असुरक्षित गर्भपतन बढ्दो
सुर्खेत: कर्णाली प्रदेशमा २० वर्षभन्दा कम उमेरमा गर्भपतन गराउने किशोरीहरूको संख्या भयावह देखिएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयको तथ्याङ्कअनुसार गर्भपतन गराउने किशोरीहरूको संख्यामा तुलनात्मक रूपमा वृद्धि भएको हो । कर्णालीमा २० वर्षमुनी उमेरका २१ प्रतिशतले असुरक्षित गर्भपतन गराउने गरेको पाइएको छ । गत वर्ष नेपाल सरकारले सूचिकृत गरेको स्वास्थ्य संस्था र सूचिकृत स्वास्थ्यकर्मीसँग कर्णालीमा चार हजार आठ सय ६० जनाले सुरक्षित रूपमा गर्भपतन गराएका थिए । प्रदेशभर अझै पनि ५७ प्रतिशत महिलाले असुरक्षित रूपमा गर्भपतन गराउने गरेको पाइएको निर्देशनालयले जनाएको छ ।
२० वर्षभन्दा कम उमेरका महिलाहरूले गर्भपतन गराउने दर घटाउनको लागि किशोर– किशोरीहरूलाई परिवार नियोजनका साधनहरूको बारेमा जानकारी गराउन आवश्यक रहेको स्वास्थ्य सेवा निर्देशनालयका निमित्त निर्देशक दिपा भट्टराई बताउँछिन् । उनले भनिन्, ‘२० वर्ष नपुग्दै विवाह गर्नु र परिवार नियोजनका साधनको बारेमा पूर्ण जानकारी नहुँदा असुरक्षित गर्भपतन गराउनेको अधिक देखिने गरेको छ । वीपी कोइराला स्वास्थ्य प्रतिष्ठानका प्राध्यापक श्याम लम्सालले जनचेनताको अभावले नै असुरक्षित गर्भपतनको दर बढेको बताए । उनले नेपालमा १९ प्रतिशत जन्म अनिच्छित गर्भधारणबाट हुने गरेको जनाए । उनी भन्छन्, ‘अहिले पनि २५ प्रतिशतलाई सुरक्षित गर्भपतन सेवाबारे जानकारी नै छैन ।’ असुरक्षित गर्भपतनका कारण झन्डै सात प्रतिशत मातृ मृत्युदर रहेको भन्दै उनले नेपालमा अनुमानित वार्षिक १२ लाख महिलाहरू गर्भवती हुनेगरेकोमा त्यसमध्ये पाँच लाख ३९ हजार अनिच्छित गर्भवती हुने गरेको बताए । त्यसमध्ये एक लाख २८ हजार अनियोजित जन्म हुन्छ । देशभर हरेक वर्ष सरदर साढे तीन लाख गर्भपतन हुने गरेको लम्सालको भनाइ छ । करिब ६१ हजार गर्भ आफैँ खेर जाने गरेको स्वास्थ्य मन्त्रालयको विवरण छ । मन्त्रालयका अनुसार एक चौथाई अनियोजित जन्म हुने र दुुई तिहाइ गर्भपतन हुने गरेको छ । ५२ प्रतिशत महिलाले गर्भपतन पश्चात् परिवार नियोजन सेवाबारे परामर्श पाउने गरेको जनाइएको छ ।
अधिकांश महिलाहरूले सूचिकृत स्वास्थ्य संस्थामा नगइ औषधी पसलबाट औषधी किनेर खाने गरेकोले स्वास्थ्य समस्या देखिने गरेको निर्देशनालयका निमित्त निर्देशक भट्टराईले बताइन् । गर्भपतन गराउनु पर्ने अवस्था आएमा सूचिकृत स्वास्थ्य संस्था र सूचिकृत स्वास्थ्यकर्मी भएको स्वास्थ्य संस्थामा गएर मात्र सुरक्षित रूपमा गर्भपतन गराउनसमेत उनले आग्रह गरिन् । २० वर्षभन्दा कम उमेरका महिलाहरूले गराएको गर्भपतनमा अधिकांश विवाहित महिलाहरू नै छन् । कर्णालीमा बालविवाहको प्रचलनका कारण पनि किशोरी उमेरमै आमा बन्नेहरूको संख्या ठूलो छ । असुरक्षित रूपमा गरिने गर्भपतनबाट जोगिन महिलाहरूमा जनचेतना वृद्धिका लागि जोड दिइनुपर्ने सुरक्षित गर्भपतनको क्षेत्र वियोण्ड बेइजिङ्ग कमिटीमा कार्यरत मधुरानी ढकाल बताउँछिन् । सुरक्षित गर्भपतन सुदृढीकरण परियोजना अन्तर्गत वियोण्ड बेइजिङ्ग कमिटीले सुरक्षित गर्भपतनका लागि चेतनामूलक कार्यक्रम र स्वास्थ्य संस्थाहरूलाई सहयोग गर्दै आइरहेको छ । सही सूचना प्रवाह नै असुरक्षित गर्भपतनको न्यूनीकरणको उत्तम उपाय भएको ढकालको भनाइ छ ।
प्रकाशित मितिः १३ पुष २०७९, बुधबार ०५:०१
साझा बिसौनी ।