स्थानीय सरकारका जनप्रतिनिधि चुनिँदै

सुर्खेत: स्थानीय तहको दोस्रो कार्यकालका लागि नेतृत्व चयन गर्न आज (शुक्रवार) मतदान हुँदैछ । कर्णाली प्रदेशका ७९ स्थानीय तहका विभिन्न पदका लागि १३ हजार ६५ जना उम्मेदवार चुनावी मैदानमा छन् । तीमध्ये आगामी पाँच वर्षे कार्यकालका लागि तीन हजार सात सय ४८ जना जनप्रतिनिधि छानिने छन् । प्रदेशभर रहेका १० लाख एक हजार दुई सय ८२ मतदाताले स्थानीय सरकारका प्रतिनिधि चुन्न लागेका हुन् ।

स्थानीय तहको निर्वाचनका लागि कर्णाली प्रदेशभर नौ सय सात मतदान स्थल र एक हजार तीन सय ८५ मतदान केन्द्र छन् । नौ वटा स्थानीय तह रहेको सुर्खेतमा एक सय ३८ मतदान स्थल र दुई सय ९१ वटा मतदान केन्द्र रहेका छन् । सबै केन्द्रहरूमा मतदान सामग्री, जनशक्ति र सुरक्षा व्यवस्थालगायतका तयारी बिहीवार नै गरिसकिएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जनाए । सुर्खेतमा प्रदेशमै सबैभन्दा बढी दुई लाख ३८ हजार चार सय ५७ जना मतदाता छन् । यहाँ दुई हजार ८४ जना उम्मेदवार बनेका छन् । तीमध्ये नौ पालिका र ९९ वडामा गरी पाँच सय १३ जना जनप्रतिनिधि निर्वाचनमार्फत चयन हुनेछन् ।

वीरेन्द्रनगरमा मात्रै ६७ हजार ५६ मतदाता रहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । वीरेन्द्रनगरमा चार सय ४७ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । १६ वटा वडा रहेको यो पालिकामा ७५ वटा मतदान केन्द्र तोकिएका छन् । जिल्लामा सबैभन्दा कम मतदाता चिङ्गाड गाउँपालिकामा छन् । त्यहाँ १० हजार सात सय २९ मतदाता रहेको जनाइएको छ ।

मतदान पूर्वका सम्पूर्ण तयारी पूरा गरेकाले मतदान कार्य भयरहित, निष्पक्ष र व्यवस्थित रूपमा सञ्चालन हुने प्रजिअ रिजालले बताए । उनका अनुसार सुर्खेतमा २० वटा मतदान स्थललाई सुरक्षा र भौगोलिक अवस्थाका कारण अति संवेदनशीलमा राखिएको छ । त्यस्ता केन्द्रका लागि केन्द्रीय सुरक्षा योजना अनुरूप नै आवश्यक व्यवस्था मिलाइएको प्रशासनले जनाएको छ । जिल्लामा करिब दुई हजार नौ सय सुरक्षाकर्मी परिचालन गरिएका छन् । निर्वाचन सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी खटाइएका हुन् । नेपाल प्रहरी र म्यादी प्रहरी मतदान केन्द्रको भित्रि सुरक्षामा खटिनेछन् भने बाहिरी घेरामा सशस्त्र प्रहरी र सेनाले सुरक्षा दिनेछन् ।

निर्वाचन व्यवस्थापनका लागि सुर्खेतमा एक हजार चार सय ४५ जना कर्मचारी परिचालन गरिएको छ । मतदानपछि मतपेटिका पालिकाहरूको केन्द्रमा रहेका मतदान अधिकृतको कार्यालयमा संकलन गरिनेछन् । मत गणना र परिणाम घोषणा सम्बन्धित पालिकाहरूमै हुनेछ । मतदान बिहान सात बजेबाट सुरु गरिनेछ । बेलुकी पाँच बजेभित्र लाइनमा बसेका मतदाताले भोट हाल्न पाउने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

झन्डै २० वर्षपछि २०७४ मा स्थानीय निर्वाचन भएको थियो । त्यतिबेला संघीयतापछि पहिलो पटक भएको स्थानीय तहको निर्वाचनबाट चुनिएका जनप्रतिनिधिको कार्यकाल सकिएपछि नयाँ नेतृत्व चुन्न मतदान हुन लागेको छ । गएको स्थानीय तह निर्वाचन दुई चरणमा गरिए पनि यसपटक भने देशभरका सात सय ५३ वटै पालिकामा एकै दिन चुनाव गर्न लागिएको हो ।

नेपालको संविधानले तीन तह ‐संघीय, प्रदेश र स्थानीय) सरकारको परिकल्पना गरेको छ । जसमध्ये स्थानीय तह पनि स्वायत्त सरकार हुन् । पालिकामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिको अभ्यास हुँदै आएको छ । स्थानीय सरकारलाई बजेट बनाउने, कानुन निर्माण गर्ने र कार्यान्वयन गर्ने अधिकार छ । नजिकका सरकारका रूपमा हेरिएका स्थानीय तहले भने गएको पाँच वर्षमा अपेक्षाकृत काम गर्न नसकेको जनगुनासो सुनिने गरेको छ ।

प्रकाशित मितिः   ३० बैशाख २०७९, शुक्रबार ०५:०५