हिमाली जिल्लामा दसैँअघि अधिवेशन

कर्णालीका पाँच जिल्लामा नेपाली कांग्रेसको जिल्ला अधिवेशन दसैँअघि नै हुनेभएको छ । हिउँ पर्ने र चिसो बढ्ने सम्भावना रहेकोले हिमाली जिल्लामा चाँडै अधिवेशन गर्न लागिएको हो ।

कांग्रेसको पदाधिकारी बैठकले कर्णालीका पाँचसहित २१ वटा हिमाली जिल्लामा असोज १८ गते जिल्ला अधिवेशन गर्ने भएको छ । जसमा कर्णाली प्रदेशका डोल्पा, जुम्ला, मुगु, हुम्ला र कालीकोट रहेका छन् । केन्द्रीय निर्वाचन समितिले सोमवार जिल्ला अधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।

हिमाली जिल्लामा दसैँपछि र पहाडी तथा तराईका जिल्लामा दसैँलगत्तै अधिवेशन गर्ने तयारी गरेको हो । अधिवेशन गर्न केन्द्रीय निर्वाचन समितिले तयारी थालिसकेको छ । जिल्ला अधिवेशन हुनुअगाडि वडा, पालिका, प्रदेशसभा र प्रतिनिधिसभा क्षेत्रको अधिवेशन गरिसक्नुपर्ने हुन्छ । तर कर्णालीका सुर्खेत र डोल्पामा भने वडा अधिवेशन नै हुन सकेको छैन । ढिलोगरी क्रियाशील सदस्यता टुंग्याइएकाले अधिवेशनमा ढिलाइ भएको हो । त्यसबाहेक अधिकांश जिल्लामा वडा अधिवेशन सकेर पालिका अधिवेशन पनि भइरहेका छन् भने प्रदेशसभा क्षेत्रीय र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन हुने तयारी छ ।

प्रकाशित मितिः   १२ आश्विन २०७८, मंगलवार ०५:००