आइतबारदेखि टेलिकमको फोर-जी सेवा सञ्चालनमा
नेपाल टेलिकमले आगामी आइतबारदेखि नेपालमै पहिलोपटक चौंथो जेनेरशनको मोबाइल डाटा सेवा ‘फोर-जी’ सुरु गर्दैछ । अंग्रेजी वर्ष सन् २०१७ को अवसरमा काठमाडौं र पोखराबाट फोर-जी सेवा प्रारम्भ गर्न टेकिलमले अन्तिम तयारी गरिरहेको छ ।
आइतबार सेवाका बारेमा टेलिकमले बिस्तृत जारीहरु सार्वजनिक गर्नेछ । तर, काठमाडौं र पोखराका सबै नेपाल टेलिकमका प्रयोगकर्ताले फोरजी सेवा पाउने छैनन् । किनभने टेलिकमले चर्चित स्मार्टफोन ‘आइफोन’ बोक्ने ग्राहकलाई तत्काल यो सेवा दिन सक्ने छैन ।
केही समयपछि भने आइफोनमा पनि फोर-जी चल्ने टेलिकमको प्राविधिक स्रोतले जानकारी दिएको छ । टेलिकमले समयमै आइफोनमा फोर-जी चल्ने गरी एप्पल कम्पनीसँग समन्वय नगर्दा सुरुवातमै आइएफोनबाहक फोरजी प्रयोगबाट बञ्चित हुने अवस्था आएको हो ।
फोरजीको परीक्षणका क्रममा एप्पलका सेटमा फोरजी नचल्ने देखिएको छ । आइफोनका फोर-जी कम्प्याटेबल मोडलमा पनि फोरजी नचल्नुको कारण हो, कम्पनीको ‘सेक्युरेटी फिचर्स ।’
त्यसलाई फोर-जी चल्न योग्य बनाउने गरी टेलिककले केही समयअघि नै एप्पललाई आग्रह गरेको भएर यो अवस्था आउने थिएन । एप्पलले टेलिकमको नेटवर्कका लागि ‘लोकेसन इनेबल’ गरिदिएको छैन ।
एनसेलले फोरजीको अनुमति नपाएपनि लोकेशन इनेबल गराइसकेको छ । टेलिकमले यसका लागि एप्पललाई यसअघि नै आग्रह गर्नुपर्ने थियो ।
ढिला गरेर टेलिकमले केहीदिन अघि मात्रै एप्पललाई यसका लागि आग्रह गरेको छ । तर, तत्काल यो सम्भव नभएकाले सुरुवातमा फोरजी चल्ने अवस्था देखिएको छैन ।
टेलिकमका सहप्रवक्ता शोभन अधिकारी आइतबार नै फोर-जीबारेको सबै विवरणहरु सार्वजनिक गर्ने बताए ।
प्रकाशित मितिः १४ पुष २०७३, बिहीबार १७:५६
साझा बिसौनी ।