क्रिकेटमा कर्णालीलाई ऐतिहासिक सफलता
सुर्खेत: कर्णाली प्रदेशले क्रिकेटमा ऐतिहासिक सफलता हात पारेको छ । पहिलो पटक राष्ट्रियस्तरको प्रतियोगिताको उपाधि जित्दै कर्णालीले नेपाली क्रिकेटमा आफ्नो बलियो उपस्थिति देखाएको हो ।
जनकपुरमा भएको महेन्द्र नारायण निधि टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि कर्णालीले जितेको हो । शुक्रवार भएको फाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई ५१ रनले पराजित गर्दै कर्णालीले पहिलो पटक राष्ट्रियस्तरको प्रतियोगिताको उपाधि हात पारेको छ ।
पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ४० रन बनाएको थियो । एक सय ४१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम प्रदेश मात्र ८९ रनमा अल आउट हुनपुग्यो । कर्णालीका लागि युनिक विक्रम सिंहले सर्वाधिक तीन विकेट लिएका थिए ।
प्रतियोगिताको सुरुवात भने कर्णालीको कमजोर भएको थियो । पहिलो खेलमा गण्डकी प्रदेशसँग एक सय ४१ रनको विजयी लक्ष्य पछ्याउनेक्रमा ४५ रनमै अलआउट भएको थियो । त्यो अवस्थाबाट भने सानदार पुनरागमन गर्दै उपाधि उचालेको छ ।
समूहचरणमा कर्णालीले सुदूरपश्चिमलाई २६ रन, मधेश प्रदेशलाई एक विकेट, कोशी प्रदेशलाई सात रन र बागमती प्रदेशलाई तीन रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो । पहिलो पटक फाइनल पुगेको कर्णालीले उपाधिसमेत जितेको हो ।
विगत पाँच वर्षदेखि नै राष्ट्रिय प्रतियोगितामा भाग लिँदै आएको कर्णालीको प्रदर्शन सधैँजसो कमजोर रहने गरेको थियो । यसअघि कर्णालीको कुनैपनि सिनियर टोलीले राष्ट्रियस्तरको प्रतियोगितामा फाइनलमा स्थान बनाउन सकेको थिएन । यू–१९ महिला टोलीले भने गतवर्ष धनगढीमा सम्पन्न यू–१९ राष्ट्रिय प्रतियोगितामा फाइनलसम्मको यात्रा तय गरेको थियो । सिनियर टिमको यो नै पहिलो फाइनलसहितको उपाधि हो ।
प्रकाशित मितिः २७ जेष्ठ २०८०, शनिबार ०५:०५
साझा बिसौनी ।