साइबर अपराधका घटनामा बढोत्तरी

सामाजिक सञ्जालमा अश्लील शब्द पोष्ट गरी चरित्र हत्या गर्नेदेखि अनलाइन ठगीका उजुरीमा वृद्धि

सुर्खेत: कर्णाली प्रदेशमा प्रविधिको बढ्दो प्रयोगसँगै साइबर अपराधका घटनामा पनि वृद्धि भएको पाइएको छ । पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग गरी साइबर अपराध गर्नेहरूको संख्या बढेको हो । सामाजिक सञ्जाल फेसबुक, ट्वीटर, युटुब, म्यासेन्जर, अनलाइन, इमेल, भाइबर र ह्वाट्सएपमार्फत साइबर अपराधका घटना हुने गरेको प्रहरीले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालयको विवरण अनुसार कर्णालीमा बर्सेनि साइबर अपराधका घटना बढ्दो क्रममा देखिन्छन् । पछिल्लो साढे तीन वर्षको अवधिमा प्रदेशमा साइबर अपराधका एक सय ९९ वटा उजुरी परेका छन् । सामाजिक सञ्जालमा अश्लील शब्द पोष्ट गरी चरित्र हत्या गर्नेदेखि अनलाइन ठगी गर्ने घटनाहरूमा वृद्धि भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । कर्णालीमा आर्थिक वर्ष २०७६/०७७ मा साइबर अपराधसम्बन्धी १५ वटा उजुरी परेका थिए । त्यसको तुलनामा पछिल्लो आर्थिक वर्ष २०७७/०७८ मा झन्डै तीन गुणाले उजुरी बढे । उक्त आर्थिक वर्षमा ४१ वटा साइबर अपराधसम्बन्धी उजुरी परेका थिए । आर्थिक वर्ष २०७८/०७९ मा साइबर अपराधका एक सय उजुरी परेका थिए भने चालु आर्थिक वर्ष २०७९/०८० को यो अवधिमा ४३ वटा साइबर अपराधसम्बन्धीका उजुरी परेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी माधवप्रसाद श्रेष्ठले कर्णाली प्रदेशमा पछिल्ला वर्षहरूमा साइबरको माध्यमबाट हुने अपराधमा बढोत्तरी भएको जनाए । उनी भन्छन्, ‘प्रदेशमा बर्सेनि साइबर अपराधका घटना बढ्दै जानुले चिन्तित् तुल्याएको छ, यसको नियन्त्रण तथा रोकथामका लागि प्रहरीले जनचेतनामूक कार्यक्रमदेखि आपराधिक कार्यमा संलग्नलाई कानुनी दायरामा ल्याएर कारबाही प्रक्रिया अघि बढाउने गरेको छ ।’

बढ्दो प्रविधिको प्रयोगसँगै साइबर अपराधका घटना पनि अस्वाभाविक तरिकाले वृद्धि भइरहेका हुन् । कम्प्युटर, मोबाइल आदिजस्ता विद्युतीय उपकरणको नेटवर्कका माध्यमबाट हुने आपराधिक कार्यलाई साइबर अपराध भनिन्छ । नक्कली फेसबुक बनाएर गालिगलौज गर्ने, चरित्र हत्या गर्ने, धम्की दिनेलगायतका गतिविधि हुने गरेको प्रहरीको भनाइ छ । कर्णाली प्रदेशमा मुख्य गरी फेसबुक आइडी ह्याक गर्ने, अश्लील शब्दहरू पोष्ट गरी चरित्र हत्या गर्ने, भ्रामक समाचारहरू पोष्ट गर्ने र अनलाइन ठगी गरेको प्रकृतिका धेरै उजुरी पर्ने गरेका छन् । प्रहरीका अनुसार फेसबुकमार्फत अश्लील शब्द पोष्ट गरेर चरित्र हत्या गर्नेक्रम निकै धेरै रहेको छ । साढे तीन वर्षको अवधिमा एक सय ९९ उजुरी परेकोमा त्यसमध्ये एक सय ३० उजुरी फेसबुकमार्फत अश्लील शब्द पोष्ट गरेर चरित्र हत्या गरिएकोसँग सम्बन्धित रहेका छन् । यस्ता घटनाबाट सबैभन्दा बढी महिलाहरू पीडित बनेको प्रहरीको तथ्याङ्कले देखाएको छ । दिनप्रति दिन बढिरहेको साइबर अपराधको यो तथ्याङ्कले प्रविधिको सदुपयोगभन्दा दुरूपयोग बढी भइरहेको देखिएको एसएसपी श्रेष्ठले बताउँछन् ।

कर्णालीका अन्य जिल्लाको तुलनामा साइबर अपराधसम्बन्धीका धेरै उजुरी सुर्खेतका छन् । पछिल्लो साढे तीन वर्षको तथ्याङ्क हेर्ने हो भने कर्णालीमा एक सय २२ अर्थात् ६१ प्रतिशत उजुरी सुर्खेतका रहेको पाइएको छ । नेपालमा साइबर अपराधको कानुन नभएकाले सामाजिक सञ्जाललगायतबाट पीडित मुद्दालाई विद्युतीय कारोबार ऐनअनुसार कारबाही गर्ने गरिएको छ । उक्त ऐनको दफा ४७ मा कम्प्युटर, इन्टरनेटलगायतका विद्युतीय सञ्चार माध्यमहरूमा प्रचलित कानुनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएको छ । सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री, कसैप्रति घृणा र द्वेष फैलाउने सामग्री प्रकाशन तथा प्रदर्शन गर्न बन्देज छ । त्यस्तै, विभिन्न जातजाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरू प्रकाशन वा प्रदर्शन गर्ने, महिलालाई जिस्क्याउने, हैरानी गर्ने, अपमान गर्ने वा यस्तै अन्य कुनै किसिमको अमर्यादित कार्य गर्ने वा गर्न लगाउने व्यक्तिलाई एक लाख रूपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ । सोही दफाको उपदफा (१) बमोजिमको कसुर पटक–पटक गरेमा त्यस्तो कसुर वापत अघिल्लो पटक भएको सजायको भन्दा बढी सजाय हुने उल्लेख छ ।

प्रहरीका अनुसार साइबर अपराधसम्बन्धी उजुरी अन्य प्रदेशको तुलनामा कर्णालीमा भने कम छन् । ‘पछिल्लो समय फेसबुक ह्याक भएको, अश्लील शब्द पोष्ट गरेको भनेर उजुरी आउने क्रम बढेको छ,’ एसएसपी श्रेष्ठ भन्छन्, ‘नक्कली आइडी बनाएर चरित्र हत्या गरेको, धम्की दिएकोजस्ता उजुरीको संख्या पनि अधिक छ ।’ उनले साइबर अपराधसँग सम्बन्धी उजुरी प्रहरी प्रधान कार्यालय अन्तरगत साइबर ब्यूरो मै दर्ता हुने गरेको बताए । प्रविधि, जनशक्ति र अन्य स्रोत साधनको अभावले साइबर ब्यूरोबाहेक प्रहरीका अन्य निकायले यो मुद्दा दर्ता गर्ने गरेका छैनन् । साइबर अपराधको अनुसन्धानका लागि विशेष प्रविधि र दक्ष जनशक्ति आवश्यक पर्छ । जुन सबै जिल्लामा उपलब्ध छैन । जिल्लाबाटै उजुरी लिने र त्यसको अनुसन्धानका लागि साइबर ब्युरो मै पठाउने गरिएको हो । उजुरीकर्ता अनुसन्धानका क्रममा पटक–पटक काठमाडौं जानुपर्ने भएकाले पीडितलाई थप समस्या हुने गरेको बताइएको छ ।

प्रकाशित मितिः   २१ माघ २०७९, शनिबार ०५:०५