‘प्रदेशको निर्णय प्रदेशबाटै हुन्छ’

सुर्खेत: नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता गर्ने वा नगर्ने भन्ने विषयमा पार्टी केन्द्रले कुनै दवाव नदिने बताएका छन् । आइतवार सुर्खेत विमानस्थलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा पौडेलले सरकारमा रहने वा बाहिरिने भन्ने विषयमा प्रदेशकै अधिकार रहेको बताए ।

प्रदेशमा रहेका एमालेका मन्त्रीहरूलाई छाड्न कुनै निर्देशन एमालेले नदिने उनको भनाइ थियो । यो नेतृत्व गरेकैहरूको तजविजमा भर पर्ने पौडेलले बताए । केन्द्रमा समीकरण बदलिँदैमा प्रदेशमा पनि बदलिनुपर्छ भन्ने मनशायमा पार्टी नरहेको उनको भनाइ थियो ।

पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेलले अहिले निर्माण भएको गठबन्धनको सरकारमा विदेशी हस्तक्षेप भएको समेत बताएका छन् । देशभित्रका दल मात्रै नभएर विदेशी हस्तक्षेपबाट सरकार गठन भएको जिकिर गरेका हुन् ।

यस क्रममा उनले सुरुमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेसहितको गठबन्धनमा पद हत्याएर पछि धोका दिएको आरोप पनि लगाए । ‘मुलुकलाई स्थायित्व बनाएर जानुपर्छ भन्ने विषयमा सरकार बनाएका थियौँ’, उनले भने, ‘सम्बन्धबाट घर्किन थाल्नुभयो । धोका दिएर फर्किनुभयो ।’

अहिले प्रधानमन्त्री प्रचण्डलाई सरकार विस्तार गर्न पनि चर्को समस्या परिरहेको टिप्पणी उनले गरे । उनले देशमा विद्यमान समस्याबारे अहिलेको सत्ता गठबन्धनलाई जानकारी नै नभएको बताएका थिए । ‘यो सरकारको ध्यान जनताको समस्यातिर छैन’ पौडेलले भने ।

प्रकाशित मितिः   १३ चैत्र २०७९, सोमबार ०५:०१