लागूपदार्थ प्रयोग गरी साथीको हत्या

सँगै लागूपदार्थ खाँदै आएका साथीको हत्या गरेको आरोपमा प्रहरीले धरानबाट चार जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरुमा धरान–७ शान्तिपथका आरोहण भनिने सौरभ राई, दीप तामाङ, धरान–८ भोटेपुलका आयुप चौधरी र धरान–९ बगौचालाइनका रोमन गुरुङ छन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार उनीहरुले मिलेर लागूपदार्थ प्रयोग गरिरहेका बेला धरान–५ बस्ने विकु भनिने विकास राजवंशीको शनिबार बिहान धारिलो हतियार प्रयोग गरी घाँटी रेटेर हत्या गरेको खुलासा भएको छ । लागूपदार्थ प्रयोग गरेको बेला सामान्य विवाद हुँदा आफ्नै साथीको हत्या गरेको प्रहरीले जनाएको छ ।

हत्या गरेपछि अनुहार नचिनियोस् भनेर ढुङ्गाले अनुहार किचेर धरान–१५ स्थित चुम्लुङ हिम छेउमा फालेको अवस्थामा राजवंशीको सव भेटिएको थियो । उनीहरूले शुक्रबार र शनिबार रातभर लागूऔषध प्रयोग गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरी नायव उपरीक्षक ढकेन्द्र खतिवडाले बताए ।

राजवंशीको हत्या शनिबार बिहान ४ बजेको आसपास भएको प्रहरीले बताएको छ । मृतक राजवंशीका साथबाट नाइट्रोजेपाम नामक लागूऔषध फेला परेको प्रहरीले जनाएको छ । घटनास्थल वरिपर डेन्ड्राइट फेला परेको प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः   १० पुष २०७३, आईतवार १५:३३