रक्तदानबाट २६ पिन्ट रगत संकलन

सुर्खेतः वीरेन्द्रनगर–५ मा शनिवार रक्तदान कार्यक्रम गरिएको छ । नेकपा (एमाले) वडा कमिटीको आयोजना तथा कर्णाली प्रदेश अस्पतालको प्राविधिक सहयोगमा रक्तदान गरिएको हो । खुल्ला रुपमा गरिएको रक्तदान कार्यक्रममा २६ पिन्ट रगत संकलन भएको एमाले वीरेन्द्रनगर–५ का वडा कमिटी अध्यक्ष बासु आचार्यले जनाए । उनका अनुसार संकलित रगत प्रदेश अस्पतालको ब्लड बैंकमा जम्मा हुनेछ । रगतको अभावलाई परिपूर्ति गर्न आगामी दिनमा पनि सरोकारवालासँग हातेमालो गरेर रक्तदान कार्यक्रमलाई निरन्तरता दिइने आचार्यले बताए ।


वडा कार्यालय परिसरमा आयोजना गरिएको रक्तदानमा राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल, ब्लड डोनर्स एसोसियसन नेपाल र भण्डारी जनसेवा पोलिक्लिनिक एण्ड डाइग्नोष्टिक सेन्टरको समन्वय रहेको थियो । एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य कृष्णबहादुर हमालको प्रमुख आतिथ्यतामा भएको रक्तदान कार्यक्रममा प्रदेश कमिटी सदस्यद्वय गणेश वली र केशर तारामीका साथै जिल्ला कमिटीका पदाधिकारीहरु सहभागि थिए ।

प्रकाशित मितिः   १४ श्रावण २०७९, शनिबार १२:२४