विष्टद्धारा राजीनामा सनाखत

सुर्खेत: पदबाट राजीनामा घोषणा गरेका नेकपा (माओवादी केन्द्र)का सांसद ठम्मरबहादुर विष्टले शुक्रवार प्रदेशसभा सचिवालयमा पुगेर राजीनामामा सनाखत गरेका छन् । उनले गत फागुन २७ गते इमेल मार्फत राजीनामा पत्र दर्ता गराएका थिए । विष्टले शुक्रवार सभामुख राजबहादुर शाही समक्ष सनाखत गरेका हुन् ।

उनले काठमाडौंमा नै पत्रकार सम्मेलनमा संसदीय दलको प्रमुख सचेतक र प्रदेशसभा सदस्य पदबाट राजीनामाको घोषणा गरेका थिए । पदबाट राजीनामासँगै उनले पार्टी परित्यागको घोषणासमेत गरेका छन् । सरकार गठनका लागि गलत अभ्यास अवलम्बन गरिएको भन्दै उनले आपत्ति जनाउँदै आएका थिए । यस्तै अमेरिकी सहयोग अनुदान एमसीसी पारित गर्ने कुरामा असहमति रहेको बताए । तर पार्टी रूपान्तरण हुने नदेखिएपछि नैतिकताका आधारमा आफू अलग भएको विष्टले जनाए । अर्को दल रोज्ने विषयमा भने अहिले छलफल भइरहेको उनले जनाएका छन् । केही दिनभित्रै राजनीतिक दलसँगको आवद्धता सार्वजनिक हुने समेत बताए ।

संविधानको धारा १८० को (क) मा प्रदेशसभा सदस्यको स्थान रिक्त हुने उल्लेख छ । उक्त उपधारामा निजले प्रदेशसभाको सभामुखसमक्ष लिखित राजीनामा दिएमा राजीनामा स्वीकृत भएको मानिने व्यवस्था छ ।

विष्टले राजीनामा घोषणा गरेपछि बिहीवार नेकपा माओवादी केन्द्र संसदीय दलले भने विष्टलाई राजीनामा फिर्ता लिई नियमित कामकाजमा फर्कन निर्देशन दिएको थियो । विष्टले भने सुझबुझपूर्ण रूपमा पद र पार्टी परित्याग गरेकाले निर्णय पुनर्विचार नहुने भन्दै शुक्रवार सनाखत गर्न प्रदेशसभामा पुगेका हुन् ।

प्रकाशित मितिः   ५ चैत्र २०७८, शनिबार ०५:०१