कर्णालीको जनसंख्या १७ लाख नजिक

सुर्खेत: कर्णाली प्रदेशको जनसंख्या करिब १७ लाख पुगेको छ । राष्ट्रिय जनगणना २०७८ को नतिजाअनुसार प्रदेशको कूल जनसंख्या १६ लाख ८८ हजार चार सय १२ पुगेको हो । जसमा आठ लाख ६४ हजार ६ सय ५१ जना महिला छन् भने पुरुषको जनसंख्या आठ लाख २३ हजार सात सय ६१ छ ।

२०६८ मा कर्णालीको जनसंख्या १५ लाख ७० हजार चार सय १८ थियो । पछिल्लो दश वर्षमा एक लाख १७ हजार नौ सय ९४ ले वृद्धि भएको छ । अन्य प्रदेशको तुलनामा भने कर्णालीको जनसंख्या सबैभन्दा कम छ । देशको कूल जनसंख्याको ५.७९ प्रतिशत कर्णालीमा बसोबास गरिरहेका छन् । लैंगिक तथा यौनिक अल्पसंख्यकको संख्या कर्णालीमा ८१ जना भेटिएको छ । यस्तै अपाङ्गता भएका नागरिकको संख्या ५२ हजार ६ सय चार जना छन् । जसमा पुरुष २९ हजार दुई सय ४० र महिला २३ हजार तीन सय ६४ जना छन् ।

उमेरगत हिसाबले हेर्दा प्रदेशमा सबैभन्दा धेरै जनसंख्या २० वर्षमूनिको रहेको छ । जसमा सात लाख ५५ हजार ६ सय ३५ जना छन् भने २० देखि ४० वर्ष उमेर समूहको जनसंख्या पाँच लाख १५ हजार सात सय १२ रहेको छ । त्यसैगरी ४० देखि ७० वर्षसम्मको तीन लाख ६५ हजार तीन सय ५० तथा ७० भन्दा माथिको जनसंख्या ५१ हजार सात सय १५ छ ।

आठ जिल्लामा जनसंख्या वृद्धि

प्रदेशका १० मध्ये आठ जिल्लाको वार्षिक जनसंख्या वृद्धिदर बढ्दा दैलेख र सल्यानमा भने घट्दो देखिन्छ । जनसंख्या वृद्धिदर बढेका जिल्लाहरूमा सुर्खेत (१.६२), मुगु (१.४९), डोल्पा (१.४७), जाजरकोट (०.९६), हुम्ला (०.८२), जुम्ला (०.८०), रूकुम–पश्चिम (०.६८), कालीकोट (०.५७) छन् । जबकी दैलेखको (–०.३५) र सल्यानको (–०.१६) प्रतिशतले घटेको छ ।

देशका ७७ जिल्लामध्ये सबैभन्दा कम जनसंख्या भएका जिल्लामा कर्णालीका दुई जिल्ला पर्दछन् । डोल्पा तेस्रो र हुम्ला पाँचौ स्थानमा छन् । डोल्पामा ४२ हजार सात सय ७४ जना छन् भने हुल्लामा ५५ हजार तीन सय ९४ जनसंख्या रहेको छ । यसैगरी सबैभन्दा कम जनसंख्या भएका देशभरका पाँच नगरपालिकामध्ये दुई वटा कर्णालीका छन् । डोल्पाको ठूलीभेरी नगरपालिकामा सबैभन्दा कम दुई हजार तीन सय २७ जना छन् भने डोल्पाकै त्रिपुरासुन्दरी नगरपालिकामा दुई हजार ६ सय २२ जना मात्रै छन् ।

भौगोलिक रूपमा सबैभन्दा ठूलो रहेको कर्णाली जनघनत्वको हिसाबले भने सबैभन्दा कम भएको क्षेत्र हो । यहाँको जनघनत्व सात प्रदेशमध्ये सबैभन्दा कम छ । अर्थात् कर्णाली प्रदेशभित्र प्रति वर्गकिलोमिटरमा ६० जनाको बसोबास रहेको छ । जनघनत्व कम भएका जिल्लामा डोल्पा, हुम्ला र मुगु पर्दछन् । उक्त जिल्लाहरूको जनघनत्व क्रमशः ५, १० र १८ छ । प्रदेशमा जनघनत्व बढी भएका जिल्लामा सुर्खेत, दैलेख, सल्यान र रूकुम–पश्चिम हुन् ।

घरमूलीमा पुरुष नै बढी

कर्णालीमा परिवार संख्या तीन लाख ६६ हजार दुई सय ५५ रहेका छ । यो देशभरको कूल परिवार संख्याको पाँच दशमलव पाँच प्रतिशत हो । २०६८ मा दुई लाख ९८ हजार तीन सय ५९ थियो । जनसंख्यासँगै परिवारको संख्यामा पनि वृद्धि भएको छ ।

जनसंख्या वृद्धि भइरहँदा परिवारमा अक्सर बसोबास गर्ने सदस्य संख्या भने घटेको छ । २०६८ को जनगणनाअनुसार कर्णाली प्रदेशमा परिवार सदस्य संख्या ५.२६ जना थियो । दश वर्षमा उक्त संख्यामा कमी आएको देखिन्छ । यो जनगणनाअनुसार औसत परिवार सदस्य संख्या ४.६१ जना रहेको छ ।

परिवारको व्यवहार चलाउने र निर्णय प्रक्रियामा मुख्य भूमिकाका आधारमा समेत तथ्याङ्क संकलन गरिएको छ । जसअनुसार कर्णालीमा परिवारमूलीमा पुरुषकै संख्या बढी छ । दुई लाख ४८ हजार सात सय ८३ परिवारको प्रमुख भूमिकामा पुरुष छन् । यो प्रदेशको कूल परिवार संख्याको ६७.९३ प्रतिशत हो । महिला घरमूली भएको परिवार संख्या एक लाख १७ हजार चार सय ७२ छ । अर्थात् ३२.०७ प्रतिशत परिवारमा महिलाहरू प्रमुख भूमिकामा छन् । यो पुरुषको तुलनामा आधाभन्दा कम संख्या हो ।

घर मात्रै होइन जग्गाको स्वामित्व पनि महिलाहरूको निकै कम रहेको छ । तीन लाख ६६ हजार ३७ जना महिलाको नाममा जग्गा भएको देखिन्छ । त्यसमध्ये ६.२ प्रतिशत महिलाको नाममा मात्रै घर र जग्गा दुवै छ । ०.९ प्रतिशतको नाममा घर मात्रै छ भने ५.५ प्रतिशतको स्वामित्वमा जग्गा मात्रै छ । घरजग्गा दुवै नहुनेको संख्या ८४ प्रतिशत छ ।

ठूलो संख्या परदेशतिरै

अक्सर विदेशमै बस्नेहरूको जनसंख्या पनि ठूलो देखिएको छ । कर्णालीका ९४ हजार तीन सय २० जना अक्सर विदेशमा बसोबास गर्ने गरेको पाइएको हो । जसमा ७७ हजार दुई सय ७८ जना पुरुष छन् भने १७ हजार ४२ जना महिला छन् ।

परदेशतिरै बसोबास गर्ने जनसंख्या पनि पछिल्लो दशकमा वृद्धि भएको छ । २०६८ मा ६७ हजार पाँच सय ८२ जना परिवारभन्दा बाहिर बसोबास गरेको तथ्याङ्क थियो भने दश वर्षमा उक्त संख्या २६ हजार सात सय ३८ ले बढेको छ ।

शैक्षिक तथ्याङ्क

अन्य विभिन्न सूचकाङ्कमा पछि रहेको कर्णाली शैक्षिक तथ्याङ्कमा पनि कमजोर छ । यहाँको साक्षरता दर मधेश प्रदेशको भन्दा मात्रै माथि छ । कर्णालीको साक्षरता दर ७६.१ प्रतिशत छ, मधेसको ६३.५ प्रतिशत रहेको छ । कर्णालीका दश जिल्लामध्ये पनि हुम्लाको साक्षरता दर सबैभन्दा कम अर्थात् ६३.८४ प्रतिशत छ ।

देशको जनसंख्या तीन करोड पुगेन

नेपालको जनसंख्या दुई करोड ९१ लाख ६४ हजार पाँच सय ७८ पुगेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले शुक्रवार सार्वजनिक गरेको १२औँ जनगणना २०७८ को अन्तिम र विस्तृत प्रतिवेदनमा नेपालमा एक करोड ४२ लाख ५३ हजार पाँच सय ५१ अर्थात् (४८.९८ प्रतिशत) पुरूष र एक करोड ४९ लाख ११ हजार २७ अर्थात् (५१.०२ प्रतिशत) महिला छन् । अन्य लिङ्गीको संख्या दुई हजार नौ सय २८ छ । यो कूल जनसंख्याको ०.००१ प्रतिशत हो ।

प्रकाशित मितिः   ११ चैत्र २०७९, शनिबार ०९:३३