वैकल्पिक मैदान नहुँदा लिग प्रभावित

सुर्खेत: जिल्लास्तरीय एन्फा लिगको दोस्रो चरणको प्रतियोगिता पुस २३ गतेबाट सञ्चालन हुने भएको छ । पुस १ गतेदेखि सुरू गर्ने भनिएको लिग खेल मैदानको अभावका कारण सारिएको हो । यसअघि सुर्खेत रंगशालामा प्रतियोगिता गर्ने तय भए पनि रंगशाला निर्माण कार्य भइरहेकाले निर्धारित समयभन्दा पछि लिग सञ्चालन गर्नु परेको आयोजक सुर्खेत जिल्ला फुटबल संघले जनाएको छ । संघका अध्यक्ष जनकबहादुर रावलले रंगशालाको मर्मत कार्य सुरू भएकाले खेल प्रभावित भएको बताए । उनका अनुसार वैकल्पिक मैदान नहुँदा लिग सञ्चालनमा समस्या भएको हो । ‘अब वीरेन्द्रनगरको मंगलगढीस्थित शैनिक आवासीय महाविद्यालयको मैदानमा लिग सञ्चालन गरिने छ,’ उनले भने, ‘उक्त मैदानमा पुस २३ गतेबाट प्रतियोगिता गर्ने तयारी भइसकेको छ ।’

जिल्ला फुटबल संघले लिग सञ्चालनका लागि अहिले खेल मैदानलाई सुधार गरिरहेको छ । शैनिक आवासीय महाविद्यालयको मैदानमा आवश्यक मर्मत कार्य भइरहेको हो । पुस २२ गतेसम्म खेलका लागि आवश्यक सम्पूर्ण तयारी पूरा हुने जनाइएको छ । फुटबल संघका अनुसार एन्फा लिगको दोस्रो चरणमा १२ टिमले प्रतिस्पर्धा गर्दैछन् । अघिल्लो सिजन शीर्षस्थानमा रहेका ६ र यस वर्ष नकआउट चरणबाट छनोट भएका ६ क्लबबीच लिग उपाधिका लागि प्रतिस्पर्धा हुने भएको हो । लिगको दोस्रो चरणमा १२ टिम मध्य विजेता टिमले सुर्खेत जिल्लाबाट यस वर्षको प्रदेश लिग खेल्न पाउनेछ ।

दोस्रो चरणमा प्रतिस्पर्धा गर्ने १२ मध्ये अंकतालिकाको पुछारमा रहने दुई टिम रेलिगेसनमा पर्नेछन् । ती दुई टिमले अर्को सिजन पुनः नकआउट चरण खेल्नुपर्ने छ । यसअघि २०७४ मा जिल्ला लिग भएको थियो । जसको उपाधि एबीसी स्पोर्टस्ले जितेको थियो । त्यसपछि कोरोना महामारीका कारण लिग सञ्चालन हुन सकेको थिएन । यसपटक पनि तोकिएकै समयमा जिल्ला लिग सुरू नहुँदा खेलाडीहरूलाई असर परेको काँक्रेविहार क्लबका अध्यक्ष चन्द्रप्रकाश शाहीले बताएका छन् । उनका अनुसार पुस १ देखि खेल हुने सूचना पाएका खेलाडीहरू विभिन्न स्थानीय तहबाट वीरेन्द्रनगर आएपनि खेल रोकिएपछि मर्कामा परेका हुन् ।

प्रकाशित मितिः   २१ पुष २०७८, बुधबार ०५:२२