अधिवेशन अन्योलमा
निर्वाचन क्षेत्र नं. १ को मेहलकुनामा दलित प्रतिनिधि चयनमा त्रुटि भएपछि जिल्ला अधिवेशन प्रभावित बनेको हो।
सुर्खेत: नेपाली कांग्रेस सुर्खेतको जिल्ला अधिवेशन अन्योल भएको छ । निर्धारित कार्यतालिका अनुसार शुक्रवार अधिवेशन सुरू हुनुपर्ने थियो । तर, निर्वाचन क्षेत्र नं. १ को मेहलकुनामा दलित प्रतिनिधि चयनमा त्रुटि भएपछि अधिवेशन प्रभावित बनेको हो । दुई जना चयन हुनु पर्नेमा एक जना मात्र विजयी भएको निर्वाचन समितिले घोषणा गरेको थियो । दलित प्रतिनिधिका लागि तीन जनाको उम्मेदवारी परेको थियो ।
यसै विषयमा दुई समूहबीच असमझदारी बढेको छ । निर्वाचन समितिका सहायक निर्वाचन अधिकृत दुर्गा सापकोटाले सम्भवतः आज (शनिवार) उक्त पदका लागि पुनः निर्वाचन हुने बताए ।
संस्थापन पक्षले यही संख्यामा सहमति जुटाउने प्रयास गरिरहेको छ भने संस्थापनइतरले पुनः निर्वाचन गर्नुपर्ने माग राखेको छ । त्यहाँ निर्वाचन नभइ जिल्ला अधिवेशन सम्भव नहुने संस्थापनइतरका नेताहरूले बताएका छन् । उक्त कोटमा विजयी भएका दुवै जना संस्थापन पक्षका हुन् । तल्लो तहका समिति तथा प्रतिनिधिमा संस्थापन समूहको वर्चस्व छ । पार्टीको जिल्ला नेतृत्व पनि यही समूहले लिने निश्चित प्रायः देखिएको छ ।
जिल्ला अधिवेशनका लागि झन्डै एक हजार आठ सय मतदाता छन् । सुर्खेतमा कांग्रेसले क्रियाशील सदस्यता विवादका कारण ढिलागरी वडा तथा गाउँ नगरका अधिवेशन सम्पन्न गरेको थियो । जिल्ला अधिवेशनमा समेत झमेला भएपछि अधिवेशन अझै केही दिन लम्बिन सक्ने देखिएको हो ।
यसैबीच, जिल्ला नेतृत्वका लागि आकांक्षीहरू खुलेका छन् । सभापतिका लागि मात्र झन्डै १० भन्दा बढी नेताहरू आकांक्षी देखिएका हुन् । धेरैले आकांक्षा देखाउँदा नेतृत्वलाई उनीहरूको व्यवस्थापनमा चुनौति भएको छ । जिल्ला सभापतिका लागि यज्ञबहादुर बुढाक्षेत्री, श्यामकुमार भारती, खड्कबहादुर पोखरेल, देवकुमार सुवेदी, टोपबहादुर रावत, नारायणप्रसाद सापकोटा, उपेन्द्र थापा, विष्णुबहादुर खड्का र कालीप्रसाद शाक्य आकांक्षी देखिएका छन् । सचिवलगायतका अन्य पदाधिकारीमा उम्मेदवार बन्न चाहनेहरू पनि प्रचार–प्रसार र आ–आफ्नो लविङमा लागेका छन् ।
प्रकाशित मितिः ११ मंसिर २०७८, शनिबार ०५:०३
साझा बिसौनी ।