बागी उम्मेदवार फकाउँदै गठबन्धन
सुर्खेत: चुनावी तालमेल गरेर संयुक्त प्रचारमा होमिएका सत्तारुढ गठबन्धनका नेताहरूले मंसिर ४ मा हुने संसदीय निर्वाचनमा गठबन्धनले जिते अवसका ढोका खुल्ने दाबी गरेका छन् । वीरेन्द्रनगरमा आइतवार आयोजित प्रदेशस्तरीय पाँच दलीय गठबन्धनको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेताहरूले यस्तो आश्वासन बाँडेका हुन् । प्रधामन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले टिकट नपाएका नेताले चुनावमा असहयोग गर्दै हिँड्न नहुने भन्दै गठबन्धनले जिते अवसरका लागि धेरै स्थानहरू रहेको आश्वासन दिए । रुष्ट आकांक्षीलाई लक्षित गर्दै देउवाले भने, ‘टिकट पाउँदैमा जितिँदैन, पहिले जनताको मन जित्नुस् ।’ देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधानलाई कटौरामा फालेको आरोपसमेत लगाए । उनले आफूहरूले संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि चुनावी गठबन्धन गर्नुपरेको तर्क गरे ।
नेकपा ‐माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल ‘दाहाल’ प्रचण्डले गठबन्धनको पक्षमा जनमत बलियो भएको दाबी गर्दै असन्तुष्ट र बागी उम्मेदवारहरूलाई फकाउने प्रयास गरे । ‘गठबन्धनले कर्णालीमा सत प्रतिशत निर्वाचन क्षेत्रमा जित्छ,’ उनले भने, ‘त्यसका लागि हामी एकताबद्ध भएर चुनावी अभियानमा होमिनुपर्छ ।’ गठबन्धनमा आत्मघाती कदम चाले आफैलाई घाटा हुने उनको भनाइ थियो । सोही भेलालाई सम्बोधन गर्दै नेकपा ‐एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संघीयतालाई बलियो बनाउन गठबन्धन गरिएको दाबी गरे । त्यस्तै, नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले लोकतन्त्रको रक्षा, दिगो शान्ति र राष्ट्रियताको लागि गठबन्धन गरिएको प्रदेशस्तरीय भेलामा बताए । भेलालाई सम्बोधन गरेका गठबन्धन दलका सबै शीर्ष नेताले एकताबद्ध भएर चुनावी अभियानमा लाग्न अगुवा नेता कार्यकर्तालाई आग्रह गरेका थिए । सत्तारुढ गठबन्धनको निर्णयविपरीत सुर्खेतलगायत कर्णालीका कतिपय क्षेत्रमा बागी उम्मेदवारी परेको छ । गठबन्धन दलभित्र असमझदारी देखिएपछि शीर्ष नेतृत्वले असन्तुष्टहरूलाई फकाउने प्रयास गरेका छन् ।
प्रकाशित मितिः ७ कार्तिक २०७९, सोमबार ०८:३०
साझा बिसौनी ।