साझा घरलाई सहयोग

सुर्खेत: सुर्खेत बहुउद्देश्यीय सहकारी संस्थाले साझा घरलाई सहयोग गरेको छ । आफ्नो २१ औं स्थापना दिवसको अवसरमा संस्थाले वीरेन्द्रनगरमा सञ्चालित साझा घरलाई आर्थिक सहयोग गरेको हो ।

सोमवार नगद ३० हजारसहित साझा घरमा आश्रित बालबालिकाहरूलाई खाजा खुवाइएको हो । ५४ जना बाल–बालिकासहित ७० जनालाई दिवा खाजा वापत खीर–तरकारी खुवाएको सहकारीले जनाएका छ ।

सहकारी संस्थाका अध्यक्ष पूर्णबहादुर नेपालीको अध्यक्षतामा सम्पन्न सहयोग वितरण कार्यक्रमका प्रमुख अथिति वीरेन्द्रनगर–४ का वडाअध्यक्ष शेरबहादुर केसी थिए । केसीले साझा घरका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत जनाए ।

साझाघर नेपालका सचिव तपेन्द्र वि.क.ले संस्थाको बारेमा जानकारी दिँदै सबैको सहयोगमा साझा घर सञ्चालन भइरहेको बताए । कार्यक्रममा वीरेन्द्रनगर–४ का सदस्य अम्मरबहादुर कार्की, संस्थाका सचिव मिलन श्रेष्ठ, कोषाध्यक्ष सुरेशबहादुर गौतम, प्रबन्धक प्रवेशमान मानन्धरलगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः   ३० श्रावण २०७९, सोमबार २०:१२