तीन जिल्लामा विद्युत विस्तार हुँदै
सुर्खेत: राष्ट्रिय प्रसारण लाइन विस्तार हुन नसकेका कर्णालीका तीन जिल्लामा चाँडै विद्युत पु¥याइने भएको छ । हुम्ला, मुगु र डोल्पामा जतिसक्दो छिटो विद्युत विस्तार गर्नेगरी काम अघि बढाइएको हो । नेपाल विद्युत प्राधिकरणका अनुसार दुई वटा जिल्लामा आधाभन्दा बढी काम सम्पन्न भइसकेको छ भने एउटा जिल्लामा सडक पूर्वाधार नपुग्दा समस्या देखिएको छ ।
डोल्पामा राष्ट्रिय प्रसारण लाइन विस्तारको ८० प्रतिशत काम सम्पन्न भइसकेको नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालयका प्रमुख शम्भु यादवले जानकारी दिए । उनका अनुसार २० प्रतिशत काम बाँकी रहेको छ । आगामी चैत्र महिनाभित्रै विद्युतको राष्ट्रिय प्रसारण लाइन जोड्ने गरी काम भइरहेको उनको भनाइ छ । ‘माघ महिनामै डोल्पालाई राष्ट्रिय प्रसारणमा जोड्ने योजना भएता पनि वर्षाले पोल बगाएपछि काम लम्बिएको हो’ यादवले भने ।
हाल जिल्लामा आवश्यक विद्युत पोल गाड्ने र तार विस्तारको काम धमाधम भइरहेको छ । सबै सामग्री डोल्पा पुगिसकेकाले चैत्रभित्रै प्रसारण लाइनमा जोडिने उनको भनाइ छ । राष्ट्रिय प्रसारण लाइन विस्तार भएमा डोल्पाका नागरिक विद्युतको पहुँचमा पुग्नेछ ।
यस्तै अर्को हिमाली जिल्ला मुुगुमा विद्युतको राष्ट्रिय प्रसारण लाइन विस्तारको ५० प्रतिशत काम सम्पन्न भएको छ । सामग्री ढुुवानीमा सहज भएकाले काम तीव्र गतिमा भइरहेको बताइएको छ । जिल्लामा पहिरोले बिगारेको ठाउँमा मर्मत गर्ने, पोल गाड्ने र तार विस्तारको काम भइरहेको छ । प्राधिकरणका प्रादेशीक प्रमुख यादवले मुुगुमा आगामी असार मसान्तसम्म विद्युतको राष्ट्रिय प्रसारण लाइन जोडिने गरी काम भइरहेको जनाए । उनका अनुुसार सामग्री ढुुवानीमा सहजता भएसँगै कामले गति पाएको छ ।
राष्ट्रिय सडक सञ्जाल नजोडिएका कारण हुम्लामा भने विद्युत विस्तारमा पनि कठिनाइ भएको छ । सडक पुगेसँगै विद्युतको राष्ट्रिय प्रसारण लाइन विस्तारको काम अघि बढ्ने प्राधिकरणले जनाएको छ । प्रदेश प्रमुख यादवले भने, ‘सडक विस्तार भएसँगै हुम्लामा विद्युुतीकरणको काम सुरु गरिने छ ।’ नेपाली सेनाले सडक निर्माणको काम गरिरहेको छ । कर्णाली प्रदेशका दश जिल्लामध्ये हुम्ला, मुगु र डोल्पाबाहेकका सात जिल्लामा भने विद्युतको राष्ट्रिय प्रसारण लाइन पुगेको छ ।
३३ केभी विस्तार तीव्र
सुदूरपश्चिमको कैलालीबाट सुर्खेत ल्याउन लागिएको ३३ केभीए क्षमताको प्रसारण लाइन विस्तारको काम तीव्र रूपमा अघि बढाइएको छ । विद्युत विस्तारसँगै पञ्चपुरी नगरपालिका वडा नम्बर १० र ११ वडाको एक सय ५० घरधुरीमा बत्ती बलेको छ । अन्य वडामा पनि लाइन विस्तार र तार तान्ने काम धमाधम भइरहेको विद्युत वितरण केन्द्र सुर्खेतका प्रमुख युवाराज रावलले जानकारी दिए ।
चौकुने र पञ्चपुुरी नगरपालिकाका सबै वडामा विद्युत पुु¥याउने लक्ष्यका साथ काम भइरहेको हो । हाल पोल गाड्ने, लाइन विस्तार र मिटर जडानको काम भइरहेको उनको भनाइ छ । पञ्चपुरी नगरपालिकाको वडा नम्बर ५, ६, ७ र १२ मा काम सञ्चालन भइरहेको छ । उनले भने, ‘अहिलेलाई पश्चिम सुर्खेतका पञ्चपुरी नगरपालिका र चौकुुने गाउँपालिकालाई प्राथमिकतामा राखेर विद्युुत विस्तार भइरहेको छ ।’
कैलालीको चिसापानी–सोल्टा हुँदै सुर्खेतको बाबियाचौरसम्म प्रसारण लाइन आइपुुगेको छ । प्रसारण लाइनलाई बड्डिचौर–बाङगेसिमल हुँदै वीरेन्द्रनगरस्थित बुदबुदी सब–स्टेशनमा जोडिने जनाइएको छ । कोहलपुर–सुर्खेत ३३ केभीएले माग धान्न नसकेपछि कैलालीबाट लाइन विस्तार गरिएको हो ।
अघि बढ्दै १३२ केभी लाइन
कोहलपुर–सुर्खेत १३२ केभीए विद्युत प्रसारण लाइन विस्तार कार्य पनि भइरहेको छ । अहिले जंगल क्षेत्रमा रुख कटानको काम भइरहेको छ । लाइन विस्तारका क्रममा रूख नपर्ने क्षेत्रमा टावर निर्माणको काम भइरहेको प्राधिकरण सुर्खेत शाखाले जनाएको छ । विद्युत प्रसारण लाइन आयोजनाको हालसम्म ५० प्रतिशत प्रगति भएको छ । सुर्खेतसहित कर्णालीका अन्य जिल्लाहरूको विद्युत समस्या हल गर्न एकमात्र विकल्प ठानिएको उक्त प्रसारण लाइन विस्तारको काम धमाधम भइरहेको हो । लाइन विस्तार कार्यको सुरुवात २०७७ असारदेखि गरिएको थियो । लाइन विस्तारका लागि ४० वटा टावर निर्माण गरिएको आयोजना प्रमुख रविकुमार चौधरीले जानकारी दिए । उनका अनुुसार काममा अवरोध नभए आगामी वर्षसम्म काम सकिनेछ ।
कर्णाली करिडोर प्रसारण लाइनमा सम्झौता
कर्णाली करिडोर चार सय केभी प्रसारण लाइन निर्माण गर्न सम्झौता भएको छ । राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले भारतीय कम्पनी कल्पतरु इन्डिया पावर ट्रान्समिसन लिमिटेडसँग सम्झौता गरेको हो । प्रसारण लाइनको लगानीका लागि अर्थ मन्त्रालयले स्रोत सुनिश्चित गरेपछि कम्पनीले भारतीय कम्पनीसँग सम्झौता गरेको हो ।
कर्णाली करिडोर प्रसारण लाइन बनाउने जिम्मा भारतीय कम्पनीलाई दिइएको राष्ट्रिय प्रसारण ग्रिड कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नेत्रप्रसाद ज्ञवालीले जानकारी दिए । कम्पनीले ४८ महिनामा काम सक्ने गरी सम्झौता गरिएको उनको भनाइ छ । ‘बोलपत्र आह्वानमा सबैभन्दा कम कबोलका आधारमा कर्णाली करिडोर प्रसारण लाइन बनाउने सम्झौता भारतको कल्पतरुसँग भएको छ,’ ज्ञवालीले भने, ‘सम्झौताअनुसार चार वर्षमा कम्पनीले काम सक्नुपर्छ ।’ प्रसारण लाइन निर्माणका लागि कल्पतरुसँग करिब आठ अर्ब रूपैयाँमा सम्झौता भएको उनले बताए । यसमा प्रसारण लाइन मात्रै तयार हुनेछ ।
कल्पतरुले करिब ९५ किमि लामो प्रसारण बनाउनेछ । उक्त प्रसारण लाइन कालीकोटको मान्मबाट सुरु भइ अछाम, सुर्खेत हुँदै दोधारासम्म पुग्छ । निर्माणपछि यसले २२ सय मेगावाट बिजुली प्रसारण गर्न सक्छ । कर्णाली करिडोर प्रसारण लाइन निर्माणपछि यस क्षेत्रमा उत्पादन हुने बिजुली प्रसारणमा सहयोग पुग्ने कम्पनीले जनाएको छ । साथै देशमा गुणस्तरीय बिजुली खपत तथा निर्यातमा सहयोग पुग्ने कम्पनीको भनाइ छ । जलविद्युत आयोजना निर्माणपछि त्यसलाई सबस्टेसनसम्म पु¥याउन प्रसारणलाइन आवश्यक हुन्छ ।
प्रकाशित मितिः २२ फाल्गुन २०७९, सोमबार ०५:०५
साझा बिसौनी ।