एघार जनाविरूद्व भ्रष्टाचार मुद्दा
सुर्खेत: दैलेखको एक माध्यमिक विद्यालयमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट विभिन्न तालिम सञ्चालनका लागि प्राप्त रकम अनियमितता गरेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ठहर गरेको छ । आयोगले उक्त अनियमिततामा संलग्न देखिएका ११ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । चामुण्डा विन्द्रासैनी नगरपालिका–३ स्थित चामुण्डा माध्यमिक विद्यालयमा तालिम सञ्चालनका प्राप्त रकम हिनामिना भएको अख्तियारको दाबी छ ।
आयोगले सोही विद्यालयका प्रधानाध्यापक, सहायक लेखापाल, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् कर्णालीका तत्कालीन कामु निर्देशक, तालिम दिने निजी कम्पनीका सञ्चालकलविरुद्ध भ्रष्टाचारको मुद्दा चलाएको हो । आयोगका अनुसार प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्, कर्णाली प्रदेश कार्यालयका तत्कालीन कामु निर्देशक भीमकान्त लामिछाने र मोहनबहादुर कार्की, लेखा अधिकृत शिवराम रोकाय, प्रधानाध्यापक जयप्रसाद तिमिल्सेना, विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष नन्दबहादुर शाही, सहलेखापाल नरेश शाही, इलाइट इन्फ्रास्ट्रक्चर कन्सल्ट्यान्ट प्रालिका सञ्चालक उपेन्द्र शाहीलाई बिगो माग दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।
त्यस्तै, कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका तत्कालीन शाखा अधिकृत पदमबहादुर बुढाक्षेत्री, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् कर्णाली प्रदेश कार्यालयका तत्तकालीन सहायक प्रशिक्षक गंगाराम शाही र कर्णाली प्राविधिक शिक्षालयका तत्कालीन प्रशिक्षक हिराबहादुर शाहीविरुद्ध पनि मुद्दा दायर भएको छ । उनीहरूसँग तीन करोड ४३ लाख ८८ हजार आठ सय १६ रूपैयाँ बिगो दाबी गरी मुद्दा चलाइएको हो । इलाइट इन्फ्रास्ट्रक्चर कन्सल्ट्यान्ट प्रालिका सञ्चालक शाहीलाई भने ७० लाख बिगो दाबी गरिएको छ । उनीहरूले तालिम नै नदिइ मिलेमतोमा सामान पनि खरिद नगरी भ्रष्टाचार गरेको अख्तियारको दाबी छ ।
प्रकाशित मितिः २७ भाद्र २०७९, सोमबार ०५:०१
साझा बिसौनी ।