कर्णालीमा माओवादी अगाडि

सुर्खेत : सुरुवाती मतपरिणाम अनुसार कर्णाली प्रदेशमा नेकपा(माओवादी केन्द्र) अगाडि देखिएको छ । माओवादीले चार वटा पालिकामा अग्रता बनाएको छ ।

त्यसैगरी नेपाली कांग्रेसले तीन र एमालेले दुई वटा पालिकामा अग्रता लिएका छन् ।

विहान ११ बजेसम्मको नतिजा
माओवादी केन्द्र
१) रुकुम पश्चिमको सानीभेरी नगरपालिकाको प्रमुखमा माओवादीका बिर्खबहादुर विष्टले तीन सय ७३ मतसहित अग्रता लिएका छन् । नेपाली कांग्रेसका गोरखप्रसाद चन्दले एक सय ७९ मत पाएका छन् ।

२) सल्यानको छत्रेश्वरी गाउँपालिकाको अध्यक्षमा माओवादीका प्रेमबहादुर खड्काले एक सय २८ मतसहित अग्रता बनाएका छन् । एमालेका ओजबहादुर बुढाथोकीले ९० र नेपाली कांग्रेसका केशरबहादुर विष्टले ५७ मत पाएका छन् ।

३) सल्यानकै कुमाख गाउँपालिकामा पनि माओवादीले अग्रता लिएको छ । अध्यक्षमा माओवादीका डिल्लीराज जैसीले दुई सय ६६ मत पाएका छन् । कांग्रेसका मानबहादुर बुढाथोकीले दुई सय ५४ पाएका छन् ।

४) हुम्लाको ताजाँकोट गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका लालकेश जैसीले सुरुवाती अग्रता लिएका छन् । चार सय ५७ मत गणना हुँदा जैसीले दुई सय सय ३७ मत पाएका छन् भने एमालेका अजमल बुढाले एक सय ६१ मत प्राप्त गरेका छन् ।

नेपाली कांग्रेस
१) सुर्खेतको पञ्चपुरी नगरपालिकामा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ । एक हजार चार सय मतगणना हुँदा कांग्रेसका उम्मेदवार लालवीर नेपालीले पाँच सय ५८ मत पाउँदा एमालेका धनबहादुर थापाले पाँच सय १५ मत पाएका छन् ।

२) दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । ६ सय ५८ मत गणना हुँदा प्रमुखमा कांग्रेसका गणेशबहादुर शाहीले दुई सय ७० मत प्राप्त गरेका छन् । दोस्रोमा नेपाल मजदुर किसान पार्टीका बखतबहादुर थापा छन् । उनले दुई सय ३० मत पाएका छन् । नेकपा एमालेका सूर्यबहादुर शाहीले एक सय ८० मत पाएका छन् । उप्रमुखमा कांग्रेसका मनसराकुमारी शर्माले दुई सय १६ र एमालेका नन्दाकुमारी विष्टले दुई सय ६ मत ल्याएका छन् ।

३) हुम्लाको खार्पुनाथमा नेपाली कांग्रेसले अग्रता लिएको छ । वडा नम्बर १ को ७७ मत गणना गर्दा कांग्रेसका अध्यक्ष उम्मेदवार कर्णबहादुर रावलले ६३ मत ल्याएका छन् । एमालेबाट अध्यक्ष उम्मेदवार प्रकाश शाहीले १४ मत पाएका छन् ।

नेकपा एमाले
१) दैलेखको महाबु गाउँपालिकामा नेकपा (एमाले)ले अग्रता लिएको छ । प्रारम्भिक मतपरिणाम अनुसार गाउँपालिका अध्यक्षमा एमालेका हरिप्रसाद उपाध्यायले ६ सय ६८ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेस लछुमन गुरुङले चार सय १० मत प्राप्त गरेका छन् । यस्तै, उपाध्यक्षमा एमालेकी दुर्गाकुमारी सिंह ६ सय ६२ मत प्राप्त गरेकी छन् भने कांग्रेस मञ्जुकुमारी शर्माले चार सय ४९ मत प्राप्त गरेकी छन् ।

२) दैलेखको दुल्लु नगरपालिकामा एमालेले अग्रता लिएको छ । पालिका प्रमुखमा एमालेका रुद्रबहादुर शाहीले दुई सय ५८ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका भरत रिजालले एक सय ७५ मत पाएका छन् ।

प्रकाशित मितिः   ३१ बैशाख २०७९, शनिबार ११:१८