प्रदेशभर थपिए ३० हजार मतदाता

सुर्खेत: गएको वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनयता कर्णालीमा उल्लेखनीय रूपमा मतदाताको संख्या बढेको पाइएको छ । झन्डै साढे दुई महिनामा कर्णाली प्रदेशका १० जिल्लामा गरी करिब ३० हजार मतदाता थपिएका छन् । गत वैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनमा कर्णालीका १० जिल्लामा नौ लाख आठ हजार ६ सय ३१ जना मतदाता थिए । निर्वाचन आयोगका अनुसार तीमध्ये महिला मतदाता चार लाख ४९ हजार ३० रहदा पुरुष मतदाता चार लाख ५९ हजार ६ सय एक थिए । प्रदेश निर्वाचन कार्यालयका निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेका अनुसार असार र साउनमा मात्रै कर्णालीमा नौ हजार दुई सय ४५ मतदाता थपिएका छन् ।

पाँच जिल्लामा १७ हजार ६ सय ३३ जना मतदाता थपिएका छन् भने अन्य पाँच जिल्लाको तथ्याङ्क संकलन भइरहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । सबै जिल्लाको विवरण यकिन भएपछि ३० हजार मतदाता थपिने आकल छ । गएको स्थानीय निर्वाचनमा सुर्खेतमा दुई लाख १८ हजार ४३ मतदाता थिए । सल्यानमा गएको निर्वाचनमा एक लाख ४० हजार ६ सय ६७ मतदाता रहेकोमा त्यसयता त्यहाँ दुई हजार पाँच सय मतदाता थपिएको बताइएको छ । त्यस्तै, जाजरकोटमा एक हजार दुई सय ८८ मतदाता थपिएका छन् । जाजरकोटका जिल्ला निर्वाचन अधिकारी नृपराज उपाध्यायले स्थानीय तहको निर्वाचनमा जिल्लामा एक लाख तीन हजार आठ सय ६९ मतदाता रहेको बताए ।

जुम्लामा ६७ हजार सात सय ४४ मतदाता रहेकोमा अहिले तीन हजार मतदाता थपिने आकलन गरिएको जिल्ला निर्वाचन कार्यालय जुम्लाले जनाएको छ । डोल्पामा चार सय र मुगुमा एक हजार दुई सय मतदाता थपिने प्रक्षेपण गिरिएको सम्बन्धित जिल्ला निर्वाचन कार्यालयहरूले जनाएका छन् । यद्यपि, कर्णालीका केही जिल्लाको मतदाताको पछिल्लो यकिन विवरण भने तयार भइसकेको छैन । सरकारले आगामी मंसिर ४ गते प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको चुनाव एकै चरणमा गर्ने घोषणा गरिसकेको छ । निर्वाचन घोषणा भएसँगै मतदाता नामावली संकलनको काम पनि स्थगित भएको छ ।

प्रकाशित मितिः   २४ श्रावण २०७९, मंगलवार ०५:०१