रुकुम पश्चिममा माओवादीलाई गठबन्धनको चुनौती

रुकुम पश्चिम : जिल्लाका चार वटा स्थानीय तहको मतगणना भइरहेको छ । चार मध्ये दुई वटामा नेकपा(माओवादी केन्द्र)ले अग्रता लिएको छ भने दुई वटामा नेपाली कांग्रेस र नेकपा(एमाले)को साझा गठबन्धनका उम्मेदवारले अग्रता बनाएका छन् ।

सुरुवाति  मतपरिणाम अनुसार मुसीकोट नगरपालिका प्रमुखमा गठबन्धनकातर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका महेन्द्र केसीले पाँच सय ६७ मत पाएका छन् । माओवादी केन्द्रका वसन्त शर्माले चार सय २३ मत प्राप्त गरेका छन् ।

जिल्लाको चौरजहारी नगरपालिकामा पनि माओवादीलाई पछि पार्दै कांग्रेस-एमाले गठबन्धनले अग्रता बनाएको छ । गठबन्धनबाट कांग्रेसका प्रेमबहादुर ओलीले एक सय चार मत पाउँदा माओवादी केन्द्रका उम्मेदवार पुष्प बादीले ८७ मत ल्याएका छन् ।

सानीभेरी गाउँपालिकामा भने माओवादी केन्द्रको अग्रता रहेको छ । माओवादीका बिर्खबहादुर विष्टले एक हजार ३२ मत ल्याउँदा कांग्रेसका  गोरखप्रसाद चन्दले चार सय ८२ मत पाएका छन् ।

त्यस्तै जिल्लाको त्रिवेणी गाउँपालिकामा माओवादी केन्द्रकै अग्रता छ । अध्यक्षमा गणेशबहादुर केसीले तीन सय २७ मत प्राप्त गर्दा कांग्रेसका अमरसिंह खड्काले एक सय ३६ मत प्राप्त गरेका छन् ।

जिल्लाका ६ मध्ये दुई पालिकाको मतगणना सुरु हुन सकेको छैन । आठविसकोट नगरपालिका र बाँफिकोट गाउँपालिकाको मतगणनामा ढिलाई भएको हो ।

अघिल्लो निर्वाचनमा जिल्लाका सबै पालिकामा माओवादी विजयी भएको थियो ।

प्रकाशित मितिः   ३१ बैशाख २०७९, शनिबार १३:४७