आठ महिनादेखि पदाधिकारीविहीन

आठ महिनादेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला पदाधिकारी विहीन हुँदा यहाँको प्रशासनिकलगायत समग्र क्षेत्र अस्तव्यस्त बन्दै गएको छ।

 उप– कुलपति, रजिष्ट्रार र अस्पताल निर्देशकलगायतका पदाधिकारी विहीन हुँदा प्रतिष्ठानको दैनिककार्य अस्तव्यस्त बन्दै गएको हो। प्रतिष्ठानका उप–कुलपति डा पारसकुमार आचार्यको अवधि सकिएलगतै जेठदेखि प्रतिष्ठान उप–कुलपति विहीन छ।
अस्पताल निर्देशक डाक्टर जावेद अहमेद खानले प्रतिष्ठान छोडेको पनि सात महिना भन्दा बढी भइसकेको छ। त्यस्तै, रजिष्ट्रार श्याम लम्सालको साउनमा कार्यकाल सकिँदा भएको पदाधिकारी रिक्तताले यहाँको प्रशासनिक काममा झनै ठूलो समस्या आएको निमित्त उप–कुलपति डा धर्मराज श्रेष्ठले जानकारी दिए।

उनले भने, “सामान्यत तल्लोस्तरका काम भए पनि आर्थिक सम्बन्धी ठूला काममा समस्या आउने गरेको छ। पदाधिकारीका विषयमा बारम्बार कुरा उठाउँदा पनि त्यसको सुनुवाई नै गरिँदैन र राजनीतिक भागबण्डाले पनि समस्या बनाएको छ ।” सरकारले पदाधिकारी एक हप्ताभित्र नियुक्ति गरेर पठाउने भनेको धेरै बितेको र अहिलेसम्म प्रतिष्ठान पदाधिकारी विहीन नै भएको निमित्त मेडिकल डाइरेक्टर डा प्रवीणकुमार गिरीले बताए।
प्रतिष्ठान नेतृत्व विहीन हुनुले प्रशासनिकसहित शैक्षिक, प्राज्ञिक र व्यवस्थापकीय क्षेत्रमा समस्या आएको प्रशासकीय अधिकृत द्वन्द्वबहादुर शाहीले जानकारी दिए। सेतोपाटी/रासस

प्रकाशित मितिः   १६ पुष २०७३, शनिबार १५:०६