सुर्खेतमा मिस नेपालको अडिसन

सुर्खेत: मिस नेपालको अडिसन सुर्खेतमा हुने भएको छ । सोमवार वीरेन्द्रनगरमा अडिसन हुन लागेको हो । शनिवार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरेर मिस नेपालको अन्तिम अडिसनमा सातै प्रदेशबाट प्रतिनिधित्व गराउने उद्देश्यले कर्णाली प्रदेशको अडिसन सुर्खेतमा गर्न लागिएको आयोजक द हिडेन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकरले जानकारी दिए ।

कार्यक्रममा मिस नेपाल प्रियंकारानी जोशी, मिस नेपाल अर्थ सरिशा श्रेष्ठ र मिस नेपाल इन्टरनेसनल न्यान्सी खड्काको उपस्थिति रहेको थियो । अडिसनका लागि आइतवार ओरिएन्टेसन र सोमवार अडिसन कार्यक्रम हुने जनाइएको छ । इटहरीदेखि सुरु भएको अडिसन वीरगञ्ज, पोखरा र नेपागञ्जमा सम्पन्न भइसकेको छ ।

मिस नेपाल प्रियंकारानी जोशीले आगामी मिस वल्र्डमा आफ्नो तयारीबारे अनुभव सुनाएकी थिइन् । ‘नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने राम्रो प्लेटफर्मको रूपमा मैले मिस नेपाललाई लिएको छु । मेरो उद्देश्य मिस वल्र्डमा जानु हो’ जोसीले भनिन् । मिस नेपाल–२०२३ मा सहभागी हुन आगामी चैच १ गतेसम्म आवेदन दिन पाइने छ । आगामी जेठ १३ गते ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा अन्तिम अडिसन हुनेछ ।

प्रकाशित मितिः   २८ फाल्गुन २०७९, आईतवार १२:५६