नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा भण्डारी

सुर्खेत: नेपाल राष्ट्रिय शिक्षक संगठन सुर्खेतको अध्यक्षमा डिलाराम भण्डारी चयन भएका छन् । संगठनको १३औं जिल्ला अधिवेशनबाट भण्डारीको नेतृत्वमा सर्वसम्मत कार्यसमिति चुनिएको हो । खुला उपाध्यक्षमा तेजेन्द्रकुमार गाहा, महिला उपाध्यक्षमा हरिमाया शर्मा र सचिवमा दलबहादुर शाही चयन भएका छन् । त्यस्तै, संगठनको कोषाध्यक्षमा निलकण्ठ गौतम, सहकोषाध्यक्षमा देबुमाया चपाईं र सहसचिवमा पार्वती पोख्रेल रहेका छन् । जिल्ला अधिवेशनले पाँच जना शिक्षक नेतालाई केन्द्रीय प्रतिनिधि छानेको छ । केन्द्रीय प्रतिनिधि चयन हुनेमा रत्नबहादुर बुढा, कृष्णबहादुर थापा, मानबहादुर अधिकारी, ओमकुमार दर्लामी र रिता पौडेल रहेका छन् ।

यसैबीच, संगठनको नवनिर्वाचित समितिले शनिवार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन आयोजना गरी आगामी कार्ययोजना र शिक्षकहरूका सवालबारे जानकारी गराएको छ । सोही कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समितिका सदस्य शिवप्रसाद सापकोटाले शिक्षाको गुणस्तर वृद्धि गर्न राज्यले शैक्षिक पूर्वाधारसँगै शिक्षकहरूको पेसागत सुरक्षा र वृत्ति विकासलमा पनि ध्यान दिन आवश्यक रहेको औंल्याए । संगठनले शिक्षकको हकहितका लागि मात्र नभइ शैक्षिक अवस्थामा सुधार ल्याउन विभिन्न गतिविधि सञ्चालन गर्दै आएको उनको भनाइ थियो ।

नेपाल राष्ट्रिय शिक्षक संगठन सुर्खेतका निवर्तमान अध्यक्ष रत्नबहादुर बुढाले शिक्षकका पेसागत संघ–संगठन एवम् महासंघले सरकारसँग गरेका सहमतिको कार्यान्वयन हुनुपर्ने बताए । उनले शिक्षा ऐन तत्कालै जारी गर्नुपर्ने, पाठ्यपुस्तक गुणस्तरीय बनाइनुपर्ने र सामुदायिक विद्यालयहरूलाई भौतिक पूर्वाधार सम्पन्न बनाउनुपर्नेमा जोड दिए । पत्रकार सम्मेलनमा धारणा राख्दै संगठनका अन्य नेताहरूले शिक्षक सेवा आयोगको स्थायी पदपूर्तिका लागि शिक्षकहरूलाई लगाइएको उमेर हदबन्दी हटाइनुपर्ने बताएका थिए । उनीहरूका अनुसार लामो समयदेखि निरन्तर रूपमा कार्यरत अस्थायी राहत, करार, तत्कालीन प्लस टु अनुदान र बालकक्षा शिक्षकको लागि उमेरको हदबन्दी लगाइदा स्थायी प्रक्रियामा सामेल हुनबाट वञ्चित हुने अवस्था छ ।

प्रकाशित मितिः   ५ चैत्र २०७८, शनिबार १६:००