निरीक्षणका लागि प्रधान सेनापति क्षेत्री सुर्खेतमा

प्रधानसेनापती राजेन्द्र क्षेत्रीले बुधवार वीरेन्द्रनगरमा सञ्चालित नेपाली सेनाको बाहिनी स्तरको तालिमको अवलोकन गरेका छन् । प्रशिक्षण तथा प्रदर्शनी समावेश गरिएको ‘गढी रक्षा’ अभ्यासको स्थलगत अवलोकन गरेका हुन् ।

मध्यपश्चिम पृतना हेडक्वाटर अन्तर्गत बांगेसिमलमा मंसिर ८ गतेदेखि अभ्यास सञ्चालन भइरहेको छ । उक्त अभ्यास पुस १८ गतेसम्म सञ्चालन हुनेछ । निरिक्षणका क्रममा प्रधानसेनापती क्षत्रीलाई अभ्यास सम्बन्धि पूर्वतयारी योजना लगायतका बारेमा जानकारी गराइएको थियो । त्यसैगरी क्षत्रीले विभिन्न विधागत फौज सम्मिलित एकीकृत सैनिक अभ्यास तथा फायरिङको पनि अवलोकन गरेका छन् । उनले सफलतापूर्वक अभ्यास गरेकोमा खुसी व्यक्त गर्दै सैनिकहरु मनोबल र हौसला उच्च बनाउन निर्देशन दिए ।

त्यसअघि प्रधानसेनापति क्षेत्री र सैनिक श्रीमति संघका अध्यक्ष रीता क्षेत्रीले संयुक्त रुपमा मध्यपश्चिम पृतना परिसरमा नवनिर्मित दिवा शिशु स्याहार केन्द्रको उद्घाटन समेत गरेका थिए । उक्त भवन सैनिक श्रीमिति संघको पहल र सैनिक कल्याणकारी कोषको सहयोगमा निर्माण गरिएको महासेनानी आनन्दसिंह भाटले जानकारी दिए ।

प्रकाशित मितिः   १३ पुष २०७३, बुधबार १९:३४