शीर्ष नेताको चुनावी दौडाह

विकासका एजेन्डाभन्दा अर्काको आलोचना बढी

सुर्खेत: पछिल्ला केही दिनयता कर्णालीका जिल्लाहरूमा दैनिकजसो राजनीतिक पार्टीका चुनावी आमसभाहरू भइरहेका छन् । खासगरी सत्तारुढ गठबन्धन र नेकपा ‐एमाले) ले जनसभाहरू गरिरहेका छन् । ती चुनावी सभालाई प्रमुख राजनीतिक दलका शीर्ष नेतृत्वले सम्बोधन गर्दै आएका छन् । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी भइरहेका जनसभामा शीर्ष नेताले कर्णालीको अवस्था सुधार्ने एजेन्डाभन्दा एक अर्को नेतालाई आरोप–प्रत्यारोप गर्नमै समय खर्चिने गरेका छन् । आफ्नो दलको घोषणा–पत्र र आगामी योजना सुनाएर जनमत बटुल्नुको साटो नेताहरू अरुको आलोचनामा बढी उत्रिएका हुन् ।

आइतवार नेकपा ‐एमाले) सुर्खेतले वीरेन्द्रनगरमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न आइपुगेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्ना एजेन्डाभन्दा सत्तारुढ गठबन्धन दलहरूको कटाक्षमा धेरै समय खर्चिए । झन्डै ३५ मिनेट बोलेका ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा ‐माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा ‐एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको चर्को आलोचना गरे । उनले गठबन्धनको आयु यसै चुनावसम्म मात्रै रहेको बताए । ‘म्यादी गठबन्धनको आयु मंसिर ४ सम्म सकिन्छ,’ उनले भने, ‘यिनीहरूबीचको गठजोड स्वार्थका लागि हो, जनताले अब बलियो राष्ट्रिय शक्ति एमालेलाई रोज्नेछन् ।’

ओलीले मंसिर ४ पछि नेकपा ‐एमाले) को नेतृत्वमा सरकार बन्ने जिकिर गर्दै देउवा र प्रचण्डलाई प्रतिपक्षी दलको नेताको लागि तयारी गर्न सुझाए । उनले भने, ‘देउवा र प्रचण्ड दुई भाइमध्ये प्रतिपक्षी दलको नेता को हुने हो ?’ माओवादी केन्द्र र उक्त पार्टीका अध्यक्ष प्रचण्डको कडा आलोचना गरेका उनले प्रचण्ड जता लाग्छ त्यतै बहुमत आउछ भन्ने दिन सकिएको ठोकुवा गरे । ‘उनको बिचौलिया राजनीति अब सकियो,’ ओलीले भने । उनले आइतवार वीरेन्द्रनगरसहित एकैदिन कर्णाली प्रदेशका तीन जिल्लाका चुनावी सभालाई सम्बोधन गरे । नेता ओलीले सुर्खेत आउनुअघि कालीकोट र दैलेखका आमसभामा पनि सम्बोधन गरेका थिए । तर, कुनै पनि सभामा उनले कर्णालीको विकासका मुद्दाहरू उठाएनन् । पार्टीका समग्र नीति र कार्यक्रमबारे फाटफुट बोलेका ओलीले विकासको ग्यारेन्टी एमालेले लिने बताए । चुनावका लागि बनेको लोकतान्त्रिक वाम–गठबन्धनको विरोधमा नै उनी धेरै केन्द्रित देखिएका थिए । ‘पाँच पटक प्रधानमन्त्री भएर के गर्नुभयो शेरबहादुर जी, एउटा गतिलो काम गरेको भए देखाउनुस्,’ उनले भने ।

निर्वाचन आयोगको कार्यतालिका अनुसार यतिबेला मंसिर ४ गते हुने निर्वाचनका लागि दोस्रो चरणको चुनावी प्रसारप्रसार चलिरहेको छ । पहिलो चरणमा घरदैलो सकेका राजनीतिक दलहरू अहिले चुनावी सभामा व्यस्त छन् । समयको चापका कारण शीर्ष नेताहरू एकैदिन फरक–फरक जिल्लाका तीन–चार वटा सभामा पनि सहभागी बन्ने गरेका छन् । सत्तारुढ गठबन्धन एवम् चुनावी लोकतान्त्रिक–वाम गठबन्धनका शीर्ष नेताहरूको पनि चुनावी सभामा भाग लिन दैनिक दौडधुप छ । कार्तिक २२ गते माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले जुम्ला, दैलेख र सुर्खेतमा भएका संयुक्त चुनावी सभालाई सम्बोधन गरेका थिए । उनीहरूले पनि मतदातालाई विकास र समृद्धिका एजेन्डा सुनाउनुभन्दा बढी एमाले अध्यक्ष ओलीको आलोचना गर्ने गरेका छन् । हुम्ला, जुम्ला, दैलेख र सुर्खेतमा भएका सभामा बोल्दै कांग्रेस उपसभापति खड्काले अहिलेको गठबन्धन केपी शर्मा ओलीको प्रतिगमन कदमका विरुद्ध भएको बताएका थिए । ती सबै चुनावी सभालाई सम्बोधन गरेका प्रचण्डले पनि ओलीकै बारेमा धेरै आलोचना गरेर बिताए । शीर्ष नेतृत्व जिल्ला आउँदा आफ्नो गाउँठाउँको समस्या र विकास निर्माणका आगामी एजेन्डा सुन्न पाइने प्रतिक्षामा आम मतदाता रहेपनि नेताहरू सत्ता राजनीतिको खेलकै सन्दर्भलाई सम्झाउनमा व्यस्त देखिएका हुन् । गठबन्धनका शीर्ष नेतृत्वले मुलुकको विकास र संविधानको रक्षाका लागि सत्ता र निर्वाचनमा पनि मिलेर जानुपरेको दाबी गर्दै आएका छन् ।

निर्वाचन आयोगले राजनीतिक दलहरूलाई मंसिर २ गतेसम्म मात्र निर्वाचनको प्रचारप्रसार गर्न पाइने भनेको छ । यसपटक मौन अवधि आचारसंहिताबाट हटाइए पनि मंसिर २ देखि ४ गतेसम्म प्रचारप्रसार गर्न भने पाइने छैन । निर्वाचन आउन अब एकसाता मात्रै बाँकी रहेका बेला राजनीतिक दल तथा उम्मेदवारहरूलाई प्रचारप्रसारमा भ्याइनभ्याइ छ । उम्मेदवारहरू चुनावी परिणाम आफ्नो पक्षमा पार्न प्रतिबद्धता लिएर मतदाता रिझाउन लागेका छन् । सहरदेखि ग्रामीण क्षेत्रसम्म चुनावी चहलपहल निकै बढेको छ । अहिले घरदैलोसहित दल र उम्मेदवारहरू आमसभा, कोणसभालगायतका कार्यक्रमहरू गरिरहेका छन् । यसले सबैतिर चुनावी माहोल ल्याएको छ । कर्णाली प्रदेशमा प्रतिनिधिसभाका १२ र प्रदेशसभाका २४ वटा निर्वाचन क्षेत्र छन् । यी निर्वाचन क्षेत्र अन्तर्गतका गाउँगाउँमा चुनावी अभियानहरू तीव्र पारिएको छ । शीर्ष दलका नेताहरू देश दौडाहमा हुँदा पनि चुनावी रौनक बढेको छ । विगतका निर्वाचनहरूमा प्राप्त जनमत हेर्दा कर्णाली प्रदेशमा मुख्यगरी सत्ता गठबन्धन र नेकपा ‐एमाले) बीच मुख्य चुनावी प्रतिस्पर्धा हुने देखिएको छ ।

प्रकाशित मितिः   २८ कार्तिक २०७९, सोमबार ०८:५४