कर्णालीमा पनि बढ्दै संक्रमित
सुर्खेत: कर्णाली प्रदेशमा पनि कोरोना भाइरस संक्रमित बढ्न थालेका छन् । पछिल्ला दिनहरूमा संक्रमित देखिन थालेको भन्दै स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले खोप लगाउन आग्रह गरेको छ । निर्देशनालयका सूचना अधिकारी पदमबहादुर केसीका अनुसार शून्यमा झरेको कोरोना भाइरसको संक्रमण अहिले दैनिक बढिरहेको छ ।
परीक्षण गराएका ३० जनामध्ये दुईदेखि तीन जना संक्रमित फेला पर्ने गरेको केसीले बताए । संक्रमण बढिरहेकाले खोपमा ध्यान दिन निर्देशनालयले नागरिकलाई सचेत गराएको छ । खोपको पहिलो मात्रा, दोस्रो मात्रा तथा पहिलो बुस्टर डोज लगाइसकेकाले दोस्रो बुस्टर डोज लगाउन केसीले आग्रह गरे । स्थानीय तहले पनि आवश्यकता अनुसार विभिन्न ठाउँमा खोप प्रदान गरिरहेका छन् । सतर्कता अपनाउन निर्देशनालयले आग्रह गरेको छ । निर्देशनालयले संक्रमणको लक्षण देखिने वित्तिकै परीक्षण गराउन, मास्क, सेनीटाइजरको प्रयोग गर्न निर्देशनालयले अनुरोधसमेत गरेको छ ।
सेवाग्राहीको बढी चाप हुने जिल्ला प्रशासन, मालपोत, नापी र बैंक तथा वित्तीय संस्थामा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी भीडभाड नहुने व्यवस्था मिलाउन निर्देशनालयले अनुरोध गरेको हो । तर सरकारी कार्यालयले नै भीडभाडलाई व्यवस्थित बनाउन सकेका छैनन् । स्वास्थ्य सेवा निर्देशनालयका सूचना अधिकारी केसीका अनुसार कोरोना संक्रमण सहरमा मात्रै नभएर गाउँसम्म फैलिएको छ ।
पछिल्लो केही दिनयता देशभर नै कोरोनाको संक्रमण फैलिन थालेको छ । शुक्रवार थप एक सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एक सय ९७ पीसीआर र एक हजार दुई सय २७ एन्टिजेन परीक्षणमा ३४ र एक सय दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रवार ६८ जना भने संक्रमणमुक्त भएका छन् । यसअघि बिहीवार एक सय ६ जनामा संक्रमण पुष्टि भएको थियो । नयाँ भेरिएन्ट देखिएसँगै संक्रमितको संख्या केही हप्तायता बढ्दो क्रममा छ । हाल सक्रिय संक्रमितको संख्या चार सय एक पुगेको छ । एक हजार हाराहारीमा हुँदै आएको कोभिड परीक्षण गराउनेको संख्या पनि बढ्दै गएको देखिन्छ ।
कोभिड बढेसँगै अस्पतालमा पनि बिरामी भर्ना हुन थालेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोभिड अपडेटअनुसार हाल संस्थागत आइसोलेसनमा ३२ जना, आईसीयूमा ११ जना र भेन्टिलेटरमा तीन जना उपचाररत छन् ।
प्रकाशित मितिः २ बैशाख २०८०, शनिबार ०५:०१
साझा बिसौनी ।