चुनावी अंकगणितः डोल्पा

धनबहादुरलाई चुनौती बदमी कि अंगद ?

सुर्खेत: २०७४ मा डोल्पाका आठमध्ये चार स्थानीय तह नेकपा (एमाले) ले जित्दा दुई वटा नेकपा (माओवादी केन्द्र) ले जितेको थियो भने दुई वटा पालिकामा स्वतन्त्र उम्मेदवारले बाजी मारेका थिए ।

सोही वर्ष भएको निर्वाचनमार्फत एमालेका धनबहादुर बुढा प्रतिनिधि सभा सदस्य चुनिए । माओवादीसहितको समर्थनमा उम्मेदवार बनेका बुढाले ११ हजार सात सय ६१ मत पाउँदा निकटम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अंगदकुमार बुढाले तीन हजार एक सय ६७ मत पाएका थिए ।

त्यसैगरी पहिलो पटक भएको प्रदेश सभा निर्वाचनमा पनि कांग्रेसलाई शून्य बनाउँदै जिल्लाका दुवै निर्वाचन क्षेत्रमा एमाले र माओवादीको गठबन्धनका उम्मेदवार विजयी भए ।

पछिल्लो दुई दशकयताका हरेक निर्वाचनमा डोल्पाबाट कम्युनिष्ट पार्टीका उम्मेदवारहरू नै निर्वाचित हुँदै आएका छन् । २०४८ मा क्याबु बुढा निर्वाचित भएयता कांग्रेसले डोल्पामा कुनै चुनाव जित्न सकेको छैन । २०५१ मा स्वतन्त्र उम्मेदवार मोतिप्रसाद पहाडी निर्वाचित भएका थिए । २०६५ मा एमालेका नरबहादुर बुढाथोकी विजयी भए भने २०६४ को पहिलो संविधानसभा निर्वाचनमा माओवादीका रामबहादुर बोहोराले बाजी मारे । त्यसयता भने लगातार दुई पटक डोल्पाले धनबहादुर बुढालाई रोजेको छ । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा एमालेबाट जितेका बुढा २०७४ मा पनि पुनः निर्वाचित भएका हुन् । यद्यपि, अहिले उनी एमाले छोडेर नेकपा (एकीकृत समाजवादी) मा छन् ।

दोहोरिएलान् या फेरिएलान् ?

प्रतिनिधिसभाको पाँच वर्षे कार्यकाल सकिएको छ । आगामी मंसिरमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन एकैपटक हुँदैछ । डोल्पाबाट प्रमुख चार वटै दलले उम्मेदवार सिफारिस गरिसकेका छन् । नेपाली कांग्रेसले प्रतिनिधि सभा सदस्यका लागि केन्द्रीय सदस्य कर्ण बुढाको नाम सिफारिस गरेको छ । सर्वसम्मत रूपमा उनको एकल नाम सिफारिस गरिएको हो ।

नेकपा एमालेले बदमीक्वारी बोहरालाई एकल उम्मेदवारका रूपमा सिफारिस गरेको छ । २०७४ मा समानुपातिक कोटामा कर्णाली प्रदेश सभा सदस्य बनेकी बोहरालाई यसपटक भने प्रतिनिधि सभामा प्रत्यक्षतर्फ उम्मेदवार बनाउन पार्टीले सिफारिस गरेको हो ।

यसैगरी माओवादी केन्द्रले मालबहादुर रोकाय, दिलबहादुर विष्ट र वीरेन्द्रकुमार डाँगीलाई सिफारिस गरेको छ भने नेकपा एकीकृत समाजवादीले प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ धनबहादुर बूढाको एकल नाम सिफारिस गरेको छ । बुढा पुनः निर्वाचित भए दोहोरिनेछन् भने उनीबाहेक जो विजयी भएपनि डोल्पाबाट संघीय संसद्मा प्रतिनिधित्व गर्ने जनप्रतिनिधि फेरिनेछन् ।

गठबन्धनको शक्ति कति ?

गत वैशाखमा स्थानीय तहको निर्वाचन भयो । निर्वाचनको नतिजा मिश्रित आयो । एमाले, माओवादी र एकीकृत समाजवादीले २÷२ पालिकोको प्रमुख जितेका छन् भने एउटामा कांग्रेसका उम्मेदवार विजयी हुँदा एउटा पालिकामा स्वतन्त्र उम्मेदवारले बाजी मारे ।

तीन पालिकाको नेतृत्वसहित कतिपय वडा अध्यक्षहरूसमेत निर्विरोध निर्वाचित भएकाले स्थानीय चुनावको मतपरिणाम अनुसार जिल्लामा दलहरूको यकीन संख्या निकाल्न सकिँदैन । यद्यपि, २०७४ र २०७९ को स्थानीय निर्वाचनको मतको अनुपात हेर्दा डोल्पामा माओवादी केन्द्र र एमालेको मत करिब उस्तै उस्तै छ । यो संख्या पाँच हजार आसपासको हो । त्यसपछि नेपाली कांग्रेसको मत तीन हजार र एकीकृत समाजवादीको मत एक हजार हाराहारीमा रहेको आँकलन गर्न सकिन्छ । सत्तारुढ गठबन्धनको मतलाई जोड्दा भने एमालेको भन्दा करिब दोब्बरले बढी हुन्छ ।

प्रदेशतर्फ

पाँच वर्षको अघिको निर्वाचनमा प्रदेश सभातर्फका दुई वटै निर्वाचन क्षेत्रमा गठबन्धनका उम्मेदवार विजयी भएका थिए । क्षेत्र नं. १(क)बाट एमालेका नन्दसिंह बुढाले पाँच हजार चार सय ९० मत पाएर प्रदेश सभा सदस्यमा चुनिँदा कांग्रेसका बेगमसिंह ठकरीले एक हजार दुई सय १३ मत मात्रै पाएका थिए । एमालेबाट निर्वाचित बुढा अहिले भने नेकपा (एकीकृत समाजवादी)मा छन् ।

यो क्षेत्रमा चार वटा पालिका छन् । गत स्थानीय निर्वाचनमा चारमध्ये दुई वटामा एकीकृत समावादीका उम्मेदवार निर्विरोध निर्वाचित भएका थिए भने एउटामा कांग्रेसका र एउटामा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । यहाँ सत्तारुढ गठबन्धन नै बलियो देखिन्छ । यद्यपि गठबन्धनको सीट बाँडफाँटका क्रममा यो क्षेत्र कसको भागमा पर्छ टुँगो लागि सकेको छैन ।

एकीकृत समाजवादीका नेता नन्दसिंह बुढा फेरि दोहोरिन चाहन्छन् । पार्टीले पनि उनलाई नै एकल रूपमा उम्मेदवार सिफारिस गरेको छ । उक्त निर्वाचन क्षेत्र एकीकृत समाजवादीको भागमा परे बुढा नै उम्मेदवार हुनेछन् ।

त्यसैगरी नेपाली कांग्रेसले पार्टी जिल्ला सभापति दीपेन्द्रबहादुर शाहीलाई एकल रूपमा उम्मेदवार सिफारिस गरेको छ भने माओवादी केन्द्रले धनप्रसाद कार्कीलाई सिफारिस गरेको छ । एमालेले यसपटक पूर्व जिल्ला समन्वय समिति प्रमुख तथा पार्टी जिल्ला अध्यक्ष शेरबहादुर बूढाको नाम उम्मेदवारका लागि सिफारिस गरेको छ ।
निर्वाचन क्षेत्र (ख)मा भने गठबन्धनसँग एमाले प्रतिस्पर्धात्मक अवस्थामा छ । यो क्षेत्रबाट २०७४ मा माओवादी केन्द्रका वीरबहादुर शाही निर्वाचित भएका थिए । उनले ६ हजार चार सय १४ मत प्राप्त गरे । कांग्रेसका सुरेशबहादुर शाहीले दुई हजार एक सय पाँच मत पाएका थिए ।

गत स्थानीय चुनावमा यो क्षेत्रका चारमध्ये एमाले र माओवादीले दुई÷दुई वटा पालिका जितेका छन् । पालिका प्रमुखहरूले पाएको मतका आधारमा सत्तारुढ गठबन्धनको मत पाँच हजार हाराहारी छ भने एमालेको मत पनि सोही हाराहारी रहेको देखिन्छ । त्यसैले गठबन्धन र एमालेबीचको रोचक प्रतिस्पर्धा हुने आँकलन गरिएको छ ।

यो क्षेत्रका लागि माओवादी केन्द्रले कर्णाली प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री वीरबहादुर शाही र चन्द्रमान रोकायको नाम सिफारिस गरेको छ । नेपाली कांग्रेसले पार्टी जिल्ला उपसभापति पूर्णबहादुर शाही, श्रीलाल बस्नेत र भैरवबहादुर शाहीलाई उम्मेदवारका लागि सिफारिस गरेको छ । गठबन्धनकै दल एकीकृत समाजवादीले युवराज थकालीको नाम एकल रूपमा सिफारिस गरेको छ । एमाले तीन जनाको नाम सिफारिस गरेको छ । जसमा धनचन्द्र बैजी, आङबहादुर लामा र चन्द्राकुमारी बूढा छन् ।

राजनीतिमा पारिवारिक रजगज

धनबहादुर बुढा २०७० मा दोस्रो पटक संविधानसभाको निर्वाचन हुँदाताका राप्रपा छोडेर एमाले प्रवेश गरेका हुन् । एमालेले उनलाई संविधानसभा सदस्यको उम्मेदवार समेत बनायो । उनले निर्वाचन पनि जिते ।

त्यसपछि २०७४ को निर्वाचनमा पनि एमालेले उनैलाई उम्मेदवार बनायो । नेकपा (माओवादी केन्द्र)को समेत साथ पाएका बुढा प्रतिनिधि सभा सदस्य बने । अहिले भने उनी एमाले छोडेर नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन् ।

डोल्पाको राजनीतिमा उनको व्यक्तिगत प्रभाव छ । त्यसो त यहाँका प्रमुख राजनीतिक दल बुढासहित केही सीमित नेताहरूको पारिवारिक कब्जामा छन् । उनका दाई कर्णबहादुर बुढा नेपाली कांग्रेसका केन्द्रीय सदस्य छन् । दुवै भाइ यसअघि राप्रपामा थिए । धनबहादुर राप्रपा छोडेर एमाले प्रवेश गरेको केही समयपछि कर्णबहादुर भने कांग्रेसमा समाहित भएका थिए । दाजुभाइ नै अहिले आ–आफ्नो पार्टीमा केन्द्रीय सदस्य छन् । त्यति मात्रै होइन एमालेका जिल्ला अध्यक्ष शेरबहादुर बुढासमेत उनीहरूकै पारिवारिक नातेदार हुन् । त्यसैले पनि जिल्लाको राजनीतिमा बुढा परिवारकै रजगज चल्दै आएको छ ।

त्यसो त डोल्पामा जिल्लाका प्रमुख नेताहरूको दल–बदल भइरहन्छ । नेपाली कांग्रेसका पूर्वजिल्ला सभापति अंगद बुढा पनि हालै पार्टी छोडेर राप्रपामा प्रवेश गरेका छन् । त्यसअघि २०७० मा उनी एमाले छोडेर कांग्रेसमा प्रवेश गरेका थिए । एमालेमा अंगद जिल्ला अध्यक्ष समेत भइसकेका थिए । उनले दल फेरबदलमा पनि धनबहादुर र कर्णबहादुरसँगको टसल प्रमुख कारण रहेको उनी निकट कार्यकर्ताहरू बताउँछन् ।

धनबहादुर २०७० सालमा एमाले प्रवेश गरेपछि अंगद एमाले छोडेर नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । एमालेबाट धनबहादुर टिकट पाएपछि अंगदले पार्टी परिवर्तन गरेका हुन् । उनी पछि २०७४ सालमा नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार भएर धनबहादुर बुढासँगै प्रतिस्पर्धा गरेका थिए । तर बाम गठबन्धनसँग पराजय भोगे ।

भाई धनबहादुरका कारण एमाले छोडेर कांग्रेस बनेका अंगद अहिले फेरि धनबहादुरकै दाई कर्णबहादुरसँगको टसलका कारण कांग्रेस छोडेर राप्रपा बनेका छन् । कांग्रेसबाट कर्णले टिकट पाउने देखेपछि उनी राप्रपा पुगेको चर्चा जिल्लामा हुने गरेको छ ।

फेरि धनबहादुर भर्सेज अंगद ?

दलहरूले उम्मेदवार सिफारिस गरेसँगै डोल्पामा पुनः धनबहादुर भर्सेज अंगद हुने चर्चा चल्ने गरेको छ । सत्तारुढ गठबन्धनबीच चुनावी तालमेल गर्ने सहमति भएपनि निर्वाचन क्षेत्रको भागबन्डा भइसकेको छैन । त्यसैले उक्त गठबन्धनबाट को उम्मेदवार बन्छ भन्ने टुँगो छैन । यद्यपि, सत्ता गठबन्धनका बीचमा यसअघि जुन पार्टीले जितेको हो, उसैलाई छोड्ने सहमति अनुसार डोल्पा समाजवादीलाई दिनुपर्ने हुन्छ । त्यसो हुँदा गठबन्धनकोतर्फबाट धनबहादुर बुढा नै उम्मेदवार हुनेछन् । उनी लगातार तेस्रो पटक चुनाव जितेर ह्याट्रिक गर्ने दाउमा छन् ।

गठबन्धनसँग प्रतिस्पर्धा गर्ने दोस्रो दल नेकपा एमाले हो । एमालेबाट बदमी क्वारी बोहोरा एकल उम्मेदवारका रूपमा सिफारिस भएकी छिन् । एमालेबाट उनी नै उम्मेदवार हुने निश्चितप्रायः छ । तर एमालेले पनि राप्रपासँग चुनावी तालमेल गर्ने चर्चा चलिरहेको छ । यदी एमाले–राप्रपा तालमेल भयो र डोल्पा राप्रपाको भागमा परेको खण्डमा पुनः धनबहादुर र अंगदका बीचमा प्रतिष्पर्धा हुने आँकलन गरिएको छ । अंगद राप्रपा प्रवेश गर्नुको मुख्य कारण पनि यही रहेको बताइन्छ ।

प्रकाशित मितिः   ६ आश्विन २०७९, बिहीबार ०५:०८