‘निर्माण व्यवसायी मर्कामा छन्’
सुर्खेत: कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले निर्माण व्यवसायीहरू विभिन्न कारणले मर्कामा परिरहेको बताएका छन् । शनिवार वीरेन्द्रनगरमा आयोजित निर्माण व्यवसायी एकता समाजको अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । संघीय सरकारले प्रदेशलाई अधिकार सम्पन्न बनाउन नसक्दा चाहेर पनि आफूहरूले निर्माण व्यवसायीको पक्षमा उल्लेखनीय काम गर्न नसकेको मुख्यमन्त्री शाहीले जनाए । ‘हामीले चाहेर पनि निर्माण व्यवसायीलाई मद्दत पुग्नेगरी काम गर्न नसकिरहेको अवस्था छ,’ उनले भने, ‘निर्माणका क्षेत्रसँग सम्बन्धित संघले कतिपय अधिकारहरू अभैm प्रदेशमा दिएको छैन ।’
निर्माण व्यवसायीलाई आयोजनाको भुक्तानी ढिला भए क्षतीपूर्ती दिलाउनेसमेत मुख्यमन्त्री शाहीले बताए । केन्द्र सरकारले प्रदेशलाई अख्तियारी प्रदान नगर्दा निर्माण व्यवसायीलाई कहिलेकाँही समस्या हुने गरेको बताउँदै मुख्यमन्त्री शाहीले प्रदेशले निर्माणका लागि ठेक्का आह्वान गरेका योजनाहरू समयमै सक्दा पनि भुक्तानी रोकिएमा भने क्षतीपूर्तीको व्यवस्था गरिने बताएका हुन् । निर्माण व्यवसायीलाई प्रदेश मातहतबाट सञ्चालन हुने काममा कुनै अवरोध नहुनेमा विश्वस्त हुन उनले अनुरोधसमेत गरे ।
त्यस्तै, निर्माण व्यवसायीमाथि दोष थुपारेर सरकार पन्छिन खोज्नु गलत भएको निर्माण व्यवसायीहरूले बताएका छन् । सरकारले नै काम सम्पन्न भएका योजनाहरूको समयमै भुक्तानी नदिने र विभिन्न कानुनी अड्चनका कारण निर्माण व्यवसायीहरूले झन्झट व्यहोर्नु परेको नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष रवि सिंहले बताए ।
प्रकाशित मितिः १२ भाद्र २०७९, आईतवार ०८:१९
साझा बिसौनी ।