मिति नाघ्दा पनि पुलको पिल्लर समेत बनेन
भेरी नदीको चिसापानीस्थित बैरीताल पुलको निर्माण कार्य तीन वर्षदेखि अलपत्र परेको छ। जाजरकोट–डोल्पा सडकखण्डअन्तर्गत रुकुमको चिसापानी र जाजरकोटको डाँडागाउँ, छेप्काबीच भेरी नदीमा बन्ने सो पुल निर्माण कम्पनीको लापर्बाहीले अलपत्र परेको हो।
हालसम्म नदीको दुवै तर्फका पिल्लर समेतको निर्माण पूरा भएको छैन। पुलको पिल्लर आधा मात्र उठाएर काम रोकिएकै दुई वर्ष भएको छ। पुलको स्ल्यापलगायत निर्माण कार्य सुरुवात समेत हुन सकेको छैन।
तीन वर्षअघि आशिष निर्माण सेवा काठमाडौँले पुल निर्माणको जिम्मा लिएको थियो। आठ करोड रुपैयाँको लागतमा निर्माण हुने ६६ मिटर लामो पुलको निर्माण अवधि गत मङ्सिर पहिलो साता नै सकिएको सडक डिभिजन चौरजहारीले बताएको छ ।
सम्झौता भएको मितिले पुल निर्माणका लागि सम्बन्धित कम्पनीलाई ३६ महिना म्याद हुने डिभिजन कार्यालय चौरजहारीले बताएको छ। चालु आर्थिक वर्ष पुलको निर्माणसम्बन्धी कुनै पनि प्रगति नभएको पाइएको डिभिजन कार्यालयको भनाइ छ।
निर्माण कम्पनीले पुल निर्माणमा प्रयोग हुने उपकरण अन्यत्रै लगेर गएकाले निर्माण कार्य रोकेको शङ्का स्थानीयवासीले गरेका छन्। निर्माण व्यवसायीले हचुवाका भरमा टेन्डर हाल्ने र सम्झौता गर्ने अनि पेस्की लिएपछि काममा आलटाल गर्ने प्रवृत्ति मौलाएको स्थानीयवासीको आरोप छ।
सम्झौता अनुसारको म्याद सकिएको भए पनि पुलको पिलर समेत बन्न सकेको छैन। पुल निर्माण ढिलाइ हुँदा जाजरकोट–डोल्पा सडक, नलसिंहगाड जलविद्युत् लगायतका आयोजना निर्माणमा बाधा पुगेको छ।
समयमा पुल निर्माण नहुँदा स्थानीयवासीलाई आवतजावत र दैनिक उपभोग्य वस्तुको ओसारपसारमा समेत समस्या भएको लहँका गणेशप्रसाद सिंहले बताए। सो पुलको निर्माणमा गिट्टी, बालुवा, सिमेन्ट, छडलगायत कमसल सामग्रीको प्रयोग भएको सिंहले बताए।
उत्तर–दक्षिण भेरी करिडोरमा पर्ने सो पुलको निर्माण अलपत्र पर्नु त्यसैमा कमसल सामग्रीको प्रयोग हुनु सम्बन्धित पक्षको लापरबाही भएको उहाँले आरोप लगाउनुभयो।
व्यवसायीले पुल निर्माणमा कमसल सामग्री प्रयोग गरेकोे स्थानीय हरिबहादुर खत्रीको पनि सहमति रहेको छ। पुल निर्माणको ढिलाइले बारेकोट, दल्ली, लहँ, रग्दा भगवती र डोल्पाका लगायतका बासिन्दालाई आवतजावतमा समस्या भएको खत्रीले बताए।
यो पुल निर्माण नहुँदा जाजरकोट–डोल्पा सडक निर्माण गर्नका लागि ल्याइने सामग्री र दैनिक उपभोग्य सामग्रीसमेत ढुवानीमा समस्या भएको छ।
यस क्षेत्रमा निर्माण हुने भौतिक संरचनाको सामग्रीसमेत लान निकै समस्या भएको छ। पुल नबन्दा जाजरकोट–डोल्पा सडकभित्र निर्माण हुने सहायक तथा मुख्य दर्जनौँ पुल निर्माणमा पनि समस्या भएको छ। नेपालखबर/रासस
प्रकाशित मितिः २९ पुष २०७३, शुक्रबार ११:२१
साझा बिसौनी ।