बड्डीचौर–खम्बागाडे सडक कालोपत्रे गरिँदै

सुर्खेत: मदन भण्डारी राजमार्ग अन्तर्गत पर्ने पश्चिम सुर्खेतको बड्डीचौर–विद्यापुर–वेनीघाट सडक खण्ड कालोपत्रे गरिने भएको छ । बिहीवार उक्त सडक खण्डमा कालोपत्रे गर्ने कार्यको सुरुवात गरिएको हो । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले बड्डीचौरमा सडक कालोपत्रेको शुभारम्भ गरेका हुन् । झन्डै तीन दशक पहिले ट्याक खोलिए पनि भरपर्दो सडक नहुँदा पश्चिमका बासिन्दाले सास्ती खेप्दै आएका थिए । कालोपत्रे शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री बुढाक्षेत्रीले कच्ची र जीर्ण सडकले आवतजावतमा कठिनाइ भोग्दै आएका नागरिकहरूलाई अब भने राहत पुग्ने विश्वास व्यक्त गरे । उनले प्रदेश सरकारको बजेटबाट बड्डीचौरदेखि खम्बागाडेसम्म सडक कालोपत्रे गर्न लागिएको जनाए । मन्त्री बुढाक्षेत्रीले सडक स्तरोन्नतीको काम समयमै सक्न निर्माण व्यवसायीलाई सुझाए । स्तरोन्नती गर्न लागिएको यो सडक पश्चिम सुर्खेतको मुख्य सडक हो । सडकको ट्याक २०५१ सालमा खोलिएको थियो ।

बड्डीचौरलाई शून्य विन्दु मानेर दुई वर्षअघि नै यो सडकको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनेको थियो । संघीय सरकारले सडक निर्माणमा ढिलासुस्ती गरेपछि प्रदेशले बजेट विनियोजन गरी काम अघि बढाएको हो । पहिलो चरणमा बड्डीचौरदेखि खम्बगाडेसम्म सडक कालोपत्रे हुनेछ । त्यसका लागि ४२ करोड ४७ लाख ६१ हजारमा ठेक्का सम्झौता गरिएको छ । सडक कालोपत्रेको काम निर्माण कम्पनी ए.एन.के जयदेवी जेभी बाँकेले गर्नेछ । पूर्वाधार विकास निर्देशनालय सुर्खेतले निर्माण कम्पनीसँग असार १४ गते सम्झौता गरेको थियो । सम्झौताअनुसार २०८१ असार २४ गतेसम्म सडक कालोपत्रेको काम सम्पन्न गर्नुपर्ने छ । सडक स्तरोन्नति गर्न लागिएको क्षेत्र बराहताल गाउँपालिका र पञ्चपुरी नगरपालिकामा पर्छ । मदन भण्डारी राजमार्ग अन्तर्गत सुर्खेतको पश्चिम खण्डमा ९४ किलोमिटर सडक पर्छ । त्यसमध्ये करिब १३ किलोमिटर सडक प्रदेश सरकारले स्तरोन्नति गर्न लागेको हो । जिल्लाको पूर्वी र पश्चिम क्षेत्रमा मदन भण्डारी राजमार्ग योजनाले पनि सडक स्तरोन्नतीका काम अघि बढाएको छ । तर, प्रक्रियागत काममै लामो समय लाग्दा सडक निर्माणको प्रगति भने निकै सुस्त देखिएको छ ।

प्रकाशित मितिः   ६ श्रावण २०७९, शुक्रबार ०५:०१