हविगत
हात–वित्ता छोड्दा छोड्दै देशकै सीमा झर्यो भने
आफ्नै अर्थी बिसाउन लाई माटो माग्नु पर्यो भने
कति रोलान सहिद आत्मा भूमि अरूकै बन्यो भने
मलामीको काँध दुख्ला माटो जम्मै गुम्यो भने
हाम्रो आगन छिमेकीले आफ्नो भनि खन्यो भने
हिमाल जस्तो हाम्रो टोपि टेबुल पुछ्ने बन्यो भने…।
सायद २०५६–०५७ सालतिर होला हामीहरू बागीना सभाहलमा एउटा कार्यक्रमका लागि उपस्थित थियौँ । कार्यक्रममा बागीना समूहका सल्लाहकार मुकुन्दश्याम गिरीबाट ‘माटो माग्नु पर्यो भने’ भन्ने शीर्षकको आफ्नो कविता वाचन भएको थियो । यी हरफ त्यही मर्मस्पर्शी कविताका अंश हुन् । त्यतिबेला मेरो कलम कवितामा चल्न जान्दैनथ्यो, कविताबाट अनुप्रेणित भइ मनमा एउटा कथा उम्रियो । अलिखित कथासार यस्तो थियोः
जस्तैः रमाइलो एउटा घर परिवार हुन्छ । एकदिन अकस्मात एकजना सदस्यको मृत्यु हुन्छ । रोदन क्रन्दन र अलाप–विलापबाट लास उठाएर मलामीले घाट पु¥याउँछन् । मसान घाट पराईहरूले कब्जा गरेका हुन्छन् लास जलाउन दिन्नन् । तलमाथि ठाउँ सार्दा पनि उनीहरू मान्दैनन् । मलामीको अनुनय विनय सबै बेकारै बेकार हुन्छ । बटुलेका मुढा र दाउरा त्यतै छोडी बाध्यतावश मलामीहरू लास लिएर फर्कन्छन् । घरको डिलमुनि खाल्टो खनेर लास गाडिन्छ, सदगत गरिन्छ । शोकमा रुनेहरू सबै भयवित हुन्छन् र बिलखबन्दमा पर्छन् ।
अर्को घटनामा पनि एउटा घर हुन्छ, घरमुलि बुढा बा बिहानै सौचादी नित्यकर्म सकेपछि लोटामा पानी लिएर आगनमा मुख धुन आउँछन् । ‘आगनको ढिकमा मुख धुन पाइन्न करेसामा जाउ’ भनेर पराईले हप्काउँछ ।
‘आफ्नो आगनमा किन मुख धुन नपाउने मैले ?’ बा पनि तात्तिन्छन् ।
‘हिजोसम्म तिम्रै थियो आगन आज हाम्रो भैसक्यो । देखेनौर सीमाना छुट्याउन तिम्रो आगन कोतरेको ?’ आफ्नै आगनमा सीमारेखा देखेपछि आगो खाउँ कि पानीमा जाउँ जस्तै भयो । पराईको दुर्वचनले बालाई दिनभरी औडाहा बनायो । ओंठ–मुख सुकेर भोक प्यास हरायो । पश्चिममा ओर्लेर डाँडामाथि बसेको घामलाई निकैबेर हेरिरहे बाले । हात जोडेर मनमनै भने, हे सूर्यदेव ! अब तिमी मेरा लागि कहिल्यै नउदाउनु ।
फेरि अर्को घटनामा दफ्तरको बडा साहबले शिरको टोपी तानेर टेबल पुछिदियो भन्ने उजुरी लिएर न्याय माग्न एउटा रैथाने नागरिक ठाउँ–ठाउँ धायो । कतै सुनुवाइ भएन किन कि न्याय दिने निकायहरू तराजुमा न्याय र पैसा जोख्न निमग्न थिए । हिनताबोधले पोलेर ऊ बाटामुनि थचक्क बस्यो । थाकेर ग्लस्त थियो ढुङ्गाको सिरानी हालेर पल्टियो । इमान्दारी पोखेर दुःख बनितो गरेको आफ्नो तकदिर सम्झियो । बाउ बाजेले पसिना रोपेको खेत बारीको माटो सम्झियो र बेसरी सम्झियो पराधिन हुन लागेको आफ्नो प्यारो समाज र भूगोललाई । बेचैन मन लिएर उठ्यो र फेरि बाटो नाप्यो ।
बाटामाथि ढुङ्गेधाराबाट खसेको पानी अञ्जुलीमा थापेर खायो, के थाहा भोली पराईले धाराको पानी नखा पो भन्छ कि ! हिँड्दा–हिँड्दै ऊ बस्तीमा पुग्यो उतापट्टीको धुम्किलामा एउटा टहरो थियो, सहिदको सालिकलाई ओत हालेको । पाती टिपेर सहिदलाई चढायो । शिलालेखमा आँखा दौडायो जहाँ सहिदको वीरगाथा कुँदिएको थियो । देशभक्तीमा चढाएको बलिदान सम्झेर नजिकैबाट सालिकको आँखामा हेरिरह्यो । राष्ट्रघाती चण्डालहरूको कुकर्मले आज देशको यस्तो हविगत भयो । गणतन्त्रको दुहाइ दिने कुवंशीहरूले जनतालाई रगतका आँसु रुवाए…। उसले मनको बह यसरी पोख्यो मानौं घरमा सास्ती र शासना खेपेकी छोरी माइत आएर आमाको काखमा रुँदै फलाकेकी छ । उसको बेदना पत्थरको सालिकले सुन्दैन बुँझ्दैन किन कि सालिकसँग आत्मा हुँदैन । त्यो पनि उसलाई थाहा थियो तर पनि बात मार्दै भन्यो, स्वाभिमानमा लागेको चोटले असैह्य पीडा हुँदो रहेछ आगोले झैँ भत्भती पोल्दोरहेछ । उसले देख्यो सालिकको आँखामा डम्म आँसु भरिएको, तब सकेन आफूले आफैलाई सम्हाल्न । सहिदलाई ग्वाम्म अंगालो हालेर भक्कानिदै डाँको छोड्यो । कथा सकियो ।
उतिखेर कविता सुन्दा एउटा राष्ट्रवादी स्वैरकल्पना मात्रै लागेको थियो र त्यसै अनुरूपको कथा चित्र मनमा कोरिएको पनि थियो । समय काल बितेर जाँदा वर्तमान परिप्रेक्षमा दूषित राजनीतिको अकर्मण्यताका कारण हिजो कविताले बोलेको यो विषय आज सत्यताको नजिक देखिन थालेको छ । परिवर्तनका नाममा साँवा–ब्याजले नपुगेर देश कोपरी खाने अघोरी कुवंशीहरूको जमात बढ्दै गएकोले यो खतरा दिनानुदिन जब्बर बनिरहेको छ । २००७ सालदेखि निरन्तर हामी व्यवस्था परिवर्तनमा लागिरहेका छौँ, जसका कारण देशको उन्नती–प्रगति र विकासमा ध्यान केन्द्रित हुन सकेको छैन । पटक–पटकको परिवर्तनले विधी पद्धति पनि स्थापित हुन दिएको छैन । परिवर्तनबाट बेइमान पुराना शासक छेउ लाग्छन । तिनका ठाउँमा फेरी नयाँ आउँछन् खान्छन् मोटाउँछन् मत्ताउँछन् । विदेशी प्रभुकै चाकडीमा रमाउँछन्, ईशारामा चल्छन्, देश भड्खालोमा हाल्छन् र झन बर्बाद बनाइ दिन्छन् । पुराना भन्दा नयाँहरू दोब्बर हरामखोर भईदिन्छन् । प्रगति ल्याउनु पर्नेमा परिवर्तनले सर्वदा देशमा हविगत मात्रै बटुल्यो ।
हिजो अपुतालीमा गद्दि पाएका राजा सत्ताको रापतापले भकभकी उम्लेका थिए । अनावश्यक राजाको त्यो चुरीफुरीले जनता वाक्क दिक्क भएका थिए । जनतालाई राहत हुने काममा मन गएन, सुशासनतर्फ पनि ध्यान गएन । देशका उद्योग धन्दा कौडिका भाउमा बेच्ने धमिजा र लाउडा काण्ड मच्चाएर मोटो कमिसन कुम्ल्याउने, महाकाली सन्धिलाई सम्झौता भनि देशलाई झुक्याउने राष्ट्रघाती कुकर्मीलाई कानुन बमोजिम दण्ड गरेको भए कति जाति हुन्थ्यो ! सत्ता लिएपछि राजाले गजब राम्रो काम गरे भनेर जनताले तारिफ गर्न सक्थे । तर राजा त आफ्नो जय जयकार गर्ने भजन मण्डली तयार पार्न पट्टी लागे । आफ्नो विज्ञापनमा रमाए देशाटन र तिर्थाटनमा देशको ढुकुटी रित्याए । दिनप्रतिदिन राजा मनमौजी र निरंकुश हुँदै गए । ऐतिहासिक जनआन्दोलनले राजतन्त्रलाई नै बढारिदियो भने आन्दोलन पछिको समय परिस्थितीले कुकर्मीका षड्यन्त्रमा पनि चिसो पानी खन्यायो । आफू देशको पहिलो राष्ट्रपति बनेर छोरीलाई पहिलो महिला प्रधानमन्त्री बनाउने सपना तहस नहस पारिदियो ।
निरंकुश राजतन्त्रलाई ढालेको गणतन्त्र र षड्यन्त्रकारी राजनीतिक पण्डितहरूलाई बढारेको समय परिवेश जनताको अनुकूल र संस्थागत हुन सकेन । निष्ठावान कार्यकर्ताको सपनामा आगो झोसेर छोरी बुहारी र नाता कुटुम्बको उत्थान गर्न परिवारवादमा कैद भयो गणतन्त्र । मन्त्री र प्रधानमन्त्रीको कुर्सी उछिट्याउने खेलमा जतिसुकै मारामार र काटाकाट गरे पनि देश लुटेर बाँडि खाने मामलामा सबै एकजुट भएर चाटाचाट गरेको दृष्टान्त हामीबाट टाढा छैन । आयल निगमको जग्गा खरिद काण्ड, एनसेलको कर असुली काण्ड, वाइड बडि जहाज खरिद काण्ड र सुन काण्ड । काण्डै काण्डमा मिलीजुली भातभान्सा हुन्छ काण्डपतिहरूको । चरम घृणा र वितृष्णाले राजा भन्दा पनि टाढा पुगे राजनीतिक दलका सरदारहरू । आफ्नो गद्दी थामी माग्न बिदेशी प्रभुसँग पाउ पर्न गएनन् राजा, नत सम्पत्ति कुम्ल्याएर विदेशतिर भागे ।
यसो भनेर यिनै निरंकुश बुढा राजा फेरी उही अवस्थामा चाहियो देशमा भनेको हुँदै होइन । निरंकुश बानी व्यहोरालाई तिलाञ्जली दिए पनि उमेरले अब डाँडा काटिसक्यो । विकल्पमा राजा खोजिए पनि यिनीप्रति जनताको सकरात्मक धारणा बनिसकेको छैन । बरु नाती राजाका बारेमा विचार बहस चलाउन वाञ्छनीय हुन्छ । नाती राजाको बिषयमा बहस पैरबी गर्न खोज्नु नेपाली जनतालाई रहर होइन बाध्यताको हो । परिवर्तनको दुहाइ दिएर गणतन्त्रका राजा रजौटाहरूले मनपरि देश लुटदै कंगाल पारेको हेर्न विवश र लाचार जनता आजित आजित भएका छन् ।
यो देशको बिडम्बना ७० वर्ष उमेर टेक्दै गरेका र नाघेका नयाँ पुराना ६ वटा प्रधानमन्त्री जिवित छन् । स्वार्थ र षड्यन्त्रको राजनीतिमा सक्रिय छन् । जनतालाई मात्र होइन आफ्नै कार्यकर्तालाई पनि भाषणको भाङ खुवाएर लठ्याउन र भ्रमजालमा पार्न चतुर छन् । चुनाव आफ्नो पक्षमा पार्नका लागि धमाधम राष्ट्रघाती कदम चालिरहेका छन् । विदेशी रिझाउनका लागि देश बर्बाद पारेको जस लिने होडबाजी चलेको छ । एक पटक असफल भएको व्यक्ती सांसदको षड्यन्त्र गणित संख्याले पटक–पटक सरकार प्रमुख बनेको छ । विदेशी प्रभुका पाउमा निधार टेकेर, गठजोडको लिस्नो चढेर, सत्तासँग मोलतोल गरेर, भित्री तमसुकमा सही छाप ठोकेर, आलोपालो प्रधानमन्त्रीको पदमा पुग्ने सपना छ कसैको । देशका लागी होइन पार्टीका लागी पनि होइन । आफु र आफ्ना परिवारका लागी मात्र । प्रधानमन्त्रीको कुर्सीमा सधँै अस्थिरताको बीउ रोपेर देश उँभो लाग्न सक्ला ? काण्डपतिहरूको थिचोमिचो देशमा अति भयो अति । अपवित्र क्रियाकलाप र यिनका पद लोलुपताले यो देश विदेशीको खेल मैदान हुन थाल्यो । अब भत्काउनु पर्छ षड्यन्त्रका दाउपेचहरू । बढार्नु पर्छ बेथिति र विसंगतीका घु¥यानहरू । देश भन्दा पार्टी ठूलो हुनै सक्दैन, त्यसैले चुनावमा देश खोज्नेयोग्य व्यक्ति हेर्नुपर्छ । षड्यन्त्रका हिमायती खलपात्रहरूलाई मेट्नु पर्छ ।
– उमालाल आचार्य
प्रकाशित मितिः १४ श्रावण २०७९, शनिबार ०५:०३
उमालाल आचार्य ।