डुंगेश्वर, दुल्लू, हाउडी, तिला नाग्मा, मुगु नाम्चेलग्ना प्रादेशिक लोकमार्गको द्रुत विकासबाट तिब्बतबाट दैलेख र दैलेखबाट फलफूल अन्नबाली, दुग्धजन्य पदार्थ, पशुवस्तु र अन्य सामग्रीहरूको तिब्बतसँग व्यापार विस्तार गर्दा यसैभित्र डुंगेश्वर, श्रीस्थान, नाभिस्थान, पादुका, दुल्लूको हरियालीलाई जोडेर समृद्धि प्राप्त गर्न सकिनेछ । दामुपालका, शिलालेख, कृतीस्तम्भ लगायत पश्चिमी दैलेखका सम्पदाहरूको उपयोग गरी जीवनस्तर उकास्न सकिनेछ । गाउँपालिका नगरपालिकास्तरीय हेलिकप्टर सेवा तथा एउटा हवाइ मैदान दैलेखी विकासको अनिवार्य पूर्वाधारहरू हुन् । सुर्खेत– दैलेख, डाँडीमाडी, जुम्ला केवलकारको विकास लम्ब्याएर मुगु–हुम्ला लिमी नपु¥याउँदासम्म त्यहाँ उत्पादित विजुलीले बजारभाउ पाउनेछैन ।

केवलकार , हाउडी, महावु, गुराँसे, छोटास्तरका केवलकार निर्माण गरी क्यानोनित, वन्जि, चट्टान आरोहण गर्न आवश्यक छ । सिमान्तकृत पश्चिमी दैलेखी भावी समृद्धिको आधारभूत खुड्किलो, कर्णाली करिडोर हो । नेपालकै सबैभन्दा लामो कर्णाली करिडोरले अपरकर्णाली, राकम बजार, तल्लो डुंगेश्वर, टुनिवगर लगायत दैलेखी पूराना गाउँ, नदीकिनार तथा वनजंगललाई करिडोरले जोड्नेमात्र छैन, कर्णालीका हुम्ला, कालिकोट, मुगु तथा सेतीका बाजुरालाई पनि जोड्ने छ । यसै किनारै किनार उच्च विद्युत प्रसारण लाइन कालान्तरमा तिब्बतका सीमानासम्म जोडिन पुग्दा करिडोरका बस्तीहरूमा विकास तथा विकास तथा जीवनस्तर उकासिन पुग्नेछ । सडकले स्थानीय उत्पादित वस्तु, सेवा, बजारलाई सहजता दिनेछ । करिडोरकै कारण अव्यवस्थित बसोबासलाई निरुत्साहित गरी जनतालो माग्नुपर्ने समस्याहरूको समाधान हुनेछ । यस क्षेत्रका उच्च उत्पादन क्षमताको उर्वरशील भूमिका कर्मशील दैलेखीको आलु, प्याज, बन्दा, काउली, लौका, फर्सी, काक्रेट आदि तरकारी बजार पाउनेछन् ।

यतिले मात्र हुँदैन, दैलेखी जनताको सुन्दर भविष्य पुष्पलाल लोकमार्गको निर्माणमा, सञ्चालन, विकास तथा संरक्षणमा पनि अडिएको छ । जाजरकोटको चोयाबाट प्रवेश गरी पश्चिम राकम कर्णालीबाट अछाम टेकेको लोकमार्गले दुइ किनाराका दैलेखीलाई अछामी, दैलेखी र जाजरकोटी संस्कृतिसँग जोड्नेछ । चानचुन १५ किमी लम्बाइमा गुज्रिएको दैलेखी पुष्पलाल लोकमार्गको निर्माणपछि दैलेखी परम्परित व्यापारको दिशा सम्बन्ध, शिक्षा यातायातको मोडललाई प्रत्येक्ष पूर्वी नेपाल र पश्चिम नेपाललाई जोड्नेछ । अब दैलेखीहरूको सम्बन्ध प्रत्यक्ष पोखरादेखि बैतडीसम्म जोडिएर नयाँ नातापाता बन्नेछ । नयाँ अनुभव, शिक्षा, स्वास्थ्य खाद्यन्न पर्यटन कृषि, हुन जान्छ । यसरी आन्तरिक राष्ट्रियता सवल बनेर कर्णाली वा सुदूरपश्चिमका यात्रुहरूको राकम कर्णाली जम्काभेटस्थल बनेर व्यापार, होटल, व्यवसाय, उद्योग, शिक्षा, मनोरञ्जन बढ्न जानेछ । तिनीहरूको यात्रा सिधै पूर्वतिर लाग्दा जाजरकोट रुकुम, बाग्लुङका धार्मिक, सांस्कृतिक, पर्यटकीयस्थल, स्थान, क्षेत्रको अवलोकन हुनेछ । पाटन, साँफेबगर, राकम कर्णाली, कुदु, चौरजहारी, रकुमकोट, लुकुमवाँक्री, बुर्टिवाट जस्ता सुन्दर प्रस्तावित सन्दर नगरीसँग प्रत्येक्ष सम्पर्क हुँदा नयाँ प्रेरणा ऊर्जा प्रभाव र छाप पर्नेछ । स्यार्पुदह, सुमलताल, रिम्ना दोभान, सिस्ने हिमाल, तारे पाटन, जलजला, तकसेरा, शेषीमगर बस्तीलाई देखाउँदै पुष्पलाल लोकमार्गले पोखरा पु¥याउने छ । दैलेख र रुकुमको जनजीवन विलकुल फरक छ । जनजीवनको अध्ययन हुनेछ । सडक यातायात कलकारखाना, हवाइ मैदान, हेलिकप्टर मैदानका साथ, दैलेखी मिलेको बस्तीबस्तीमा सडकका पहुँचले सुर्खेत, नेपालगन्ज, काठमाडौं लगायतका ठूला सहरमा थुप्रिने दैलेखीका संख्यामा न्यूनीकरण भइ एकतृत हुनेछ भने अर्को दैलेख र स्रोत साधनको समुचित प्रयोग विना समृद्धि असम्भव छ ।

दैलेख लोक साहित्यको राजधानी हो । धार्मिक स्थलको भण्डार हो । प्राकृतिक सौन्दर्यको अनुपम भण्डार हो । लोहोरे खोला जीवन हो । रानीमत्ता, हाउडी र महावु प्राण र आस्था भए पनि निःशुल्क रूपमा भैंसी र गाइ पहिचानका आधारमा दिइ तिनको उत्पादनको बजार सुनिश्चित नगर्दासम्म वास्तविक दैलेखी किसानको स्तरउन्नती हुन सक्दैन । प्राविधिक, औषधि, सल्लाह तथा उच्च सम्मान विना पशुपालन खस्कदोक्रममा जानेछ । दैलेखको मूल समृद्धि पशुपालनमा नै रहेको छ । यसपछि यसैसँग जोडिएका पक्ष विभिन्न प्रजातिका फलफूल खेती प्रत्यक्ष जीवनसँग जोडिएको छ । दैलेखी माटो, पानी, हावा, विविधता, फलफूलका लागि १ नम्बर जिल्ला हो । कागती, लिवुवा, सुन्तला, नास्पती, आँप, ओखर, करेला, चिउरी, लगायत धेरै प्रजातीको फलफूलका लागि, डाले घाँस र आधुनिक घाँसका लागि पनि दैलेख परिचित छ । पहिचान हो र सामथ्र्य पनि हो ।

दैलखी धार्मिक स्थलका अतिरिक्त डेउडा, फागु, मागल, धमारी, ठाडी भाखा, भैलो धौसी, मोस्सा, झाँक्रीभाषा, धामी भाषा, पुराना स्तम्भ छाप्रै, छैटी, पास्नी, विवाह, मृत्यु संस्कारका विषयमा खोज अध्ययनलाई पेसागत व्यवसायगत रूपमा ढालेर अन्तर कुन्तर नपस्दासम्म जनस्तरमा समृद्धि जान सक्दैन । यिनीहरूको प्रचारप्रसार दृश्यावलोकन, अवलोकन, बुलेट, पत्रपत्रिका, एफएममार्फत् विशेष क्षेत्र विशेष योजना कार्यान्वयन प्रतिफल दिएको अवस्थामा दैलेखी जनजीवन समृद्ध बन्न सक्छ । लोककथा गीत, नाटक, लोककला, रहनसहन, भाषा, सामाजिक जनजीवनलाई भिजुअलाइज आवश्यकता छ । यिनीहरूको चलचित्रमा समावेश गर्दा स्थानीय युवाहरूले रोजगार पाउनसक्छन् । दैलेखलाई लोकसाहित्य विशेष जानको अवधारणामा ल्याइनुपर्दछ । दैलेखी समाजमा गहिरो रूपमा रहेको भेदभाव र छुवाछुतको अन्त्यविना समाजको समृद्धि असम्भव प्रायः छ । अन्धविश्वासको अन्त्य आजको आवश्यकता हो ।