उपकुलपतिका लागि पाँच जनाको दरखास्त

स्वास्थ्य मन्त्रालय मातहतका स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुमा रिक्त उपकुलपति पदमा ३० जनाले दाबी गरेका छन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सबैभन्दा बढी र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सबैभन्दा कम आकर्षण देखिएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लामो समयदेखि उपकुलपति पद रिक्त छ । स्वास्थ्य मन्त्रालयले यही पुस २० गते सार्बजनिक सूचना निकालेर उपकुलपतिका लागि इच्छुक उम्मेदवारहरुबाट एक साताभित्र दरखास्त आह्वान गरेको थियो ।

पुस २७ गतेको अवधिमा ३० जना दाबेदारले कार्ययोजनासहित दरखास्त दिएका छन् । जसमध्ये कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि पाँच जनाले दरखास्त दिएका छन् । डा. विकास सुवेदी, डा.ज्ञहराज बराल, डा.धर्मराज श्रेष्ठ, डा.अमिरबावु श्रेष्ठ र डा. राजेन्द्र वाग्लेले कर्णालीका लागि दरखास्त दिएका हुन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लामो समयदेखि उपकुलपति नियुक्त नहुँदा काम कारबाही प्रभावित हुँदै आएको छ । तर उपकुलपतिका लागि दुर्गम कर्णालीमा कम आकर्षण देखिएको छ ।

दरखास्तसहित प्राप्त कार्ययोजनाहरुको अध्ययन गरी योग्य व्यक्तिलाई नियुक्तिका लागि सिफारिस गरिने मन्त्रालयले जनाएको छ ।

उपकुलपति सिफारिस गर्न स्वास्थ्यमन्त्री गगन थापाको संयोजकत्वमा तीन सदस्यीय सर्च कमिटी गठन गरिएको छ । समितिका सदस्यहरुमा स्वास्थ्य मन्त्रालयका सचिव डा। सेनेन्द्रराज उप्रेती र राष्ट्रिय योजना आयोगका सदस्य गिताभक्त जोशी छन् ।

प्रकाशित मितिः   २९ पुष २०७३, शुक्रबार १६:५४