मुख्यमन्त्रीमा दाबी पेश गर्न प्रदेश प्रमुखको आह्वान

सुर्खेत – कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गरेका छन् । सोमवार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख कलौनीले दलहरुलाई दाबी पेश गर्न आह्वान गरेका हुन् ।

दाबी प्रस्तुत गर्न मंगलवार राति साढे सात बजेसम्मको समयावधि तोकिएको छ । संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेकाले दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यले मुख्यमन्त्रीका लागि दाबी पेश गर्न सक्नेछन् ।

नेपाली कांग्रेस र एकीकृत समाजवादीसहितको गठबन्धनबीच भएको सहमतिअनुसार मुख्यमन्त्री शाहीले सोमवार राजीनामा दिएका थिए । सोही गठबन्धनको समर्थनमा कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही मुख्यमन्त्री बन्दैछन् । उनले मंगलवार दाबी पेश गर्ने बताइएको छ ।

 

प्रकाशित मितिः   १५ कार्तिक २०७८, सोमबार २१:४२