गुरुङको सम्झनामा अक्षयकोष
सुर्खेत जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष एवम् फुटबल खेलाडी यज्ञ गुरुङको सम्झनामा अक्षयकोष स्थापना गरिने भएको छ । जिल्ला फुटबल संघले बिहीवार वीरेन्द्रनगरमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा अक्षकोष स्थापन गर्ने घोषणा गरिएको हो ।
अक्षकोषका लागि वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले व्यक्तिगत रूपमा एक लाख सहयोग गर्ने घोषणा गरेका छन् । यस्तै जिल्ला फुटबल संघले ५१ हजार र संघका अध्यक्ष रावलले थप २५ हजार पाँच सय रूपैयाँ सहयोग गर्ने घोषणा गरे । कोषमा प्राप्त हुने ब्याजबाट हरेक वर्ष उत्कृष्ठ फुटबल खेलाडीलाई छात्रवृत्ति एवम् सम्मान गरिने जनाइएको छ ।
नगरप्रमुख सुवेदीले खेलकुद क्षेत्रको विकासका लागि नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले वीरेन्द्रनगरको खेलकुद क्षेत्रमा फ्रि–वाईफाईको व्यस्थापन र प्रदेश रंगशाला निर्माण नहुँदासम्मका लागि कालुन्चौक मैदानलाई वैकल्पिक खेलकुद मैदान बनाउने बताए । कर्णाली खेलकुद परिषद्का उपाध्यक्ष प्रमोद हमालले प्रदेशको खेलकुद विकासका लागि परिषद्ले भौतिक संरचना निर्माणलाई तीव्रता दिएको जनाए । उनले वीरेन्द्रनगरमा अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको प्रदेश रंगशाला निर्माण प्रक्रिया सुरु हुनु ठूलो उपलब्ध भएको जिकिर गरे । आउँदो मंसिरदेखि निर्माण थालिने रंगशाला ३० महिनाभित्र सम्पन्न हुने जानकारी हमालले दिए ।
त्यस्तै संघका अध्यक्ष रावलले कोरोना महामारीको संक्रमण घट्दै गएका कारण दसँै लगत्तै खेलकुद् गतिविधि सञ्चालन हुने बताए । कार्तिक २४ गतेदेखि जिल्ला लिग र मंसिर दोस्रोसातादेखि मेयर तथा उपमेयर कप फुटबल प्रतियोगिता हुने जानकारी समेत दिए । मंसिरमा सुरु हुने पुरुषतर्फको मेयरकप र महिला तर्फको उपमेयरकपको तयारीका लागि वीरेन्द्रनगरमा क्रियाशिल फुटबल क्लवलाई खेलकुद सामग्री हस्तान्तरण गरिएको छ ।
कार्यक्रममा खेलकुद पत्रकार मञ्चका अध्यक्ष भानुभक्त अधिकारी, एथलेटिक्स संघ सुर्खेतका अध्यक्ष हर्षविक्रम खड्का, फुलबल संघ सुर्खेतका महासचिव गणेशकुमार कार्कीलगायतले खेलकुद विकासमा सबै क्षेत्रको सहकार्य अपरिहार्य रहेको धारणा राखेका थिए । सोही कार्यक्रममा नेपाली राष्ट्रिय महिला फुटबल टिममा छनौट भइ अन्तर्राष्टिय प्रतियोगितामा सहभागी सुर्खेती खेलाडी सिर्जनासिंह ठकुरीलाई सम्मान गरिएको थियो ।
प्रकाशित मितिः २२ आश्विन २०७८, शुक्रबार ०५:००
साझा बिसौनी ।