दुध र पानीमा कैफियत
सुर्खेत: गुणस्तरहीन दुग्धजन्य पदार्थ र पानी बिक्री गर्ने गरिएको पाइएको छ । बजारमा तोकिएको मापदण्ड विपरित दुध तथा दुग्धजन्य पदार्थ र पानी बिक्री गरेको भेटिने गरेको छ । पछिल्लो समय यी वस्तुमा गुणस्तर नभएको गुनासासमेत बढेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले जनाएको छ । कार्यालय प्रमुख भेषबहादुर थापाले दुध, पानी र तेलमा गुणस्तर नभएको उपभोक्ताहरूले गुनासो गर्ने गरेको बताए । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले चालु आर्थिक वर्षको तीन महिनामा बजार अनुगमनका क्रममा दुध तथा दुग्धजन्य पदार्थ र तेलमा मिसावट भएको भेटाएको थियो । कार्यालयका अनुसार मिसावट गरिएका एवम् विभिन्न कैफियत भेटिएका त्यस्ता अखाद्य वस्तुहरू नष्ट गरिएको छ । २१ हजार नौ सय १० रूपैयाँ बराबरको दुध तथा दुग्धजन्य पदार्थ नष्ट गरिएको कार्यालयले जनाएको छ ।
सुर्खेतमा ठूला डेरीले लेवलिङ र प्याकेजिङ गरेर दुध बिक्री गरे पनि साना डेरीले भने खुल्ला रूपमा नै बिक्री गर्ने गरेका छन् । पछिल्लो समय दुध, पिउने पानी र तेलमा मिसावट बढी गर्ने गरेको पाइएको छ । सरकारले दुध तथा दुग्ध पदार्थको स्वच्छता एवम् गुणस्तर निर्देशिका २०७५ जारी गरेपनि त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । कार्यालयले अघिल्लो गत आर्थिक वर्षमा तोकिएको मापदण्ड पूरा नगर्ने १६ वटा डेरी उद्योगलाई कारबाही गरेको थियो । चालु आर्थिक वर्षको यो अवधिमा पाँच वटा डेरीमा अनुगमन गरी कमीकमजोरी सुधार्न सचेत गराइएको थापाले बताए । कार्यालयले खाद्य बजार तथा उद्योग, दाना उद्योग, होटल, रेष्टुरेन्ट, डेरी, तेल र पानी उद्योगमा नियमित अनुगमन भइरहेको जनाएको छ ।
प्रकाशित मितिः १८ कार्तिक २०७९, शुक्रबार ०८:५४
साझा बिसौनी ।