सुर्खेतमा चलचित्र महोत्सव हुँदै

सुर्खेत: सुर्खेतमा तीन दिने चलचित्र महोत्सव हुने भएको छ । द डेलिगेसन अफ युरोपियन युनियन टू नेपालको आयोजनामा वैशाख २०, २१ र २२ गते वीरेन्द्रनगरमा नेपाल युरोपियन युनियन फिल्म महोत्सवको दोस्रोे चरण आयोजना गर्न लागेको हो ।
‘सबैका लागि मानवअधिकार उत्सव’ भन्ने नाराका साथ आयोजना हुने महोत्सव मध्यपश्चिम विश्वविद्यालयको सभाहलमा चल्नेछ । महोत्सवको पहिलो संस्करण गत वर्ष आयोजना गरिएको थियो । यो वर्ष मानवअधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको ७५ वर्ष पुगेको सन्दर्भ पारेर ‘सबैका लागि मानवअधिकार उत्सव’ भन्ने मुल विषय छनोट गरिएको नेपालका लागि यूरोपियन युनियनकी राजदुत नोना डेप्रेजले बताए । उनका अनुसार यसको उद्देश्य आम मानिसमा उनीहरूको अधिकारको बारेमा सचेतना अभिवृद्धि गर्ने र सबैको मानवअधिकारको रक्षा गर्न सञ्जाल तथा ऐक्यबद्धता निर्माण गर्ने रहेको छ ।

महोत्सवमा युरोपका ख्यातीप्राप्त निर्देशकहरूले निर्देशन गरेका आठ वटा फिल्मका साथसाथै नेपालका युवा फिल्म उत्पादकहरूले निर्माण गरेका छोटा फिल्महरू प्रदर्शन गरिनेछन् । चलचित्र हेर्नका लागि दर्शकहरूलाई कुनै शुल्क नलाग्ने आयोजकले जनाएको छ । जसमा ह्यामी रामेजनद्वारा निर्देशित ‘एनी डे नाउ’ भन्ने चलचित्रको प्रदर्शनीबाट हुनेछ । यस फिल्मले आप्रवासनको कथालाई प्रस्तुत गरेको छ । जुन समकालीन समयको एउटा मुख्य मानवअधिकारको सवाल हो ।
महोत्सवमा प्रदर्शन हुने अन्य फिल्महरूमा अरस टी रिहानीले निर्देशन गरेका अस्कर एण्ड लीली (अष्ट्रिया), एण्ड्री बाग्नेले निर्देशन गरेका रमोना (स्पेन), दोनातो रोतुनले निर्देशन गरेका इयो स्टबने (लक्जेम्बर्ग, बेल्जियम, जर्मनी र इटली), जहाभी सन्जभीले निर्देशन गरेका इमादज चाइल्डहुड (स्विडेन, लाटभिया, इराक), इग्नस जोनासको निर्देशन गरेका इनभिजिबल (लिथुअनिया, लाटभीया, युक्रेन, स्पेन), डेभिड फ्रेनले निर्देशन गरेका डेटिङ्ग अम्बर (आयरल्याण्ड, युके) र डेभिड फ्रेनले निर्देशन गरेका मित्र (नेदरल्याण्डस्) रहेका छन् ।

यसैगरी महोत्सवमा टोनी ह्यागेन फाउण्डेशनको आर्थिक सहायतामा निर्माण भएका नेपाली फिल्महरू प्रदर्शन गरिनेछन् । अंकित खड्कीको निर्देशनमा बनेको आई वान्टेड टु बी लाईक माधुरी दिक्षित, विशाल रोक्का मगरको गोर्खा गर्ल र ग्रिष्म गिरीको ब्लुज अफ पिंक पनि प्रदर्शनी गरिनेछन् ।

नेपाली युवा फिल्म निर्माताहरूका अन्य फिल्महरूमा मिन्शो लिम्बुको जुनको, सुनिल पाण्डेको बागथान, पुनम पौडेलको लिभिङ्ग विथ डिग्नीटी, दीपक रौनियारको फोर नाइटस् र दीपा श्रेष्ठको ड्रिफ्टििङ्ग क्लाउडस् रहेका छन् । महोत्सवको क्रममा देखाईने तीनवटा युरोपियन फिल्महरू एनीडे नाउ, मित्र र इमादज चाईल्डहुडमा नेपाली उपशीर्षक पनि हुनेछन् ।

महोत्सवमा ‘चलचित्रलाई कसरी बुझ्ने र प्रशंसा गर्ने’ भन्ने बिषयमा पनि छलफल हुनेछ । जसको सहजीकरण चर्चित चलचित्र निर्माता तथा निर्देशक राजेश गोगजुले गर्नेछन् ।

प्रकाशित मितिः   १५ बैशाख २०८०, शुक्रबार ०५:०१