२७ जनामा संक्रमण

कर्णाली प्रदेशमा थप २७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार मंगलवार एक सय ७२ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित फेला परेका हुन् । सुर्खेतका १७, कालीकोटका ६, सल्यानका दुई, जाजरकोट र डोल्पाका एक÷एक जनामा कोरोना संक्रमण देखिएको हो ।

योसँगै पछिल्लो तथ्याङ्क अनुसार प्रदेशमा कोरोनाका सक्रिय संक्रमितको संख्या चार सय १६ पुगेको छ । हालसम्म कर्णालीमा ३३ हजार ८१ जना संक्रमित भएका छन् । त्यसमध्ये ३१ हजार ७५ जना संक्रमणमुक्त भइसकेका छन् । संक्रमितमध्ये तीन सय ७४ जनाको मृत्यु भएको छ ।

यस्तै, मंगलवार देशभर एक हजार पाँच सय ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १४ हजार चार सय ४३ जनाको नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमण हुनेको संख्या आठ लाख ६६ हजार नौ सय पाँच पुगेको छ । मंगलवार थप एक हजार पाँच सय ८९ जना निको भएसँगै संक्रमणमुक्त हुनेको संख्या सात लाख ४२ हजार तीन सय ६ पुगेको छ । देशभर कोरोनाका कारण अहिलेसम्म १० हजार नौ सय ८४ जनाको ज्यान गएको छ । पछिल्लो विवरणअनुसार २६ हजार दुई सय दुई जना कोरोनाका सक्रिय संक्रमित छन् ।

प्रकाशित मितिः   ३० भाद्र २०७८, बुधबार ०५:०२