कर्णालीमा २८ दलले बुझाए बन्दसूचि

सुर्खेत: आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि ४८ दलले निर्वाचन आयोगमा समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूचि पेस गरेका छन् । कर्णाली प्रदेशमा भने २८ दलले बन्दसूचि आयोगलाई बुझाएका छन् ।

प्रदेशसभा सदस्यका लागि समानुपातिक उम्मेदवारको बन्दसूचि बुझाउनेहरूमा राष्ट्रिय जनमोर्चा, मंगोल नेशनल अर्गनाइजेसन, नेपाल मजदुर किसान पार्टी, नेपालका लागि नेपाली पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमुक्ति पार्टी र नेकपा(एमाले) छन् ।

यसैगरी नागरिक उन्मुक्ति पार्टी, नेकपा (माले), नेपाली कांग्रेस (बीपी), नेश्नालिष्ट पिपुल्स पार्टी, राप्रपा नेपाल, विवेकशील साझा पार्टी, नेकपा (माओवादी समाजवादी), नेपाली जनता दल, नेपाल लोकतान्त्रिक पार्टी र हाम्रो नेपाल पार्टीले पनि बन्दसूचि बुझाएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार सामाजिक एकता पार्टी, नेकपा समाजवादी र नेपाल दलित पार्टीले संयुक्त रूपमा बन्दसूचि पेस गरेका छन् । संयुक्त रूपमै बन्दसूचि बुझाउनेमा नेपाल आमा पार्टी, नेपाल नौलो जनवादी पार्टी, सचेत नेपाली पार्टी र नेपाल सुशासन पार्टी पनि छन् ।

त्यसैगरी नेकपा (माओवादी केन्द्र) र डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले पनि संयुक्त रूपमा नै बन्दसूचि आयोगमा पेस गरेका छन् । बन्दसूचि बुझाउनेमा जनता समाजवादी पार्टी नेपाल, संघीय लोकतान्त्रि राष्ट्रिय मञ्च, बहुजन शक्ति पार्टी, जनसमाजवादी पार्टी नेपाल, नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाली कांग्रेस छन् । कर्णाली प्रदेश सभामा समानुपातिकतर्फको सीट संख्या १६ रहेको छ ।

यसैगरी समानुपातिक सीट संख्या ३७ भएको प्रदेश १ मा ३६ दलले बन्दसूचि दर्ता गराएका छन् भने सीट संख्या ४३ भएको मधेस प्रदेशमा ३६ दलमात्र बन्दसूचिमा दर्ता भएका छन् । बाग्मती प्रदेशमा कुल सीट संख्या ४४ भएकोमा ४० दलले बन्दसूचि दर्ता गराएका छन् । २४ सीट संख्या भएको गण्डकीमा ३१ दल बन्दसूचिमा दर्ता भएको आयोगले जनाएको छ । लुम्बिनी प्रदेशमा ३२ दलले समानुपातिक निर्वाचनतर्फ बन्दसूची दर्ता गराएका छन् । सुदूरपश्चिम प्रदेशमा ३४ दलले बन्दसूचि दर्ता गराएका छन् ।

प्रकाशित मितिः   ५ आश्विन २०७९, बुधबार ०६:०२